ad ad

निर्वाचन विशेष


पहिचानवादी धरान : फर्किएला कम्युनिष्टको किल्ला?

पहिचानवादी धरान : फर्किएला कम्युनिष्टको किल्ला?

फाइल तस्बिर


सुमन पुरी
बैशाख १४, २०७९ बुधबार १९:९, धरान

पूर्वी नेपालको सांस्कृतिक नगरी धरान जति सुन्दर र मनमोहक छ, राजनीतिमा त्यति नै कठोर। यही कठोर राजनीतिको केन्द्र धरान उपमहानगरपालिकाको  प्रमुख बन्न चुनावी मैदानमा छन् कांग्रेस–माओवादी गठबन्धनबाट प्रत्यासी बनेका किशोर राई र एमालेबाट मञ्जु भण्डारी। 

लाहुरेको शहरका रुपमा चिनिने धरान पाँच बर्ष सरकार चलाउने आशामा प्रमुख पदका लागि २२ जनाको मनोनयन दर्ता भएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले बाहेक नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दलले  उपमहानगर प्रमुखमा उम्मेदवारी दिएका छन्। ८ जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन्। तर, मूल भिडन्त एमाले र कांग्रेस–माओवादी गठबन्धनकै बीचमा हुने निश्चित प्रायः छ। 

इटहरीकी चेली मञ्जु भण्डारी विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा आएकी हुन्। उनी एमाले केन्द्रीय सदस्य हुन्। अर्कोतिर राजनीतिका चतुर खेलाडी किशोर राई खेल क्षेत्रबाट कांग्रेसको राजनीतिमा प्रवेश हुन्।

कुनै बेला फुटबलका राष्ट्रिय खेलाडी किशोर झापाबाट धरानलाई कर्मथलो बनाउन आएका हुन्। मञ्जु भने धरानका एमाले नेता मुरारी सुवेदीसँग विवाह गरेपछि बुहारी बनेर धरान उक्लिएकी हुन्। 

धरान उक्लिएपछि मञ्जुको राजनीतिक उचाइ पनि बढ्दो छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय सदस्य भण्डारी धरान गएसँगै अघिल्लो स्थानीय तहको निर्वाचनमा उपमेयरको उम्मेदवार बनिन्। उनी उम्मेदवार मात्रै बनिनन् प्रतिद्वन्द्वी भन्दा ४ हजार बढी मत ल्याएर विजयी पनि भइन्। 

उपमेयर हुँदा गरेका कामको जस र अपजस भण्डारीसँग छ। यसले उनलाई मेयर बनाउने बाटो देखाउन सक्छ। झापाबाट आएका किशोर राई भने सामाजिक संघ संस्थामाबाहेक अन्यत्र ‘टेस्ट’ भएका व्यक्ति होइनन्। उनी अखिल नेपाल फुटबल संघ एन्फामा सक्रिय थिए। खेलकुद क्षेत्रमा भएका कारण युवासँग उनको बढी सम्बन्ध छ। 

एकलकाँटे धरान 
उपनिर्वाचनमा वामपन्थीको किल्ला तोड्दै काँग्रेसलाई जीत दिलाएका वर्तमान नगरप्रमुख तिलक राईलाई अपवाद मान्ने हो भने धरानको निर्वाचनमा कांग्रेसले जितेका अरु उदाहरण छैन।

गणतन्त्र स्थापनापछि धरानका पहिला मेयर एवं एमाले नेता तारा सुब्बाको निधन भएपछि रिक्त रहेको पदमा तिलक राईले कम्युनिष्ट किल्ला भत्काउने मौका पाए  । उनी २०१७ सालपछि धरानको प्रमुख हुने पहिलो कांग्रेसी हुन्। 

बहुदलपछि ०४९ सालमा भएको पहिलो स्थानीय चुनावमा नेकपा एमालेका ध्यानबहादुर राई विजयी भए। उनले नेपाली कांग्रेसका गोविन्द तुम्वालाई पराजित गरे।  पहिलो स्थानीय चुनावमा मेयर हारेका तुम्बा प्रदेश १ को पहिलो प्रदेश प्रमुख बने। एमाले छाडेर जसपामा लागेका ध्यानबहादुर राईको भने असामयिक निधन भइसकेको छ।  

दोस्रो स्थानीय निकायको चुनाव ०५४ मा पनि एमालेकै मनोज मेन्याङ्बो धरानको नगर प्रमुखमा विजयी  भए। उनले नेपाली कांग्रेसका राजविमल श्रेष्ठलाई पराजित गरे। 

अघिल्लो ०७४ स्थानीय चुनावमा पनि नेकपा एमालेकै तारा सुब्बा विजयी भए। सो निर्वाचनमा सुब्बासँग हारेका कांग्रेसका तिलक राईले उपनिर्वाचनमा भने नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गरे।

जतिखेर तिलक र प्रकाशको चुनावी भिडन्त भयो, त्यसबेला एमाले र माओवादी एउटै पार्टी बनेका थिए।  

बहुदलअघि पनि धरानमा कम्युनिष्ट समर्थितहरुकै जीत हुँदै आएको थियो। त्यसबेला धरानमा गोबिन्द मोक्तान, कृष्णकुमार राई बम देवान र ध्यानबहादुर राईले चुनाव जितेका थिए। उनीहरु जनपक्षीय मानिन्थे। तर, कतिपय पछि पञ्च बने।  

विसं. २०१५ सालको चुनावमा धरान क्षेत्रमा कांग्रेसको झण्डा फहराएको थियो। सो निर्वाचनमा  नेपाली कांग्रेसका उम्मेदवार दीक्षाज्ञान चौधरी विजयी भएका थिए। त्यसयता धरान क्षेत्रबाट केन्द्रमा प्रतिनिधि पठाउने निर्वाचनमा कम्युनिष्ट बाहेक अरु कसैले जितेको रेकर्ड छैन। केन्द्रमा त्यसको निरन्तरता अहिलेसम्म जारी छ। 

विसं. २०१७ सालपछि स्थानीय चुनावमा मात्रै होइन, प्रतिनिधिसभाको चुनावमा समेत धरानमा कम्युनिष्टकै जित हुँदै आएको छ।

निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गतको धरानमा बहुदलपछिको पहिलो प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेबाट मनमोहन अधिकारी विजयी भएका थिए। उनले नेपाली कांग्रेसका भेखबहादुर नेपालीलाई पराजित गरेका थिए  ।

२०५१ सालको मध्यावधि चुनावमा नेकपाबाटै लीला श्रेष्ठ सुब्बा विजयी भइन्। सुब्बाले नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठलाई पराजित गरिन्। ०५४ सालमा एमालेकी कुन्ता शर्मा विजयी भइन्। कुन्ताले चन्द्रप्रसाद श्रेष्ठलाई पराजित गरेकी थिइन्।

पहिलो संविधानसभाको चुनावमा भने माओवादीका किरण कुमार राईले बाजी मारे। किरणले कांग्रेस नेतृ उमा बास्तोलालाई हराए। दोस्रो संविधानसभाको चुनावमा नेकपा एमालेका कृष्णकुमार राई विजयी भएका थिए।

गणतन्त्र स्थापनाको पहिलो चुनावमा संघतर्फ एमालेका जयकुमार राई विजयी भएका छन्। प्रदेश सभा सदस्यमा भने प्रदीपकुमार भण्डारीले विजय प्राप्त गरे। उनी अहिले प्रदेश १ का सभामुख छन्। 

सहज छैन एमालेलाई
वामपन्थी इत्तरका लागि कठोर धरानमा यसपटक भने कम्युनिष्टलाई सहज छैन। एउटा कम्युनिष्ट घटक गठबन्धन गरेर कांग्रेससँग मिलेको छ। उपमहानगरको प्रमुख पद कांग्रेसलाई छाडेको माओवादी केन्द्रबाट अइन्द्रविक्रम बेघा उपप्रमुखमा प्रत्यासी बनेका छन्।

कम्युनिष्टहरू बाँडिएका कारण मात्रै होइन, एमाले फुटका कारण पनि प्रमुख पद फिर्ता ल्याउन एमालेलाई समस्या छ। धरानमा एमाले फुटको असर प्रष्टै देखिन्छ। पार्टी फुट्दा एमालेका पूर्व नेता माधव नेपालसँग धरानबाट ठूला नेता त गएनन्, तर १० बुँदे र ओली समूहको किचलो मिल्न भने लामै समय लाग्यो।

धरान एमालेका दुईवटा समानान्तर कमिटी बनेको धेरै समय बितिसकेको छैन। त्यसैले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेजन एक भएर हिँड्छन् या हिँड्दैनन्, हेर्न बाँकी छ। पर्खिनुपर्ने कारण के पनि छ भने १० बुँदेहरुप्रति अनुदार भनिएका ओली निकट नेता मुरारी सुवेदीकी श्रीमती नै यसपटक परीक्षामा उत्रेकी छन्।

१० बुँदे पक्षधरहरुलाई मिलाउन उपप्रमुखमा एमालेले पदमप्रसाद लिम्बूलाई उठाएको छ। यसले १० बुँदे पक्षधरको मन थामथुम भयो या भएन, केही दिनमै थाहा लाग्ने छ। 

कांग्रेसमा चिरा 
स्थानीय तहको पहिलो निर्वाचनमा तारा सुब्बासँगै पराजित तिलक राईले उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गर्दै इतिहास बनाएका थिए। तर, तिनै तिलक अहिले चुनावी मैदानमा प्रतिस्पर्धी छैनन्। उनको ठाँउमा नगर प्रमुख बनाउन किशोर राईलाई कांग्रेसले मैदानमा पठाएको छ। मेयरका आकांक्षी तिलकलाई उम्मेदवार नबनाउँदा यसको असर कांग्रेसमा पर्ने कतिपयको विश्लेषण छ। 

लामो समय किरात राई यायोख्खाको नेतृत्व सम्हालेका तिलकलाई यही जातीय मतले विजयी गराएको मान्नेहरू धेरै छन्। किशोरका पक्षमा त्यो मत ल्याउन तिलकको भूमिका के रहन्छ, अहिलै भन्न सकिन्न।

हुन त पार्टीको सिफारिसमा नपरे पनि  वर्तमान नगरप्रमुख तिलक राईले जसले टिकट पाए पनि कांग्रेसलाई जिताउने बताएका छन्। तर, धरानमा लामो समयदेखिको यी दुई नेताहरुको प्रतिस्पर्धा सजिलै मित्रतामा परिणत होला भन्ने अनुमान लगाउन कठिन छ। 

नगर अधिवेशनमा नगर सभापतिको उम्मेदवार बनेका किशोरलाई हराउन तिलकको महत्वपूर्ण भूमिका थियो। तिलककै सहयोगमा धरान कांग्रेसको सभापति श्याम पोखरेल  विजयी भएका थिए। यसअघिको नगर अधिवेशनमा तिलक र किशोरका बीचमा सभापतिका लागि प्रतिस्पर्धा भएको थियो। सो प्रतिस्पर्धामा तिलक  विजयी भएका थिए। 

यो बाहेक धरानका वडाहरूमा भएको किचलोका कारण वडामा राम्रो प्रभाव भएका वडाध्यक्षले कांग्रेसबाट अलग भएको घोषण गरिसकेका छन्। १४ नम्बरमा राम्रो प्रभाव राख्ने कृष्ण भट्टराई  र वडा नम्बर १ का रोशन अधिकारीले काँग्रेस छाडेर राप्रपाबाट उम्मेदवारी दर्ता गराएका छन्। 

त्यस्तै कांग्रेसमा राम्रो प्रभाव राख्ने वडा ६ का भूपेन्द्र भट्टराईले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। यति मात्रै होइन, कांग्रेसले गठबन्धन गर्न भनेर गरिएको पत्रकार सम्मेलन कांग्रेस नेताहरुले नै बिथोल्ने अवस्थासम्म आएको थियो धरानमा। 

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै बिहीबार कांग्रेसका प्रदेश सदस्य अजय राई, धरान–१९ का क्षेत्रीय प्रतिनिधि राजकुमार थोप्रा, धरान–१७ का नारद राई, वडा–१ का अध्यक्ष रोशन अधिकारी लगायतले गठबन्धनको संयुक्त पत्रकार सम्मेलन पूरा हुनै दिएनन्। 

कांग्रेसका प्रत्यासी किशोर राईले कार्यकर्ता धेरै भएको पार्टीमा समान्य विवाद भए पनि मिलिसकेको बताए  । उनले भने, ‘हामी एक भएर चुनावमा गएका छौँ। गठबन्धनसहितको मत भएकाले धरानमा हाम्रो जित सहज छ।’ 

कता जाला  सुकुम्वासी मत? 
गत ०७४ को चुनावमा ७९ हजार २८२ मतदाता रहेको धरानमा यसपटक २१ हजार ४२ नयाँ मतदाता थपिएका छन्। 

कुल मतदातामध्ये २२ हजारको हाराहारीमा सुकुम्वासीको मत छ। कुनै बेला कम्युनिष्टको भोट बैंक रहेका सुकुम्वासी पनि अहिले राजनीतिक रुपमा चिरा परेका छन्। सुकुम्वासी वस्तीलाई भोट बैंक बनाउने आकांक्षाका साथ धराने राजनीतिक दलहरु सबैले आ–आफ्नो संगठन बनाएका छन्। 

धरानकै वडा नम्बर ५ को देउराली, १५ को बगरकोट, खोरिया वस्ती र गणतन्त्र वस्तीमा सुकुम्वासीको बाक्लो वस्ती छ। यस्तै, वडा नम्बर १६ को नौलो वस्ती, सिमाना वस्ती र १७ नम्बर वडाको लोकतान्त्रिक वस्ती, डाँडा घोपा, फोकल्याण्ड टापु, रेलवे लाइन आदिमा स्थानमा सुकुम्वासीको मत जसले तान्यो, निर्वाचनको परिणाम उसैतर्फ जान सक्छ। 

त्यस्तै वडा ११ को नगरकोट, लालवस्ती र  सगरमाथा टोल पनि सुकुम्बासी वस्ती हुन्। यी बाहेक वडा नं. ७ र १५ मा पनि सुकुम्वासी मत छ। 

प्राध्यापक राजेन्द्र शर्मा यसपटक सुकुम्वासी मत मात्रै धरानको चुनावमा निर्णायक नहुने बताउँछन्। यसअघि पाँच बर्षे कार्यकालमा जनप्रतिनिधिले देखाएको भूमिका पनि धरानको मत परिणामको मानक हुने शर्माले विश्लेषण गरे। 

पार्टीभित्रको आन्तरिक किचलो र जनप्रतिनिधि नभई नछाड्ने नेताहरुको चाहनाले धरानमा कुनै पनि दल एकढिक्का छैन। यसैले धरानको राजनीति यसपालि ठोस छैन। प्राध्यापक शर्माले भन्छन्, ‘तरल राजनीतिमा जसले पनि चुनाव जित्न सक्छ।’ 

अघिल्लो निर्वाचनमा उपमहानगरका २० मध्ये १३ वडा एमालेले जितेको थियो भने ६ वठा वडामा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको थियो। 

अघिल्लो निर्वाचनमा ७९ हजार २ सय मतमध्ये सुब्बाले २० हजार ९७५ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले  ११ हजार १८० मत पाएका थिए। 

११ हजार मत ल्याएका बेघा यसपटक गठबन्धनबाट उपमेयरका उम्मेदवार छन्। 

जातिवादी आरोप 
एक–दुई इतिहासबाहेक धरानलाई आरोप लाग्ने गर्छ– धरानले जातका आधारमा उम्मेदवार जिताउँछ। जातीय जनसंख्याका आधारमा धरानले मत परिणाम दिन्छ। यसैले दलहरुले पनि उमेदवार त्यही अनुसारको दिने गरेका छन्।

प्राध्यापक राजेन्द्र शर्मा यो कुरा स्वीकार गर्छन्। उनी भन्छन्, नश्लको कुरामा धरान अन्य शहर भन्दा कठोर छ। 

त्यसो त धरानमा ब्राह्मण समुदायबाट ०४८ मा मनमोहन अधिकारी, ०५६ मा कुन्ता शर्मा र ०७४ को प्रदेश सभामा प्रदीप भण्डारीले चुनाव जितेका छन्। तर, नगरको प्रमुखमा भने जनजाति बाहेक अरुले चुनाव जितेको उदाहरण छैन। 

धरानमा जनजातिमध्ये पनि राई र लिम्बूको मत बढी छ। यसैले यी दुई समुदायकै बीचमा समेत चुनावी प्रतिस्पर्धा हुने गर्छ। प्राध्यापक शर्मा भन्छन्, ‘यहाँ जनजातिमा पनि राई र लिम्बूको प्रतिस्पर्धा छ। 

गोरेबहादुर खपांगीले धरानमा ०५१ सालको उपनिर्वाचनमा उम्मेदवारी दिएसँगै धरानमा जातिवादी राजनीति शुरु भएको धरानका अगुवाहरु बताउँछन्। यसको प्रभाव अहिलेसम्म छ।

धरान उपमहानगरपालिकाको प्रमुख पदमा लिम्बुवान, खम्बुवानको समेत मनोनयन दर्ता भएको छ। धरानमा मंगोल नेशनल अर्गनाइजेसनको पनि मनोनयन दर्ता भएको छ। 

एमाले धरानकी प्रमुख पदकी प्रत्यासी मञ्जु भण्डारी भने धरानले जात मात्रै नहेरेर काम पनि हेर्ने गरेको बताउँछिन्।

उनले पाँच बर्ष धरानको उपप्रमुख हुँदा आफूले गरेको काम जनताले देखेकाले निर्वाचन जित्ने दाबी गरिन्। उनले भनिन्, धरान परिवर्तन खोज्छ। यस पटक धरानले महिलालाई प्रमुख बनाउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .