ad ad

निर्वाचन विशेष


११ सय ५९ जनाले विराटनगरमा जानी–जानी उपमेयरमा रुखमा भोट हालेका हुन्?

११ सय ५९ जनाले विराटनगरमा जानी–जानी उपमेयरमा रुखमा भोट हालेका हुन्?

सुमन पुरी
जेठ १, २०७९ आइतबार १७:२९, विराटनगर

सामाजिक सञ्जालहरुमा यतिबेला विराटनगरमा कांग्रेसले धोका दिएका स्टाटस र कमेन्टहरु लेखिनथालेका छन्। स्टाटसमा क्रिया र प्रतिक्रियाहरु छन्।

केहीले अहिले नै धोकाको कुरा गर्ने बेला नभइसकेको लेखेका छन् भने केहीले धोका भएको दाबी गरिरहेका छन्। महानगरको निर्वाचनमा गठबन्धन बनाएर होमिएका दलहरुको मत परिणामलाई हेर्ने हो भने प्रश्न स्वाभाविक देखिन्छ। 

विराटनगर महानगरमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका नागेश कोइराला छन् भने उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादव। नागेश कोइराला सार्वजनिक पछिल्लो मत परिणामअनुसार २५ सय ६५ मत ल्याएर एमालेका सागर थापाभन्दा ७१५ मतले अगाडि छन् ।

तर गठबन्धनका उपमेयर अमरेन्द्र भने एमालेका उम्मेदवार शिल्पा कार्कीभन्दा ७०७ मतले पछाडि छन्। शिल्पाले २१०० मत ल्याएकी छिन् भने अमरेन्द्रले १३९३ मत ल्याएका छन्।

रमाइलो त के छ भने अहिलेसम्मको उम्मेदवार नै नभएको नेपाली कांग्रेसको मतदान चिह्न रुखमा ११५९ मत खसेको छ। गठबन्धनको शर्तअनुसार त्यो मत जसपाको चुनाव चिह्न छातामा परेको भए अमरेन्द्र शिल्पाभन्दा अगाडि हुने थिए।

रुख चिह्नमा परेको मत पनि जोड्ने हो भने अमरेन्द्रको मत २५५२ हुने थियो। जुन शिल्पाको भन्दा ४५२ ले बढी हो। मेयरका उम्मेदवार नागेशभन्दा जम्मा १३ मतले कम हो। गठबन्धन हुँदा जसपाले उपमेयर पाएपछि कांग्रेसकै नेता तथा कार्यकर्ताले कडा विरोध गरेका थिए।

महिला नेताहरुले नेपाली कांग्रेसको प्रदेश कार्यालयमै घेरा गरेका थिए। विवादका बीचमा गठबन्धन भएको विराटनगरमा जानी जानी उपमेयरमा मत गएको हो या झुक्किएर भन्नेबारे गठबन्धनका बीचमा बहसको विषय बनेको छ। ​उपमेयरमा उम्मेदवार नभएको रुखमा मात्रै होइन नेकपा (एकीकृत समाजवादी)को कलम चिह्नमा ६६ र नेकपा (माओवादी केन्द्र)को हँसिया हतौडामा समेत ५२६ मत खसेको छ। समाजवादी र माओवादी केन्द्र समेत गठबन्धनमा  छन्।

७ हजार ९५३ मत गणना हुँदा मेयरमा समेत उम्मेदवार नभएका चिह्नमा समेत मत खसेको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। सार्वजनिक मत परिणामअनुसार मेयर पदमा जसपाको  छाता चिह्नमा १६८, एकीकृत समाजवादीको चुनाव चिह्न कलममा ७७ र माओवादी केन्द्रको हँसिया हतौडा चिह्नमा ४३७ मत खसेको छ। 

मेयरमा गठबन्धनका दलहरुको चुनाव चिह्नमा कुल ६८२ मत प्राप्त गरेको छ। यदि गठबन्धनमै रहेको दलहरुको उम्मेदवार नभएको चिह्नमा परेको मत नेपाली कांग्रेसलाई जाने हो भने मेयरका उम्मेदवार नागेशको ३३४७ हुने थियो। जुन सागर थापाको भन्दा १४९५ ले बढी हो।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले विराटनगरमा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार नभएका चिह्नमा मात्रै २४३३ मत खसेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .