'द भ्वाइस अफ नेपाल सिजन–३' का विजेता गायक किरण गजमेरले नेपालमा बसोबास गरिरहेका भुटानी शरणार्थीका लागि एम्बुलेन्स किनेर सहयोग गर्ने घोषणा गरेका छन्।
ज्वाला राई, तारा श्रीष मगर र आर्यन तामाङलाई पछि पार्ने भ्वाइसको उपाधि जितेपछि उनले आफूले जितेको २५ लाख रुपैयाँमध्येबाट पूर्वी नेपालका भुटानी शरणार्थी पश्चिम नेपालका नागरिकका लागि एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन्।
नेपालमा शरणार्थी जीवन बिताउँदा कयौँ दु:ख भोगेको बताउँदै उनले समयमा एम्बुलेन्स नआउँदा हजुरआमालाई गुमाएको पनि सम्झिए। त्यहीकारण एम्बुलेन्स अभावमा ज्यान गुमाउन नदिन जितेको रकमले त्यो सहयोग गर्न लागेको उनले बताए।
'हिजोको दिनमा पनि मागेर चामल थापेर आएको व्यक्ति हुँ म। भलै अहिले थोरै शरणार्थी जीवनभन्दा अमेरिकामा राम्रो छ मेरो जीवन। हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठीकै थिएँ', उनले भने, 'अमेरिका गएपछि पनि म धनी मान्छे होइन। मेरा आमाबुवा साधारण जागिर गरेर हामीलाई पालिरहनु भएको छ। जितेको रकमले शरणार्थीका लागि एउटा र पश्चिम नेपालका लागि अर्को एम्बुलेन्स सहयोग गर्छु।’
उनले धेरै शरणार्थीहरु अन्य देशमा गएर बाँकी रहेकाहरुको अवस्था दयनीय रहेको पनि बताए। 'शरणार्थी शिविरमा ७/८ हजार जना बाँकी हुनुहुँदो रहेछ। तर अहिले त्यहाँ शिक्षा स्वास्थ्य केही पनि छैन', उनले भने, 'मेरी हजुरआमा पनि समयमा एम्बुलेन्स नआउँदा गुमाएको थिएँ। पूर्व र पश्चिम दुवैतिर दुईवटा एम्बुलेन्स किन्ने छु।'
उनले पुरस्कार पाएर बाँकी रहेको एक हजार रुपैयाँ चाहिँ ममीलाई लगेर जाने बताए। 'ट्रफी त अमेरिका लान्छु नै! सबै खर्च गरेर बाँकी रहेको एक हजार रुपैयाँ चाहिँ ममीलाई दिनेछु', उनले भने, 'यो सरस्वतीको उपहार हो, त्यसैले एक हजार रुपैयाँ अमेरिका लिएर जान्छु। एम्बुलेन्स किनेर उब्रिएमा केही रकम कोभिड भ्याक्सिनका लागि वृद्ध वृद्धालाई सहयोग गर्छु।'
अन्तिम चारमा पुगेकामध्ये एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा 'द भ्वाइस अफ नेपाल सिजन–३'को उपाधि किरणको पोल्टामा गएको हो। उपाधि जितेपछि किरणले विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिएका छन्।
संयुक्त राष्ट्र संघीय कार्यक्रम अन्तर्गत तेस्रो देशमा बसोबासका क्रममा उनी अहिले अमेरिकामा छन्। किरणको जन्म झापाको खुदुनाबारीस्थित भुटानी शरणार्थी शिविरमा भएको थियो।
Shares

प्रतिक्रिया