ad ad

निर्वाचन विशेष


चुनावमा कलाकारको कन्तबिजोग

मत गणनामा को कहाँ?
चुनावमा कलाकारको कन्तबिजोग

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १३:४६, काठमाडौँ

निर्वाचन घोषणा गरेसँगै थुप्रै कलाकारको राजनीतिक यात्राबारे चर्चा भयो। चर्चा भएका कतिले दलको टिकट पाए, केही स्वतन्त्र उम्मेदवारका रूपमा उठे। केही भने पछि हटे। देशका विभिन्न क्षेत्रबाट उम्मेदवार भएका कलाकारले चुनावी प्रचारमा कुनै कसर बाँकी राखेनन्। उनीहरूको प्रचारमा जनताको लाभलाग्दो ‘क्रेज’ देखिन्थ्यो। तर त्यो मतमा परिणत हुन सकेन। अहिले विभिन्न क्षेत्रका कलाकार पुछारमा बसेर कछुवा गतिमा दौडिरहेका छन्। 

राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी रेखा थापाको प्रचारमा राम्रो माहोल देखिन्थ्यो। प्रचारका क्रममा उनको पछि दौडिएको भीड देखेर लाग्थ्यो– उनको जित सुनिश्चित छ। तर दुर्भाग्य! त्यो भीड मतमा परिणत हुन सकेन। अहिले उनी ६ हजार २९१ मतसहित तेस्रो स्थानमा रहेर त्यस क्षेत्रका  क्षेत्रका कांगे्रेस उम्मेदवार सुनिलकुमार शर्मा र एमालेका भानुभक्त ढकालसँग प्रतिस्पर्धा गरिरहेकी छन्। ठूलो मतान्तरसहित तेस्रो स्थानमा रहेकी रेखाको जित्ने सम्भावना लगभग सकिएको छ। 

यता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नम्बर १ को उम्मेदवार बनेका हिमेश पन्तको अवस्था पनि उस्तै छ। उनी पनि जारी मतगणमा तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन्। हालसम्म ८ हजार ७३ मत  ल्याएका पन्त यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे अग्र स्थानमा छन्। आफ्नो जितको सम्भावना नदेखेपछि मतदाताको अपमान हुने खालको स्टाटस राखेका कारण हिमेशको निकै आलोचना भयो। अहिले उनी आफ्नो उक्त स्टाटस हटाएर मतपरिणाम अपडेट गर्दै बसेका छन्। 

एक कार्यकाल सांसद भएर बिताएकी कोमल वली दाङ क्षेत्र नम्बर १ मा दोस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेकी छन्। एमालेबाट उम्मेदवार बनेकी वली कांग्रेसका दीपक गिरीलाई पछ्याइरहेकी छन्। वलीले अहिलेसम्म १० हजार ७९१ मत ल्याएकी छन्। आफ्नो मतान्तर बढ्दै गएपछि उनले फेसबुकमा ‘यस क्षेत्रकी वास्तविक सेवक म नै हुँ। यो कुरा अझै पनि मेरो मनले भन्छ’ भन्ने स्टाटस पोस्ट गरिन्। यो भन्दा अघि उनी तेस्रो स्थानमा थिइन्। कोमलको भने जितको सम्भावना अझै पनि रहेको बताइएको छ।

यता काठमाडौैं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले यो खबर तयार पार्दासम्म ५ सय ७७ मत प्राप्त गरेका छन्। काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार बनेका हास्य कलाकार मधुसूदन पाठक (सिते बा) ले ३ सय ६४ मत ल्याएका छन्। 

प्रतिनिधि सभा, सिरहाको क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार बनेका मुरलीधर मिझार चौथो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन्। 

काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका कलाकार राज शाहको चर्चा कतै सुनिँदैन। उनले हजार भोट पनि कटाउन सकेका छैनन्। पाँचौँ स्थानमा रहेर प्रतिस्र्धा गरिरहेका छन्। 

निर्देशक मनोज पण्डितले मत गणना सुरु भएकै दिन हार स्वीकार गरेर फिल्म लेखनमा लागेका छन्। काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनले सय भोट पनि कटाउन सकेनन्। 

कलाकार सम्राट सापकोटाले नेपाल सुशासन पार्टीबाट काठमाडौं, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए। उनी पनि प्रतिस्पर्धामा माथि आउन सकेनन्। चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका गायक मिलन लामाको हालत उस्तै छ। उनले १ हजार मत पनि कटाउन सकेका छैनन्। स्वतन्त्र उम्मेदवारी दिएका लामा चौथो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन्।

वितरक तथा कलाकार करण श्रेष्ठ क्रेजीले सय मत पनि कटाउन सकेनन्। उनले काठमाडौं प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ नवौं स्थानमा छन्। 

यही क्रममा केही कलाकारले भने जित हासिल गरेका छन्। 

निर्माता रोज राणाले प्युठानबाट जित हासिल गरेका छन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका राणाले विजय प्राप्त गरेका हुन्। उनी प्युठान प्रदेश सभा ‘ख’ मा २२ हजार ५ सय १८ मत ल्याउँदै विजयी भएका हुन्। 

अर्का निर्माता मधुकुमार श्रेष्ठ पनि विजयी भएका छन्। श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट कांग्रेसबाट निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .