कला


भूपि शेरचनको कविताबाट प्रभावित ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

भूपि शेरचनको कविताबाट प्रभावित ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

नेपालखबर
फागुन १२, २०७८ बिहिबार १०:३२, काठमाडौँ

चैत ४ गतेबाट सार्वजनिक हुने फिल्म ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।

दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित फिल्म तयार गरेको जानकारी गराए।

‘शंकर लामिछानेले विम्ब प्रतिविम्ब भन्ने लेखमा भूपिका कविताका बारेमा लेख्ने क्रममा भन्नु भएको छ, भूपिको लेखनको प्रभाव यो पुस्तामा मात्र होइन आउँदा धेरै पुस्तामा देखिन्छ। अब त्यो पुस्तामा म पनि परेँ,’ दिन्सको भनाइ थियो। 

उनले गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्, फिल्मले यही विषयलाई प्रस्तुत गरेको जानकारी गराए।

फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए।

‘नेपाली सिनेमा हेर्दा सधैँ केही न केही छुटेजस्तो भइरहन्थ्यो। नछुट्ने गरी बनाउन त भन्ने सपनामा यो फिल्म तयार भएको हो,’उनले भने, ‘यो फिल्ममा पनि कमजोरी छैनन् भनेर भन्दिन म। तर हामीले एउटा ईंटा थप्ने मनसायले नै यो फिल्म बनाएका छौँ।’

फिल्मका मुख्य अभिनेता दिव्य देवले फिल्म निर्माणका रोचक कथा सुनाउँदै आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेको जानकारी दिए।

थिएटरबाट फिल्ममा आएका उनले कतिपय फिल्म गर्दा सहकर्मीबीच आत्मीयता स्थापित गर्ने मौका नपाएको स्मरण गर्दै उनले यो फिल्ममा भने त्यो मौका पाएको र सम्पूर्ण सहकर्मीसँग परिवारको जस्तो सम्बन्ध स्थापित भएको स्मरण गरेका थिए।

‘यो फिल्ममा म ड्राइभरको भूमिकामा पनि छु। सुटिङ सेटमा यस्तो भयो कि म साथीहरू सबलाई घर घर छाड्थेँ र आफू अन्तिममा घर जान्थेँ। यो रमाइलो फिल्ममा पनि देख्न सकिन्छ,’ उनले भने।

सृष्टि श्रेष्ठले फिल्मभित्र शालीनताको चरित्रको निर्वाह गरेकी छिन्। उनले फिल्ममा काम गर्दा व्यक्तिगत रुपमा पनि आफ्नो व्यक्तित्वमा परिवर्तन महसुस गरेको बताएकी थिइन्। 

फिल्म भित्र सृष्टि इन्स्टेलसन आर्टिस्टको भूमिकामा छिन्। यसैगरी फिल्मका अन्य अभिनेता सुशील पाण्डे, नविन लम्साल र निकुन श्रेष्ठले पनि फिल्मको हिस्सा हुन पाउँदो खुसी लागेको अनुभव सुनाएका थिए। निकुन श्रेष्ठले सात वर्षपछि पर्दामा आउन लागेको बताउँदै आफूलाई डाउनलोड गल्लीको रैथानेको रुपमा पर्दामा देख्न सकिने जानकारी गराए।

‘म त्यस्तो युवाको प्रतिनिधित्व गर्छु जसका सपना पनि पाइरेट छन्,’ उनको भनाइ थियो। दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्।

निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्। चलचित्रको सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ। उज्वल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्। 

हेर्नुहाेस् ट्रेलर: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad