विवादित शब्दसहितको तीजसम्बन्धी म्युजिक भिडियो ल्याएका दुर्गेश थापा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले संस्थागत बहिस्कारमा परेका छन्। मोडलसमेत रहेका उनलाई आइतबार बसेको संस्थाको केन्द्रीय कमिटीको बैठकले बहिष्कारको निर्णय लिइसकेको छ।
प्रतिष्ठानका उप-महासचिव एवम् विकृति विसंगति न्यूनीकरण विभाग समिति संयोजक शिव हमालले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने निर्णय लिइसकेको बताएका छन्।
दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेदेखि विवादमा परिरहेका थिए।
प्रतिष्ठनाले उक्त गीत ल्याउनुअघि नै ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाइसकेको थियो। तर पनि उनले प्रतिष्ठानको आग्रह बेवास्ता गर्दै गीत सार्वजनिक गरिसकेका छन्।
प्रतिष्ठानले बहिष्कारको निर्णय लिएपछि दुर्गेशले बुधबार सामाजिक सञ्जलमा आफ्ना भनाइ सार्वजनिक गरेका छन्। जहाँ उनले आफूलाई नियतवश प्रतिबन्ध र बहिष्कार गरिएको गुनासो गरेका छन्।
'कसैको बाँच्न पाउने अधिकार नखोसियोस्, आज मेरो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइरहँदा दोहोरीका सुन्नै नसकिने छाडा गीतहरूलाई स्वतन्त्र छोडिएको छ', उनले भनेका छन्, 'मेरो गीत न लोक न दोहोरी तापनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लील परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ। जुन दु:खद छ। परिवर्तन स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठैबाहेक केही भन्न सकिनँ। प्रतिष्ठानका सभ्य र संस्कारिक ४१ हजार सदस्यहरूको जीवन हजार वर्षको होस् शुभकामना!'
उनले प्रतिष्ठानमाथि प्रश्न मात्रै उठाएका छैनन्, अन्य कलाकार गीतबारे पनि सोधेका छन्। 'पुनश्च: हिजो बद्री पंगेनीले पिएन क्याम्पस, बेलौती नम्बर वान, ससुरालीमा ल्याए। हिजो प्रजापति पराजुलीले लाल साडी मे हिन्दी भाषामा गाएका छन्। कोमल वलीको पोइला जान पामदेखि कुमार बस्नेतका छोरीभन्दा आमा तरुनी', उनले भनेका छन्, 'सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निवर्मान अध्यक्ष हुन्। यस्ता धेरै उदाहरण छन्, जो आफैँमा विरोधाभाषपूर्ण छन्।'
प्रतिष्ठानले दुर्गेशको गीत तीजको मर्म विपरीत रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने निचोड निकालेको थियो। उसले आपत्तिजनक शब्दहरु फेरेर मात्रै उक्त गीत ल्याउन आग्रहसहित दुर्गेशलाई पत्र काटेको थियो।
आफूहरुको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कार गरेको हो। दुर्गेशको गीतले आफूहरुको अपमान भएको भन्दै महिला समूहहरुले पनि आपत्ति जनाएका छन् । उनीहरु प्रहरीमा पनि जाँदैछन्।
Shares

प्रतिक्रिया