कला


काठमाडौँ कलिङ साहित्य महोत्सव सुरु

काठमाडौँ कलिङ साहित्य महोत्सव सुरु

नेपालखबर
जेठ २३, २०८३ शनिबार १४:३४, काठमाडौँ

काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण सुरू भएको छ। शनिबार ललितपुरको होटल हिमालयमा दुई दिने महोत्सवको पूर्वप्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी छन्।

नेपाल र भारतका साहित्यकारका लागि बहसको साझा थलोका रुपमा विकसित महोत्सव उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री कार्कीले आफू साहित्यबाट टाढा नरहेको बताइन्। साहित्य आफ्नो लेखन यात्रा, समाज, जीवन र व्यक्तिगत अनुभवसँग गहिरो रूपमा जोडिएको बताइन्।

‘म साहित्यभन्दा टाढा छैन। मैले सन् १९९० मा तारा मुख्य पात्र बनाएर एउटा उपन्यास लेखेँ। मैले अशेष मल्लका कविताहरू हिन्दीमा अनुवाद गरेकी छु,’ कार्कीले भनिन्। 

विश्वप्रसिद्ध उपन्यास ‘द गुड अर्थ’ की लेखिका पर्ल एस. बकले चीनको गरिबी, खडेरी र जनजीवनबारे सूक्ष्म अवलोकनका आधारमा लेखेझैँ आफूले पनि आफ्ना अनुभव र अवलोकनलाई साहित्यमा रूपान्तरण गरेको स्मरण गरिन्। साहित्य केवल कल्पनाको उपज नभई समाज, अनुभव र मानवीय संवेदनाको अभिव्यक्ति भएको बताउँदै यही विश्वासले आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहेको उनको भनाइ थियो। 

त्यस्तै महोत्सव निर्देशक रञ्जना निरौलाले साहित्य केवल शब्द र पुस्तकमा सीमित नरहेको बताउँदै यसले विचार, संस्कृति, स्मृति, संवेदना र मानवीय सम्भावनाको साझा उत्सव मनाउने अवसर प्रदान गर्ने बताइन्। उनले महोत्सव केवल साहित्यिक कार्यक्रमका लागि गरिएको जमघट नभई मानिसहरूबीच आत्मीयता र समझदारी बढाउने साझा मञ्च भएको उल्लेख गरिन्।

‘साहित्यको मूल शक्ति नै यही हो, यसले भूगोलका सीमाहरू पार गर्छ, भाषागत भिन्नतालाई आत्मीयतामा रूपान्तरण गर्छ र मानिसलाई मानिससँग जोड्ने अदृश्य पुल निर्माण गर्छ’, उनले भनिन्।

महोत्सवको चौथो संस्करणमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रमहरू आयोजना गरिने महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले जानकारी दिए।

महोत्सवमा यस पटक सहभागीमध्ये चर्चित गायिका ईला अरुण, लेखक प्रतिभा राय, चर्चित अभिनेता, गीतकार तथा लेखक पियुष मिश्रा, लेखक एवं चलचित्रकर्मी राज शेखर, आध्यात्मिक व्यक्तित्व आचार्य प्रशान्तलगायत छन्।

त्यस्तै, विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जयप्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेतले महोत्सवमा सहभागिता छन्।

भारतका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवमध्ये एक केएलएफले सन् २०२२ देखि काठमाडौँ संस्करण आयोजना गर्दै आएको छ। यसको उद्देश्य नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक, सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई अझ बलियो बनाउनु रहेको आयोजकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad