ad ad

निर्वाचन विशेष


माओवादी छाडेका बगडियाको जादु : रंगेलीमा ४७ मध्ये ४६ जनप्रतिनिधि एमालेका जिताए

माओवादी छाडेका बगडियाको जादु : रंगेलीमा ४७ मध्ये ४६ जनप्रतिनिधि एमालेका जिताए

रंगेलीमा जितेका जनप्रतिनिधि (इन्सेटमा मेयरमा विजयी दिलीप बगडिया) तस्बिर: नेपालखबर


सुमन पुरी
जेठ ११, २०७९ बुधबार १६:१, विराटनगर

स्थानीय तहको निर्वाचनअघि मोरङको रंगेली नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको थियो। 

अनुमान र आकलनको ३ कारण थियो। पहिलो कारण अघिल्लो पटक माओवादीले मेयर उप मेयर नै जितेकाले माओवादी बलियो छ। 

दोस्रो कारण अघिल्लोमा कांग्रेस दोस्रो शक्ति रहेको र यस पटक जसपासँग तालमेल भएकाले कांग्रेस बलियो छ। 

तेस्रो कारण अघिल्लो निर्वाचनमा तेस्रो शक्ति एमाले भएको र एमालेमा माओवादीबाट जितेका मेयर उप मेयर नै आएका छन्। 

यिनै कारण सहितको आंकलन र अनुमानका कारण धेरैले रंगेलीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने बताएका थिए।  

तर निर्वाचनको परिणाम भने आँकलन गरे भन्दा फरक आयो। 

कमजोर मानिएको एमालेले रंगेलीको मेयर उप मेयर मात्रै जितेन, ९ वटा वडाकै अध्यक्ष जित्यो। वडा नम्बर ६ मा जसपाका एक जना सदस्यले मात्रै निर्वाचन जिते। अर्थात रंगेलीमा एमालेले ४७ जन प्रतिनीधि मध्ये ४६ जना जनप्रतिनिधि जित्यो। 

अघिल्लो पटको स्थानीय तहको निर्वाचनमा एमालेका मेयर पदका प्रत्यासीले तेस्रो मत पाएको थियो। वडामा पनि एमालेले जम्मा  वडा नम्वर ८ को वडाअध्यक्ष मात्रै जितेको थियो। 

यस्तो अवस्थामा ५ बर्षमा एमालेले रंगेलीमा के जादु गर्यो ? धेरैको उत्तर छ एमालेले होइन, मेयर निर्वाचित दिलीप कुमार अग्रवाल (बगडिया)ले जादु गरे। 

यो कुरा मान्न एमाले जिल्ला सचिब रुपेश खतिवडा पनि तयार छन्। उनले बगडियाकै कारण रंगेलीमा एमाले बलियो भएको बताए। 

हाम्रो संगठन राम्रै थियो तर यो किसिमको नतिजा आउने अवस्था थिएन तर अघिल्लो पटक पनि मेयर भएका बगडिया एमाले प्रवेश सँगै एमालेले रंगेलीमा जादु नै गर्यो। 

हामीले ४७ मध्ये ४६ जनप्रतिनिधि जितेर देखायौ। प्रदेश १ मै कुनै पनि पार्टीले यस्तो नतिजा ल्याउन सकेनन्। एमाले मात्रै यस्तो पार्टी बन्यो र रंगेली नगरपालिका। 

बगडिया अघिल्लो पटक माओवादीका तर्फबाट मेयर भएका थिए। उनी निर्वाचनको केहि महिना अघि मात्रै अघिल्लो पटक माओवादी भएका थिए। व्यापरिक पृष्ठभूमिबाट राजनीतिमा आएका बगडियाले माओवादीका लागि अघिल्लो पटक रंगेलीमा जसरी जित दिलाए यस पटक एमालेका लागि जादु। 

उनी यस पटक पनि  निर्वाचनको केहि समय अघि मात्रै एमाले प्रवेश गरेका थिए। माओवादी परित्याग गरेर बगडिया आफू मात्रै एमालेमा आएनन्। माओवादी केन्द्रका अधिकांश पदाधिकारी सहित आए। 

नगरमा जितेका तीनै जना वडाअध्यक्ष र उप मेयर सहित आएका बगडियाले  एमाले प्रवेश गर्दा  आफूसँगै ५ हजार मतदाता  एमाले प्रवेश गरेको दावी गरेका थिए । 

त्यस कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।  उनको दावी निर्वाचनमा मिलेको छ। उनले १२ हजार १६८ मत ल्याएर दोस्रो कार्यकालका लागि मेयर बनेका छन्। 

उनका प्रतिस्पर्धी कांग्रेस जसपा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत पाए। 

उप मेयरमा एमालेकी भूमा कुमारी पराजुलीले ११ हजार ७९० मत ल्याएकी छन्। जसपाका पन्नालाल मण्डलले ५१७५ मत ल्याए। 

अघिल्लो स्थानीय तहमा मेयर र उप-मेयर नै जितेको माओवादीका मेयरका प्रत्यासी लिलादेवी संग्रौलाले ८१२ मत मात्रै पाइन्। उप-मेयरमा माओवादीका मोहम्मद रफिद मियाँले १३३० मत पाए। 

कांग्रेसको गढमा वामको जित 
झापा, मोरङ र सुनसरी तीनै जिल्लालाई पहिला मोरङ भनिन्थ्यो। यी तीन जिल्ला (मोरङ)को सदरमुकाम थियो रंगेली। 

भारतीय सिमानासँगै जोडिएको रंगेलीबाट सिमा वारपार व्यपार हुन्थ्यो। पूर्वका बिभिन्न गाँउ शहरबाट ठूलाठूला व्यापारी सामान किन्न रंगेली आउँथे । 

व्यापारले धपक्क बलेको रंगेली २००८ सालमा त नगर पञ्चायत नै भइसकेको थियो।  विराटनगरबाट २२ किलोमिटर पश्चिममा पर्ने रंगेलीमा १७ साल तिर उद्योग धन्दाहरू खुलिसकेका थिए। 

रंगेली तत्कालिन क्षेत्र नम्बर १ मा पथ्र्यो। सो क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले पटक पटक निर्वाचन जिते। 

गिरिजा पछि सो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता आमोद प्रसाद उपाध्यायले सो क्षेत्रबाट निर्वाचनमा जिते। 

संविधान सभाको निर्वाचन पछि भने माओवादी नेता शिवकुमार मण्डलको उदय भएको छ। निर्वाचन क्षेत्र नम्बर ५ रहेको सो क्षेत्रमा शिव कुमार मण्डलले लगातार रुपमा त्यस क्षेत्रबाट निर्वाचन जित्दै आएका छन्। 

मण्डल प्रतिनिधिसभाको निर्वाचनमा  कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरूलाई पछि पार्दै विजयी भएका हुन्।

मण्डल २२ हजार ९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याएका छन्।

संघीय समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६४९ मत ल्याएका छन्।
रंगेलीको भूगोलमा पहाडे र मधेसी समुदायको बसोवास रहेको छ। साविक  बबियाबिर्ता, रञ्जनी, दरवेशा क्षेत्रमा पहाडे समुदायको राम्रो मत छ। 

साविक बबिया बिर्ताको दौलतपुर,चोप्राह, आमगाक्षी,साविक रंगेली नपामा धेरै जसो मतदाता  मधेसी समुदायको छ। 

को हुन् बगडिया? 
बगडियासँग लामो राजनीतिक  इतिहास छैन। उनी अघिल्लो स्थानीय तहको निर्वाचन अघिसम्म व्यपारीका रुपमा चिनिन्थे। 

उनका आनन्द इँटा, आनन्द कत्था जस्ता उद्योग छन्। यो बाहेक बगडियाको घरनाले जयश्री पीयू टेक नामक उद्योग सञ्चालन गर्छ।

पीयू टेकले म्याजिक ब्रान्डको जुत्ता चप्पल उत्पादन गर्छ। यसैगरि बगडियाको पारिवारिक घरनाले डब्लुपीसीका झ्याल र ढोका समेत उत्पादन गर्ने गरेको छ। 

पछिल्लो समय उनी घर जग्गाको कारोबार समेत गर्दै आएका छन्। कुनै बेलाका जग्गा कारोबारी बगडिया २०७४ को स्थानीय तहको निर्वाचनको केही समयअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए। 

एमाले-माओवादी मिलेर नेकपा भएपछि उनी एमालेसँग नजिक भए। नेकपा भित्र विवाद चुलिएपछि उनी एमाले अध्यक्ष ओलीसँग बगडिया नजिक भए। अदालतले नेकपा फटाइ दिएपछि उनी एमालेमै बसेका थिए। 

तर उनले औपचारिक निर्णय भने गरेका थिएनन्। एमाले र माओवादी अलग अलग भएपछि माओवादी रंगेली नगर कमिटीका इन्चार्ज समेत रहेका बगडियालाई माओवादीले कारवाही गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .