मनोज पण्डित निर्देशित फिल्म ‘एक’ ओटिटी प्लाटफर्ममार्फत बिहीबार रिलिज भएको छ।
कोरोना महामारीका कारण सिंगो नेपाली चलचित्र उद्योग ठप्प भएको बेला ‘एक’लाई जोखिम मोलेरै डिजिटल प्लाटफर्ममार्फत रिलिज गरिएको निर्देशक पण्डितले बताएका छन्।
चलचित्रलाई दर्शकहरुले डिजिटल माध्यमबाट घरमै बसेर हेर्न सक्नेछन्। चलचित्र ‘एक’ मधेश टुक्र्याउनेविरुद्धको कथा हो।
एक्सन जनराको उक्त चलचित्रमा कलाकार विशाल पोखरेल गुप्तचरको भूमिकामा छन्। उनीसहित प्रमोद अग्रहरि र ज्योतिष्ना योगी मुख्य भूमिकामा छन्।
कलाकार पोखरेलले यसअघि पण्डितसँग टेलिसिरिज ‘जीवनचक्र’मा सहकार्य गरिसकेका छन्।
को हुन् निर्देशक पण्डित?
पण्डित जोखिम मोल्न रुचाउने फिल्ममेकर हुन्। उनले यसअघि निर्माण गरेका ‘ग्रेटर नेपाल’, ‘दासढुंगा’ र ‘वधशाला’ दर्शक तथा समीक्षकको रुचाइमा परेका सिनेमा हुन्।
यद्यपि, यी सिनेमाले राज्यपक्षबाट विभिन्न अवरोध समेत खेप्नुपर्यो। बाल यौन दुर्व्यवहारको विषयमा निर्माण गरिएको ‘छायाँ’ पनि निर्देशक पण्डितको रुचाइएको फिल्म हो।
तर, ३ वर्षअघि निर्माण गरिएको फिल्म ‘खाग’ भने दर्शक र समीक्षकको आँखामा पर्न सकेन।
निर्देशक पण्डितले कर्णालीका दुर्गम जिल्लामा गएर निर्माण गरेको टेलिसिरिज ‘जीवन चक्र’ अहिले नेपाल टेलिभिजनबाट हरेक आइतबार प्रसारण भइरहेको छ।
झण्डै ६० भन्दा बढी फिल्म रिलिजका लागि उपयुक्त समय पर्खेर बसिरहेको बेलामा निर्देशक पण्डितले भने ‘एक’लाई डिजिटल माध्यमबाट प्रसारण गर्ने आँट गरे।
अधिकांश निर्माता तथा निर्देशक यो माध्यमबाट सिनेमा रिलिज गर्न हच्किएका छन्। पण्डित भन्छन्, ‘हामीले यो चलचित्र क्षेत्रमा क्रान्तिको सुरुवात गरेका हौँ।’
Shares
प्रतिक्रिया