निर्वाचन विशेष


चुनावी मैदानमा रवीन्द्र मिश्रको दल : न देखियो ‘विवेक’ न रह्यो ‘साझा’

चुनावी मैदानमा रवीन्द्र मिश्रको दल : न देखियो ‘विवेक’ न रह्यो ‘साझा’

जेवी पुन मगर
जेठ ९ , काठमाडौँ

कुनै समय स्रोत व्यक्तिलाई प्रश्नको प्रहारले र्याख्र्याख्ती पार्ने ख्यातिप्राप्त रेडियोकर्मी रवीन्द्र मिश्रको शैलीबाट दुनियाँ हायलकायल थियो। बेलायतस्थित बीबीसीको स्टुडियोबाट विशेषतः राजनीतिक दलका नेताहरुलाई ठाडो शैलीमा जिम्मेवारीबोध सिकाउन गरिएका मिश्रका तीखा प्रश्नले वाहवाही बटुलेको थियो।
  

अरुको पीडा र खिसिट्युरीबाट आनन्द लिने समाज भएर होला, उनको त्यस्तो हप्कीदप्की खास्सा स्वीकार्य हुँदै थियो। आवाजको दुनियाँमा ‘बादशाहत’ प्राप्त मिश्र नेपाली समाजलाई आफ्नो खास शैलीले वशीभूत पार्न सफल थिए।

मिश्र कतिसम्म चर्चित थिए भने उनकै अगुवाइमा दानदातव्यबाट सञ्चालन हुने ‘हेल्प नेपाल’ नामक गैरसरकारी संस्थालाई विश्वभर छरिएका नेपालीले मुठी खोलेर सहयोग गर्ने गरेका थिए।

सञ्चारकर्ममाथि अध्ययन–अध्यापन गर्नेहरुलाई राम्ररी थाहा छ, रवीन्द्रको ‘केरकार शैली’लाई मानक मान्ने उनी जस्तै केही ‘सेलेब्रिटी’ मिडियाकर्मीहरुलाई समाजको फराकिलो तप्काले सूचना श्रोतको रुपमा आत्मसात गरिरहेको छ। 

बकिङ्घम प्यालेस परिसरबाट नेपाली राजनीतिको तापमान नापेका मिश्रले नेपाली समाज र राजनीतिलाई जसरी बुझे, त्यसैगरी दलका नेतालाई भर्चुअल कठघरामा उभ्याई झाँको झार्ने काम गरे।

राज्यसंयन्त्रमा मौलाएको भ्रष्टाचारले देश समृद्ध हुन नसकेको ठाडो विश्लेषण गर्ने मिश्रले तयार पारेको नारा पनि उनकै शैलीसँग ठ्याक्क मिलेको देखिन्थ्यो। भ्रष्टाचारविरुद्धको उनको नारा (केहीले श्राप भन्दिए) थियो– ‘भ्रष्टाचारीलाई किरा परोस्।’ 

देश बिगारिस् भन्दै नेतालाई यसरी प्रश्न गरिरहेका मिश्रलाई आफैँ राजनीतिक मैदानमा उत्रिई जनताका प्रश्नको सामना गर्ने लहड चढ्यो। उनी राजनीतिमा तानिए। यसपालि एकाएक परिदृश्यमा उदाएका बालेन शाहभन्दा कयौँ गुणा चर्चित ‘सेलेब्रिटी’ मिश्रमा राजनीतिमा बलियो हस्तक्षेप गर्नसक्छु भन्ने आत्मविश्वास पनि देखिन्थ्यो। 

भ्रष्टाचार हटाई सुशासन कायम गरे राजनीति सुध्रिने बुझाइसहित उनी बेलायतको बसाइ छाडी स्वदेश फर्किए। बेलायतको सुखसयल र बीबीसीको सम्मानजनक तलब छाडी राजनीतिमा प्रवेश गरेको भन्दै उनको निकै हाइ–हाइ भयो।

मिश्र स्वंयले त्यसलाई देश बनाउन आफूले गरेको ठूलो ‘त्याग’को रुपमा अथ्र्याउँदै प्रचारबाजी थाले। यो थियो उनको सक्रिय राजनीतिको प्रस्थानविन्दु। 

तर निकैअघिको ‘कहिल्यै सूर्य नअस्ताउने देश’बाट गरिएको नेपाली समाज र राजनीतिको व्याख्या विश्लेषणजस्तो यहाँको वस्तुस्थिति थिएन। लाखौँ फलोअरले पछ्याएको आफ्नो सामाजिक सञ्जालका ‘समर्थक’हरुले फुर्क्याएको उनले भेउ नै पाएनन्।

मिश्रले जे सोचेका थिए, त्यो धरातलीय यथार्थ थिएन। दोस्रो व्यक्तिलाई हटसिटमा राखी केरकार पार्नु र आफूले त्यही काम गरेर देखाउनुमा आकासजमिनको फरक रहेछ भन्ने यथार्थ उनले देश–देशावर घुमेपछि बल्ल बुझ्दै गए। मिश्रलाई सिंहदरबार गेटभित्र छिराउने बाचासहित आबद्ध हुन आएका ‘ठूलाबडा’ हरुले धमाधम साथ छाड्दै गएपछि उनी अत्तालिन थाले। त्यसपछि सुरु भयो, मिश्रको राजनीतिको दोस्रो विन्दु– हतासा।

साझा पार्टी खोलेर संगठित राजनीति थालेका मिश्र जनस्तरमा भिज्नै सकेनन्। उनले सिर्जना गरेको ‘खान पुगोस् दिन पुगोस्‘ आदर्शवाणीले सर्वसाधारणलाई छुन सकेन। बेलायतबाट फर्किए पनि बालेन साहले झैँ उनले सामाजिक सञ्जालका आफ्ना लाखौँ ‘फलोअर्स’को भावनालाई मतदानमा परिणत गर्ने व्यवस्थापकीय क्षमता देखाउन सकेनन्, त्यस्ता म्यानेजरको जोहो पनि गर्न सकेनन्। परिणम, वैकल्पिक राजनीतिको वकालत गरेर ध्यान आकर्षित गर्न खोजिरहेका युवाहरुको संगठन विवेकशील नेपाली दलसँग दलीय एकीकरण। नाम जुर्यो विवेकशील साझा पार्टी। यो एकीकरणको आधारभूमि थियो, स्थानीय निर्वाचन। 

विवेकशीलले काठमाडौँ महानगरमा उठाएको मेयर उम्मेदवार रञ्जु दर्शनाले २३ हजार मत प्राप्त गरेकी थिइन् भने साझाका मेयर उम्मेदवार किशोर थापाले १८ हजार मत थापेका थिए। भर्खर जन्मिएका यी दुई दलले प्राप्त गरेको यो मत उत्साहबद्र्धक थियो। यो मत सन्निकट रहेको प्रदेश र संसदीय निर्वाचनमा एकैठाउँ ल्याउने रणनीति बमोजिम दुई दलबीच एकता भयो।

सेलेब्रिटी सञ्चारकर्मीको प्रदीप्त व्यक्तित्वको बलमा जितिने हिसाबकिताब सहित २०७४ सालमा भएको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट मिश्रलाई उठाइयो। सोचेजस्तो भएन, मिश्र कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहसँग ८१८ मतको अन्तरले हार्न पुगे। त्यसपछि सुरु भयो मिश्रको राजनीतिको तेस्रो चरण अर्थात् विचलन।

जब नेतृत्व रणनीति र कार्यनीति असफल हुनथाल्छ, तब उसको संकटको घडी सुरु हुन थाल्छ। त्यस्तै भयो। निर्वाचनमा असफलता भोगेपछि रवीन्द्रको ताजमाथि प्रश्न उठाउन थालियो।

विवादको उत्कर्षमा कुरा कहाँसम्म पुग्यो भने आफूलाई विवेकशील दाबी गर्दै आएका र साझा घोषणा गर्दै आएकाहरुबीच हात हालाहालसम्मको अवस्था आइलाग्यो। आफ्नो ताज जोगाउन भ्रष्टाचार र सुशासनको मुद्दा बोकेर राजनीतिको झण्डा उचालेका वैचारिक रुपले प्रष्ट नभइसकेका मिश्रले उतिबेला कमल थापाहरुले बोकिरहेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी कित्तामा आफूलाई उभ्याउन थाले।

केपी ओली र कांग्रेसका कोइराला पक्ष लहसिन खोजिरहेको र भारततिरबाट यता उक्लिरहेको यस्तो घातक राजनीतिलाई उनले ‘विचार भन्दामाथि देश’ को वैचारिक जामा पहिर्याइदिए। यही अनुसार उनका व्यवहार पनि सार्वजनिक हुँदै गए। 

भारतको बहुसांस्कृतिक समाजलाई तहसनहस पारिरहेको भनिएको नरेन्द्र मोदीको हिन्दुत्ववादी यो विचारधाराको नेपाली लाइन प्रष्ट छ– यसले संघीयता खारेजीको माग गर्दछ। संवैधानिक राजतन्त्रको वकालत गर्दछ। अक्षमलाई क्षमतावान बनाउन सघाउ पुग्ने आरक्षण होइन्, ‘मेरिट’ को कुरा गर्छ। हिन्दु अधिराज्यको परिकल्पना गर्दछ। यो विचारको उनकै दलभित्र जमेर विरोध भयो। विरोधी मिलन पाण्डेहरु यसपालिको स्थानीय निर्वाचनमा चुपचाप बसिदिए।

पार्टीले यत्रो अन्तरद्वन्द्वको आकलन नगरिकनै यही वैचारिकीको कमण्डलु बोकाई आफ्ना उमेदवारहरुलाई स्थानीय निर्वाचनमा उतार्यो। पछाडि होइन, अगाडि बढ्ने वाम चरित्रको नेपाली समाजले मिश्रको पुरातन विचारलाई पुरै खारेज गरिदियो।

समाजको मनोविज्ञान बुझ्ने दाबी गरिरहेको दलले निर्वाचनका निम्ति तम्तयार भई बसेका ३५ लाख तन्नेरी मतदाताहरुको मनोभावलाई बुझ्ने प्रयत्न नै गरेन। परिणाम अगाडि आयो– उनका उम्मेदवारले जताततै नराम्ररी हार बेहोरे।

गएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा रञ्जु र किशोरले ल्याएको मतलाई छाडौँ, ०७४ सालको प्रदेशसभा निर्वाचनमा काठमाडौँ १ (ख) बाट ४ हजार ३४३ मत ल्याई तेस्रो भएकी समीक्षा बास्कोटाले समेत त्यतिखेर पाएको आफ्नो मत बचाउन सकिनन्। यसपालि महानगरको प्रमुख पदमा उठेकी बास्कोटाले यो आलेख तयार पार्दासम्म जम्मा ३४४ मत ल्याएकी छन्। 

मधेश प्रदेशको अति सीमान्तकृत धार्मिक समुदाय मुस्लिमहरुको बाहुल्य रहेको फेटा गाउँपालिका (बारा) बाट आफ्ना उम्मेदवार निर्वाचित नभइदिएको भए विवेकशीलहरुलाई ‘साझा’ जनप्रतिनिधिको बिउ देखाउन समेत कठिन हुने थियो। यो पालिकामा अध्यक्ष, उपाध्यक्षसहित २ वडाध्यक्ष, २ महिला सदस्य, १ दलित सदस्य र ४ सदस्यले जितेर विवेकशीलहरुको नाक जोगाइदिएका छन्।

जनकपुरस्थित हाम्रा संवाददाता शैलेन्द्र महतोका अनुसार, फेटाका प्रभावशाली युवा सामाजिक कार्यकर्ता रुस्तम अन्सारीले एमालेले टिकट नदिएको झोँकमा विवेकशीलबाट उमेदवारी दिएर जित हासिल गरेका हुन्। 

स्थानीय निर्वाचनमा आफ्ना उमेदवार चौतर्फी हार्दै गएको देखेपछि विवेकशील साझाले २ जेठमै हतारहतार प्रेस विज्ञप्ति जारी गरी  ‘टुटफुट र पार्टीभित्र चलेको वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल’ले हार बेहोर्नुपरेको तर्क दिएको छ।

सामाजिक सञ्जालको वाहवाहीमा फुरुङ्ग हुँदै सञ्चारकर्मबाट आर्जन गरेको सेलेब्रिटी व्यक्तित्वको बलमा राजनीतिमा बाजी मार्छु भनी मैदानमा उत्रिएका रवीन्द्र मिश्रले यो निर्वाचनबाट आफ्नो सीमितता बुझेको हुनुपर्दछ।

एउटा खास विचारधाराको चौघेराभित्र आफूलाई कैद गर्दै लगिरहेका मिश्रले संघारमा उभिएको प्रदेश र संघीय निर्वाचनका निम्ति कस्तो रणनीति अख्तियार गर्लान्? महानगरभित्रका एउटा खास वर्गले नियालेर हेरिरहेकोले पनि उनका अघिल्ला कदम दर्शनीय नै बन्ने अपेक्षा गर्न सकिन्छ।  
 

जेठ ९, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad