नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ले प्रदर्शन मिति तय गरेको छ। उदय सुब्बा निर्देशित यो चलचित्र फागुन २७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ।
निर्माण पक्षले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। चलचित्र ‘आकाशे खेती’मा गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, रवीन्द्र झा, रमा लिम्बु, जयनन्द लामा, शिशिर बाङ्देल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन।
सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका शिर्ष कलाकार अटाएका छन। चलचित्रले मेहनत नगरी पैसा कमाउन खोज्ने युवाको सपनाको कथालाई चलचित्रमा देखाउन खोजेको निर्देशक सुब्बाले जानकारी दिए । चलचित्रमा केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ र दिलप्रकाश याक्सोले सयुक्त रुपमा लगानी गरेका छन्।
उदय सुब्बाको कथा रहेको यो चलचित्रको संवाद विल्सनविक्रम राईले लेखेका हुन्। एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र विक्रम डिसीले छायांकन गरेका हुन्।
सुजन बडालको सम्पादन रहेको चलचित्रमा राजु किरातीको द्वन्द्व रहेको छ। चलचित्रमा विकास चौधरी र बादल लिम्बुको संगीत समावेश गरिएको छ।
Shares

प्रतिक्रिया