ad ad

निर्वाचन विशेष


पोखरामा गठबन्धनको शक्ति प्रदर्शन

माधव नेपालको साख जोगाउने चुनौती
पोखरामा गठबन्धनको शक्ति प्रदर्शन

वाशुदेव मिश्र
बैशाख २५, २०७९ आइतबार १२:४८, पोखरा

कार्यकर्ताको तीव्र असन्तुष्टिका बाबजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीलाई पोखराको मेयर छाडिदिए। 

सत्ता गठबन्धनबीचको भागबण्डामा मेयर पाए पनि एकीकृत समाजवादीको पोखराका राम्रो जनाधार छैन। कांग्रेसी नेताहरुकै कुरा मान्ने हो भने, एकीकृत समाजवादी ‘मानो’ हो भने कांग्रेस ‘डालो’। 

डालोबाट नखन्याउँदासम्म थैलो भरिँदैन । एकीकृत समाजवादीको तर्फबाट पोखराका मेयर उम्मेदवार धनराज आचार्यसँग ५ दलीय समर्थन त छ तर, डालोको पूरै मतसहित अन्य ३ दलको मत पनि थैलोमा खन्याउनु छ। 

अघिल्लो चुनावमा कांग्रेसका मेयर उम्मेदवार रामजी कुँवरले  पाएको ४६ हजार ४१६ मतभन्दा एमालेका विजयी उम्मेदवार मानबहादुर जिसीले पाएको मत १३  हजार ७०२ ले बढी छ। 

१ लाख २५ हजार ८५३ अर्थात् ७४.८३ मतदान हुँदाभन्दा अहिले ३९ हजार ६३८ जना मतदाता बढेका छन्। पछिल्लो समय दलहरुमा देखिएको असन्तुष्टि र युवाहरुको विद्रोहले नयाँ मतदाताले कहाँ भोट हाल्छन् भन्ने एकीन छैन। 

यस्तोमा भएको मतको संरक्षण एवं ५ दलीय गठबन्धनलाई बलियो बनाउनैपर्ने बाध्यतामा धनराज रहेका छन्। उनको यही बाध्यतालाई सम्बोधन गर्दै एकीकृत समाजवादीको अस्तित्व रक्षा गर्न शीर्ष नेतृत्वले नै चासो देखाएको छ। 

आफूहरु एक भएको सन्देश दिन देश दौडाहामा निस्केका  गठबन्धनका शीर्ष नेताहरु आज तल्लो तहमा गठबन्धन कसिलो बनाउन पोखरा आउँदै छन् । यहाँको अमरसिंह चोकमा केहीबेरमा गठबन्धनकारी दलहरुको चुनावी सभा हुँदै छ ।

चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले संवोधन गर्ने कार्यक्रम तय भएको कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए। 

‘गठबन्धनकारी दलहरुबीच तल्लो तहमा देखिएको असन्तुष्टि हटाउनकै लागि चुनावी सभा आयोजना गरिएको हो’, उनले भने, ‘शीर्ष नेतृत्वको निर्देशनपछि हामी अझ कसिलोसँग चुनावी अभियानमा होमिन्छौँ।’ 

बृहत् चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निकाल्न थालिएको छ । भोलि एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा आउने भएकाले पनि गठबन्धनले यो सभालाई शक्ति प्रदर्शनको रुपमा लिएको छ ।  नेपाली कांग्रे पोखरा नगर समितिका सचिव टुवराज बास्तोलाले पछिल्ला दिनहरुमा अलमलमा रहेका कांग्रेसीहरु गठबन्धनकै पक्षमा देखिएको र अब गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे । 

‘कांग्रेसले कसैलाई जिताउन र हराउन सक्छ भन्ने सन्देश दिनको लागि पनि हामीले मेयरसहित उपमेयर जिताउनु छ’, उनले भने, ‘कांग्रेसको अस्तित्व रक्षाको लागि एकै ठाउँमा छ, स्वतन्त्र मत आफ्नो पक्षमा पार्न चुनावी सभा आयोजना गरिएको हो।’ 

बिहान ११ बजे सभा सुरु हुने भनिए पनि अहिलेसम्म सभा सुरु भएको छैन । नेताहरु खाना खानको लागि पोखराको एक होटलमा गएको र केहीबेरमा सभा सुरु हुने उनले जनाए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .