कला


फिल्म खेल्ने सपना हुनेले थिएटरमा नअलमलिनू: विपिन कार्की

फिल्म खेल्ने सपना हुनेले थिएटरमा नअलमलिनू: विपिन कार्की

नेपालखबर
पुस २९, २०७८ बिहिबार ११:५४, काठमाडौँ

अभिनेता विपिन कार्कीले फिल्ममा अभिनय गर्न चाहनेले थिएटरतिर नअलमलिन सुझाव दिएका छन्। उनले आफ्नै अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहनेले फिल्मकै माध्यम समात्न सुझाव दिएका थिए। 

‘हामीलाई पनि सुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन। तर दुवैमा व्यापक भिन्नता रहेछ। अहिले  छड्केको विन्दु हेर्दा मैले कति धेरै लाउड गरेछु भन्ने महसुस हुन्छ’, मंगलबार ओस्कार इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औँ ब्याचका विद्यार्थीसँग अन्तरक्रिया गर्दै विपिनले यस्तो धारणा राखेका थिए। 

गुरुकुल नाटक घरमा नाटकको प्रशिक्षण लिएका विपिनले ‘आचार्य’ फिल्ममा सानो भूमिकामा अभिनय गर्दै ठूलो पर्दाको यात्रा सुरु गरेका थिए। ‘लुट’मा पनि सानो भूमिकामा मै देखिएका विपिनले ‘छड्के’ गरेको विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए। तर अलि पछि रिलिज भएको ‘पशुपतिप्रसाद’मा गरेको भष्मे डनको भूमिकाले भने विपिनलाई अभिनयमा बहुआयामिक कलाकारको रुपमा स्थापित गरेका थिए। 

विद्यार्थीसँगको कुराकानीमा उनले आफूले गर्ने चरित्रको तयारीदेखि फिल्ममा चाहिने समर्पणसम्मको चर्चा गरेका थिए। 

आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ ? भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आआफ्नै तरिका हुन्छ। म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु। म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ। यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु।’

उनले फिल्ममा करियर बनाउन जिन्दगी नै यही भनेर लाग्नुपर्ने पनि विद्यार्थीलाई सुझाएका थिए।

दुई घन्टा लामो अन्तरक्रियामा गुरुकुलका दिनदेखि अहिलेका दिनसम्मको चर्चा गरेका विपिनले फिल्ममा सफल हुन साना साना लक्ष्य लिन र ती पूरा भएपछि अर्को लक्ष्य लिन सुझाएका थिए।

‘सुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो। तर सौगात दाइ (सौगात मल्ल) फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो। फिल्ममा पनि मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा पनि खुसी थिएँ। मेरो तपाईंहरुलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,’उनले विद्यार्थीलाई सुझाएका थिए। 

ओस्कार कलेजले कलेजमा भर्ना भएका विद्यार्थीलाई फिल्म उद्योगका अनुभवीको अनुभव सुनाउन दुई हप्तादेखि फिल्मको विभिन्न विधाका व्यक्तिलाई अन्तक्र्रियामा निम्त्याउँदै आएको छ।

चार हप्तासम्म चल्ने यो अन्तरक्रियामा यसअघि नीर शाह, सुरक्षा पन्त, विपिन स्थापित, मुकुन भुसाल, स्वस्तिमा खड्का, प्रदीप भट्टराई, निरञ्जनराज भेटवालले विद्यार्थी माझ आफ्नो अनुभव बाँडिसकेका छन्। 

कलेजका एकेडेमिक कोअर्डिनेटर मनोजबाबु पन्तले नयाँ विद्यार्थीलाई भविष्यमा उनीहरुले काम गर्ने उद्योगको विषयमा पर्याप्त जानकारी होस् भन्ने उद्देश्यले आफ्नो विधामा स्थापित फिल्मकर्मीलाई निम्त्याएको बताए। 

‘किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि विद्यार्थीले हासिल गरुन् भनेर हामीले उद्योगका प्रोफेसनललाई विद्यार्थीसँग साक्षात्कार गराएका हौँ। यो अवसर भोलिका दिनमा एक अर्कालाई जोड्न सेतुका रुपमा काम गर्छ कि भन्ने पनि हाम्रो विश्वास हो,’ पन्तले भने। 

ओस्कार कलेजको यो १६ औँ ब्याच हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad