दायाँतर्फ बसिरहेका जीवन शर्मालाई छोरी अनुले गितार थमाइदिइन्। उनले गितार सुम्सुम्याउँदै स्ट्रिङमा औँला राखे। रिदम मिलाए। अनुको छेउमा बसिरहेकी नीलिमा पुन मुस्कुराइन्।
तिनै जनाले एकअर्कालाई हेरे र इसारा गरे।
वान टु थ्रि गो...
त्यसपछि कोठाभित्रको सन्नाटा चिर्दै अनुको स्वर गुन्जियो–
लालीगुराँस फूल्यो वनैमा नि लैलै
गीत गाऊँ सँगै हाँसेर नि लैलै
स्वर मिलाऊँ मीठो भाकैमा
‘यो गीत गाउँदा प्रकृतिको रमाइला दृश्य आँखामा आउँछन्। सँगै हुर्किएका साथीभाइ याद आउँछन्। अनि नेपालप्रतिको प्रेम मनभरि बस्छ,’ केही अन्तरा गीत गाएर रोकिनासाथ अनुले सुनाइहालिन्।
दुई हप्ताअघि मात्रै हो, उनले ‘लालीगुराँस’ गीत आफ्नो युट्युब च्यानलमार्फत् रिलिज गरेको। गीत रिलिज भएपछि आमा (गायिका) नीलिमालाई म्यासेजहरू आए– आहा ! छोरीको आवाज कति मीठो।’
अनि बाटोमा ‘टुकुटुकु’ हिँडिरहँदा जीवनलाई साथीभाइले पनि सुनाए, ‘दाइ, छोरीको प्रयास साह्रै राम्रो छ है !’
अनुलाई त झन् धेरै प्रतिक्रिया आए। गीत सुनेपछि भर्खरै कलेज जोइन गरेकी अनुबाट साथीहरूले सरप्राइज पाए।
‘तपाईं जीवन शर्माको छोरी पो ! म त उहाँका ठूलो प्रशंसक।’
अनु पुलकित भइन्।
खुसी हुनका लागि यी दुई दम्पतीलाई छोरीको प्रशंसा पर्याप्त थियो।
‘हिजो हामी जनवादी गीत गाउँथ्यौ। अब छोरीले गाउँछिन्। उनको लगाव पनि यसैमा छ,’ नीलिमा भन्छिन्।
स्टुडियोमा रेकर्ड गरेको अनुको पहिलो गीत हो यो। गीत लेखिन् नीलिमाले, संगीत भरिन् नीलिमाले। अब गाउने कसले?
‘ममी म गाउँछु यो गीत। सजिलो छ, अनि राष्ट्रियता झल्कने पनि,’ छोरी अनुले अनुगृहित हुँदै भनिन्। अभ्यास गरिरहेकी छोरीलाई यो गीत सुहाइरहेको थियो। नीलिमाले ठानिन्– ‘अब उसैले गाउँछे।’
गीत लेखिएको दुई वर्षपछि अनुले गाउने त भइन्। तर, स्टुडियोमा रेकर्ड गर्ने सामर्थ्य थिएन।
‘इष्टमित्र साथीभाइको साहयोगले जेनतेन खर्च गर्यौँ। तर पैसा अभावले भिडिओ निकाल्न सकिरहेका छैनौँ,’ नीलिमाले सुनाइन्।
सर्वहाराको गीत गाएर ‘सर्वहारा’कै जीवन बाँचेका जीवन र नीलिमाको लागि अभाव नौलो कुरा होइन। छोरीले पनि थुप्रै अभाव देखेकी भोगेकी छन्, जनताको आँगनमा, पहाडका अफठ्यारा यात्राहरूमा। १९ वर्षकी अनुलाई यतिबेला थाहा भइसकेको छ– ‘जनताको गीत गाउन जनताकै जीवन अनुभूत गर्नुपर्छ।’
***
पहिले जीवन र नीलिमाका छोराहरू पनि गीत गाउँथे, तर पछि गायनमा रुचि राखेनन्। छोरी अनु भने सानैदेखि संगीतमा भिज्न थालिन्।
अनु डेढ वर्ष जतिकी थिइन्। त्यतिबेला नीलिमा संगीतमा स्नातक गर्दै थिइन्। दोस्रो वर्षको प्रयोगात्मक परीक्षा थियो। उनले अगाडि हार्मोनियम राखिन्। सारेगम बजाउन लाग्दा अनु बामे सर्दै आइन्, र हार्मोनियममा बसिदिइन्।
नीलिमा जब ‘सा...’ उच्चारण गर्थिन्, अनु तत्कालै उही लयमा हल्लिन्थिन्।
‘बा–आमा छोराछोरीले पहिलो पटक तोते बोल्दा खुसी हुन्छन् नि, म चाहिँ छोरी त्यो बेला हल्लिएको देखेर खुसी भएँ,’ नीलिमा सुनाउँछिन्।
जीवनसँग पनि छन् ती रमाइला किस्सा। काँधमा दुई वर्षकी छोरी बोकेर उनी मामाघर जाँदै थिए।
‘म ताकाधुङ्धु... गर्दै हिँडिरहेको थिएँ। जब मैले गर्थें, छोरी मेरो टाउकोमा टाइमिङमै हातले बजाउँथिन्। त्यो निकै पर्फेक्ट थियो,’ उनी सम्झन्छन्।
सानैदेखि संगीतमा छोरीको रुचि देखेर जीवन खुसी हुन्थे। ठान्थे– ‘छोरी पछि गएर राम्रो गीत गाउने हुन्छिन्।’
अनु जन्मेपछि जीवन र नीलिमाले उनलाई आफू जता गयो, त्यतै लिएर जान्थे। अनु १३ महिनाकी थिइन्, जीवनको ‘झरनाको चिसो पानी’ गीतको भिडिओमा बच्चाको भूमिकामा पर्दामा देखापरिन्।
घरमा संगीतकै मात्र माहोल हुन्थ्यो।
‘बुबालाई सबैले चिनेको, सम्मान गरेको देख्दा म दंग पर्थें,’ अनु सुनाउँछिन्।
बुबा र आमासँगै आफू पनि संगीतमा रमाउन थालिन् अनु। उनको ध्यान पनि जनवादी गीततर्फै जान थाल्यो। तीनचार वर्षको छँदा उनका तोते बोलीले बाबुकै गीत गुन्गुनाउन थालिहाले, ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको...।’
कक्षा ७ मा पढ्दै गर्दा अनुले गितार बजाउन जानिन्। गितारसँगै गीतमा घण्टौ भुलिरहने उनको बानी थियो। गीत बजाउँदै पढ्ने उनको बानी छ।
‘म्युजिक नबजाई पढाइमा फोकस गर्नै सक्दिनथेँ,’ अनु सुनाउँछिन्।
जीवन र नीलिमाले अनुलाई सर्वहाराको कथा कहिल्यै सुनाउनु परेन।
‘हामी जहाँजहाँ, डाँडाकाँडा जान्थ्यौं। छोरी त्यहीँ पुग्थी। हामी भारतका गल्लीमा पुग्दा पनि त्यहीँ पुगेकी हुन्थी। मानिसका दुःखसँग उनी आफैंले साक्षात्कार गरेकी छन्, उनका आँखामै ती दृश्य छन्,’ जीवन सुनाउँछन्।
सकसपूर्ण यात्रामा पनि उनी हिँडेकी छन्।
‘एकपटक बागलुङ जाँदा अफ्ठ्यारो बाटोका कारण धेरै दुःख पायौं। हामी लड्दै लड्दै हिँडेका थियौं। मलाई डर लागेको थियो,’ अनु सुनाउँछिन्।
तर, कोरोनाका कारण गाउँ–गाउँमा जाने अभियान बन्द भयो। सबैतिर महोत्सव र कार्यक्रम ठप्प भइगए। त्यसपछि भने घरको कोठामा सीमित हुनुपर्दा अनुलाई नरमाइलो लाग्यो। अघिल्लो सालको लकडाउनमा अनुले प्रस्ताव गरिन्, ‘तपाईंहरूको पनि फुर्सद भयो। गीत गाएर युट्युबमा राखौँ न।’
छोरीको प्रस्तावले जीवन र नीलिमा पुलकित बने। त्यसपछि कोठामा अगाडि मोबाइल राखे र परिवार मिलेर पुराना गीतहरू लाइभ गाए। रेकर्ड गरे, युट्युबमा अपलोड गरे।
लकडाउनमा हामीलाई यसले सिर्जनशील बनायो। व्यस्त बनायो,’ नीलिमा सुनाउँछिन्।
***
अनु अहिले संगीतमै स्नातक गरिरहेकी छन्। उनको साधना र संगीतप्रतिको लगाव देख्दा दंग छन्, नीलिमा र जीवन। अनुले बुबाआमाको सांगीतिक यात्रालाई मात्र हैन, उनीहरूको सादगीपूर्ण जीवनलाई पनि पछ्याएकी छन्। अनुलाई थाहा छ, ‘बा आमाले चाहेको भए धन–सम्पत्ति प्रशस्तै पाउँथे। सुखसयलमा जीवनयाप गर्न सक्थे।’
‘तर मलाई उहाँहरूको स्वाभिमानदेखि गर्व लाग्छ। त्यसैले अभाव भए होलान्, तर फिल गरिनँ कहिल्यै,’ अनु भन्छिन्।
जीवनलाई भने यतिबेला केही खड्केको महसुस भइरहेको छ।
‘उसलाई गीतहरू स्टुडियोमा राम्रोसँग रेकर्ड गरेर राख्न चाहना छ कि जस्तो लाग्छ। तर एउटा गीत रेडर्क गर्दा ६० हजारभन्दा बढी लाग्छ। त्यो क्षमता हामीसँग छैन,’ उनी सुनाउँछन्।
‘यति गर्नु नै धेरै हो नि बाबा। त्यस्तो केही महसुस भएको छैन,’ अनु थपिहाल्छिन्।
‘तर मन त होला नि स्टुडियोमा रेकर्ड गर्न, है?’
‘मन त हुन्छ। मेरो स्वर सानो छ। लाइभ रेकर्ड गर्दा साउन्ड सानो आयो भनेर धेरैले कमेन्ट गर्नु भो। तर... तर, पनि केही छैन। जति सकिन्छ त्यति गर्ने हो।’
अनुको जवाफले नीलिमा र जीवनको मुद्रामा भावुकता थपिदियो। जीवनले ठट्यौली लबजमा छोरीलाई भने, ‘अभावमा पनि त खुसी हुनुपर्छ। हैन त छोरी !’
‘हो नि बाबा,’ अनु बाबातिर हेर्दै मुसुक्क हाँसिन्।
Shares
प्रतिक्रिया