ad ad

रोजगार


कलंकीको सडकमा ३२ वर्ष : जुत्ताको भर, यसैले चल्छ घर

कलंकीको सडकमा ३२ वर्ष : जुत्ताको भर, यसैले चल्छ घर

देवनारायण महताे


सुभद्रा ढकाल
साउन २४, २०७९ मंगलबार १०:४०, काठमाडौँ

राजधानीको सधैँ अस्तव्यस्त देखिने कलंकी चोक। कलंकीको मकालु पेट्रोलपम्प नजिकैको सडकमा बारा कलैयाका देवनारायण महताेले जुत्ता सिलाएर आफ्नो जीवनको ३२ वसन्त पार गरे । २०२९ सालमा बाराको कलैयामा जन्मिएका महताेलाई सुख के हो, खुसी के हो भन्ने महसुस नै छैन।

घरको आर्थिक अवस्था निकै दयनीय थियो। उनका बाबुले दिनमा १०/१२ घन्टा काम गरेबापत साढे २ किलो धान कमाउँथे।

पाँच दाजुभाइ, दुई दिदीबहिनी र बा-आमाको परिवार थियो। सबैलाई पेट भर्न मुस्किल हुने कारण १ किलो चामलमा ५ लिटर पानी हालेर पकाउँथे। खाना खाएको एकछिनपछि भोकले घरमा रुवाबासी चल्थ्यो।

आफ्नो जग्गाजमिन थिएन, त्यसकारण उनी साहुको गाईगोरु चराउँथे। कहिलेकाहीँ मुसुराको दालमा पानी हालेर उमालेको झोलले उनीहरुको छाक टर्थ्याे। 

​साहुसँग सय रुपैयाँ सापटी लियो भने हजार रुपैयाँ तिरिसक्दा पनि तिरिसकिन्थेन। त्यो ठाउँमा खेत धान सबै धनी मान्छेको अधीनमा थियो। गरिबहरुले वर्षभरि कमाएको अन्नबाली सबै बुझाउँथे।

उनको आफ्नो घरजग्गा केही थिएन। ऐलानी जग्गामा बसेर गोठालो लागे। तर त्यहाँबाट पनि उनको उठिवास लाग्यो। साहुसँग १०० रुपैयाँ सापटी लियो भने १०० पटक तिर्दा पनि चुक्ता नहुनी महताे बताउँछन्।

गाउँमा बसेर जिन्दगी नचल्ने भएपछि २०४८ सालमा उनी चितवनतिर लागे। चितवनको नारायणघाटमा प्लास्टिक कारखानामा काम गर्न थाले। दिनको १२ घन्टा काम गर्दा महिनाको हजार कमाउँथे। कहिलेकाहीँ गिटीबालुवा बोक्थे। दिनभरिमा ३५ रुपैयाँभन्दा बढी आम्दानी हुँदैनथ्याे।

त्यहाँ पनि आफ्नो गुजारा सहज नहुने भएपछि उनी काठमाडौँ पसेर सडकमा जुत्ता सिलाउन थाले।

उनी आफ्नो काममा यसरी लागिपरे कि उनलाई जाडो, गर्मी, हुरी, बतास, झरी केही कुराले पनि छेक्न सकेन।

भुइँमा सानो बोरा ओछ्याएर एउटा छाताको सहारामा उनी बिहानदेखि साँझसम्म जुत्ता सिउन बस्छन्।

जुत्ता सिलाउन कतिले त राम्राे व्यवहार गर्छन् तर कतिले तुच्छ भाषा प्रयोग गरेर उचित पारिश्रमिक पनि नदिने गरेको दुखेसाे पाेख्छन्। ​

महताे भन्छन्, ‘धुलो धुँवा हुरी बतास सबै सहेर सडकमा बस्नुपर्छ। जुत्ता सिलाउने आउनेमध्ये कसैले मीठो व्यवहार गर्छन् भने कसैले मन बिझाउने गाली गरेर उचित पारिश्रमिकसमेत दिँदैनन्।’

सडक व्यापार उनको रहर होइन, बाध्यता हो। धुवाँ, धुलो र कोलाहल, पैदलयात्रीहरुको नमीठो व्यवहार दिनहुँ सहनुपर्छ। त्यसमाथि कतिबेला नगर प्रहरी आएर सामान उठाएर लगिदिन्छ पत्तै हुँदैन। रोजगारीका अन्य विकल्प भए सडकमा व्यापार गरेर बस्न कसलाई पो रहर हुन्छ र?

महताे भन्छन्, ‘धेरैपटक महानगरपालिकाले सामान उठाएर लग्यो। लगेर कताकता छरिदिन्छ थाहै हुन्न। भेटिएको सामान टिपेर ल्याउँछु। अरु कता पुग्छ कता? हामी गरिबका लागि यो सडक पनि होइन रहेछ!’

बिहानदेखि साँझसम्म सियोसँग खेल्दा जेनतेन उनको गुजारा चल्छ। घट्दै गएको उमेर, बढ्दै गएको जिम्मेवारीले रहरभन्दा पनि बाध्यतामा बाँच्न विवश छन्।

आफ्नो परिवारमा ७ जना रहेको उनी सुनाउँछन्। त्यही जुत्ता सिलाएर घरखर्च, बच्चाको पढाइ र आफ्नो गुजारा धानिरहेका छन्।​

उनी काठमाडौँको सडकको प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्ता सयाैँ जनाले यसैगरी आफ्नो जीवन चलाइरहेका छन्।

काठमाडौं महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले कानुनले फुटपाथमा व्यापार गर्न निषेध गरेको बताउँदै गर्दा देवनारायणजस्ता आम फुटपाथ व्यापारीको एउटै चिन्ता छ- अब कसरी गुजारा चलाउने?

सबै फुटपाथ व्यापारीसँग सटर खोलेर पसल चलाउने सामर्थ्य छ त? पक्कै छैन। ​

नेपालखबरसँगको कुराकानीमा महताेले भने, ‘मैले यही फुटपाथ व्यापारबाट सात जनाको परिवार पाल्नुपर्छ हजुर, यो बाहेक अन्य कुनै विकल्प नै छैन, यहाँ काम गर्ने वातावरण महानगरले दिएन भने मेरो त भोकले मर्ने अवस्था आउँछ। हामी विस्थापित भएर पनि कहाँ जाने?’

उनले जति दु:ख गरेर भए पनि आफ्नो छोरालाई प्लसटुसम्म पढाएका छन्। उनका अन्य सन्तान पनि पढिरहेका छन्।

महानगरपालिकाले सडकमा जुत्ता सिउन नदिएर बेलाबेला लखेटे पनि ट्राफिक प्रहरीले भने आफूलाई निकै सहयोग गरेको उनी बताउँछन्।

भूकम्पको पीडा र कोरोना महामारी पनि उनले यही सडकमा झेले।

काठमाडौँमा लकडाउन भएपछि उनी ज्यान जाेगाउन आफ्नो गृहजिल्ला बारातिर लागे।

बारामा पनि उनको खेतीपाती केही छैन। आफ्नो खेतबारी पनि केही नभएको उनी बताउँछन्। 

कोरोना महामारीले आफ्नो पेसा तहसनहस भएको बताउँदै उनी ती दिन सम्झिन्छन्, ‘गरिब मान्छेलाई धेरै अप्ठेरो छ। कोरोनाको बारेमा सबैले दुई दुई बोरा चामल लगे मलाई भने दिएनन्। यो कांग्रेस होइन यो त फोरम पार्टी हो भनेर बेलुकातिर म बजार घुम्न जाँदा मलाई सबैले जिस्काए।’

उनी आक्रोश पोख्छन्, ‘त्यस्तो महामारीको बेलामा मलाई सरकारले पार्टीका आधारमा छुट्याएर दुई बोरा चामल दिएन भने त्यो सरकारको के काम? अलग पार्टीको मान्छे भनेर राहतसम्म दिएन। गाउँपालिकामा जसको सरकार छ उसैको पार्टीले मात्रै राहत पाउने रहेछ। लकडाउनमा कमाइ भएन, जेनतेन आफ्नो परिवार पाल्ने काम मात्रै भयो।’

कोरोना अवधिभर उनी गाउँमै बसे। अवस्था अलि सहज भएपछि काठमाडौँ फर्किए। उनको समस्या जस्तोको त्यस्तै रह्यो।

ढुंगेअड्डामा डेरा गरेर बसेका महताेले हरेक महिना ५ हजार रुपैयाँ काेठाभाडा बुझाउनुपर्छ। कोराेना महामारीका बेला कमाइ गर्न नपाए पनि काेठाभाडा भने मिनाहा भएन।

उनी भन्छन्, ‘कमाइ छैन, भाडा छुट गरिदिनुस् न भन्दा घरबेटीले एक रुपैयाँ पनि भाडा छाडेनन्। मलाई पनि गाह्राे छ भनेर पन्छाउन खोज्यो।’

सडक किनारमा उनको जिन्दगीको धेरै किस्सा जोडिएका छन्। विदेश गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा मिहिनेत गर्न उनलाई गर्व लाग्छ। 

‘मलाई धेरै जनाले विदेश जान सुझाव दिएका थिए, तर मलाई विदेशभन्दा मेरै देश प्यारो छ। यहीको संस्कार र संस्कृति निकै प्रिय छ। पछिल्लो समयको नेपालको राजनीतिक अवस्था पटक्कै मन पर्दैन’, उनले भने।

पैसाका लागि आफ्नो देश, धर्म, कला, संस्कृति विदेशीलाई बेच्न नहुने उनको तर्क छ।

भन्छन्, ‘केही दलालहरुले हाम्रो देशलाई किन्न खोजेका छन्, पृथ्वीनारायण शाहको पालादेखि हामीहरु हिन्दुको सन्तान हौँ, हिन्दु धर्म नै मान्दै आएका छौँ। अरुले किस्चियन धर्म माने पनि हामीलाई आपत्ति छैन। तर, हाम्रो आमामाथि लात हान्न पाइदैँन।’

काठमाडौँ बसाइको सुरुवाती दिनमा उनलाई धेरै नेपालीले हेपेको सम्झना छ। यो त मधेशी मूलको मान्छे हो, यसलाई यहाँ बस्न दिनु हुँदैन भनेर उनी पहाडी मूलका मानिसबाट धेरैपटक लखेटिएका छन्। तर अहिले वैदेशिक रोजगारीको कारण खराब नियतका केटाहरु विदेश गएर सुध्रिएको उनी बताउँछन्।

‘आज पनि पेटभरि खान सक्ने अवस्था छैन। बिहान भरिपेट खाएर बेलुका आधापेट खाएर बाँच्नुपर्ने बाध्यता छ।  दिनको तीन सय कमाएँ भने दुई सय जोगाउँछु। बजारमा राखिएका फलफूलहरु खान मन लाग्छ तर मैले कमाएको सबै सकाएँ भने मेरो परिवार भोकै हुन्छ,’ बोलिरहँदा उनका आँखा रसाएका थिए।

विदेशीहरुसँग ऋण माग्ने चलन उनलाई पटक्कै मन पर्दैन।

उनी भन्छन्, ‘हाम्रो देश विकासका लागि पचास करोड पचास अर्ब विदेशीले दिन्छ। पचास अर्ब पैसा पाए पनि पचपन्न अर्ब पाए पनि हाम्रो स्वाभिमान जोखिममा रहन्छ। स्वाभिमानसँग पैसा साटेर कसरी खुसी हुनु?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .