नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएकोबारे प्रष्टिकरण दिएको छ। प्रतिष्ठानले मैतिदेवीस्थित कविकुञ्जको नाममा चर्चित देवकोटाको घरलाई पुन:निर्माण गरी संग्रहालय बनाउने भन्दै भत्काएको थियो। घर भत्काएपछि प्रतिष्ठानले प्रशस्तै आलोचना खेपिरहेको ।
प्रतिष्ठानले उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी संग्रहालय निर्माण प्रक्रिया अगाडि बढाइएको बताएको छ। प्रज्ञा प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको बताइएको छ।
'त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको यथार्थ अनुभव त्यहाँभित्र पसेका प्राज्ञजन, देवकोटा परिवारजन, प्राविधिक इन्जिनियरहरू, सञ्चारकर्मी मित्रहरूलगायत सबैलाई भएकै छ,' विज्ञप्तिमा भनिएको छ, 'प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो।'
यो पनि: अब आफ्नै संग्रहालयमा बाँच्नेछन् लक्ष्मीप्रसाद देवकोटा
यस्तो छ विज्ञप्ति:
महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई नेपाल प्रज्ञा–प्रतिष्ठानका नाममा हकभोगमा आएको घर ‘कविकुञ्ज’ र प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूबाट आएका समाचारहरूका सन्दर्भमा यस प्रज्ञा–प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ३०, मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई रु. २ करोड ५० लाख उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा ल्याइएको बेहोरा सम्पूर्ण बौद्धिक जगत् र सञ्चार माध्यमहरूलाई अवगतै छ । उक्त घर–जग्गामा गुठी संस्थानको स्वामित्व यथावत् राख्दै मोहियानी हकभोग मात्र देवकोटा परिवारबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएको पनि जानकारी नै छ।
उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो । प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो । सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ। प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने छ । प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहने छ। परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई/तीनओटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ । सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन्। पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् । दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वान्हरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू/शोधपत्रहरू रहने छन् । तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ । साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने छ।
अन्त्यमा नेपाल सरकारको सहयोग, महाकवि देवकोटा परिवारको सहमति र नेपाल प्रज्ञा–प्रतिष्ठानको सक्रिय पहल तथा व्यवस्थापनबाट महाकविको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई चिरस्मरणीय बनाउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण प्रक्रिया अगाडि बढाउन सकिएको जानकारी गराउँदछौँ । यस सङ्ग्रहालयको निर्माणका सन्दर्भमा चासो र चिन्ता व्यक्त गर्ने सम्बद्ध सबैमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौँ । साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको र उहाँले आधा जीवनभन्दा बढी समय व्यतीत गरेको तथा पुराताŒिवक सम्पदाका रूपमा रहेको काठमाडौँको धोबीधारास्थित मूल घरलाई समेत वास्तविक साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने गरी लाग्न देवकोटाप्रति सम्मान व्यक्त गर्ने लेखक/साहित्यकार, बुद्धिजीवी, सम्पदा संरक्षण अभियन्ता, पत्रकारलगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोधसमेत गर्दछौँ।
Shares

प्रतिक्रिया