ad ad

कला


पूर्वराजा ज्ञानेन्द्र हारेर पनि जित्ने बाजीगरजस्ता : रिमा विश्वकर्मा

पूर्वराजा ज्ञानेन्द्र हारेर पनि जित्ने बाजीगरजस्ता : रिमा विश्वकर्मा

रिमा विश्वकर्मा
मंसिर २, २०७६ सोमबार ११:१५,

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलमास्थित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर नाचेको भिडियो भाइरल बन्यो। उनी नाचेको भिडियो र तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। शाह एलओडी पुग्दा अभिनेत्रीहरु रिमा विश्वकर्मा र केकी अधिकारी पनि त्यहीँ थिए। पूर्वराजाको नजिकैको टेबलमा बसेका उनीहरुले केही समय गफगाफ पनि गरे।

शाहलाई भेटेकी रिमाले पूर्वराजा आफूले सोचेभन्दा बिल्कुल फरक पाएको नेपालखबरसँग बताइन्।

उनको अनुभव उनकै शब्दमा:

रियालिटी शो ‘कमेडी च्याम्पियन’को लोकेसन हेर्न हामी त्यहाँ पुगेका थियौँ। रातिको १० बजेतिर एलओडीको टीमसँग हाम्रो मिटिङ चलिरहेको थियो। मिटिङ सकिएर बाहिर निस्कने समयमा पूर्वराजा ज्ञानेन्द्र शाह आउन लागेको थाहा भयो। त्यसपछि हामी उहाँलाई भेटेरमात्र जाने भनेर बस्यौँ।

हामी मिटिङबाट निस्किएको झन्डै २० मिनेटमा उहाँहरु आइपुग्नुभयो। उहाँसँग पूर्वयुवराज्ञी हिमानी शाह र परिवारका अन्य केही सदस्य पनि आउनुभएको थियो।

नेपाली गीत बजिरहेको थियो। उहाँहरु एलओडी प्रवेश गर्नासाथ त्यहाँको माहोल निकै फरक देखियो। कुनै ठूलो सेलिब्रेटी सार्वजनिकस्थलमा गएको जस्तो माहोल बन्यो।

हामीजस्ता कलाकार सार्वजनिकस्थलमा जाँदा पनि भीड लाग्छ। पूर्वराजाका लागि जम्मा भएको भीड पनि उहाँप्रतिको सम्मानका लागि थियो भन्ने अनुभूति मलाई भयो।

उहाँहरु पनि हामीनजिकै बस्नुभयो। करिब एक घण्टा हामी नजिकै बस्यौँ होला। १५–२० मिनेट त हामीबीच कुराकानी पनि भयो। पूर्वराजाले हामी कलाकार भन्ने थाहा पाएपछि कुराकानी गर्न चाहनुभयो।

हामी पनि उहाँलाई कुरेर बसेका थियौँ। प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा खुसी लाग्यो।

पूर्वराजा, हिमानीलगायतले हामीसँग नेपाली फिल्म क्षेत्र र कलाकारबारे कुराकानी गर्नुभयो। केकीलाई त उसको फिल्म हेरेको पनि भन्नुभयो। आफूले नेपाली फिल्महरु हेर्ने गरेको बताउनुभयो।

तपाईंहरु सिने क्षेत्रमा खटिइरहनुभएको छ, राम्रो गर्नुभएको छ, अझै राम्रो गर्नुस् भन्नुभयो। उहाँले हामीलाई पछिल्लो समय के काममा आबद्ध हुनुहुन्छ भनेर पनि सोध्नुभयो। हामीले ‘कमेडी च्याम्पियन’बारे बतायौँ। ‘ए नेपालमा त कमेडी चल्छ’ भन्दै उहाँले सफलताको शुभकामना दिनुभयो।

जीवनमा पहिलो पटक मैले पूर्वराजासँग साक्षात्कार गर्ने अवसर पाएको थिएँ। अर्थात्, उहाँलाई चिन्ने मौका पाएँ। त्यसअघि उहाँबारे बाहिर आएका कुराहरु, अरुले भनेको र सुनेका कुराहरुका आधारमा मैले उहाँप्रतिको धारणा बनाएको थिएँ।

उहाँलाई भेटेपछि अड्कलबाजीका भरमा बनाएको सोच नै परिवर्तन भयो। उहाँ निकै सकारात्मक हुनुहुँदो रहेछ। हिन्दीमा ‘हारकर जित्नेवालोँ को बाजीगर कहते हैँ’ भन्ने एउटा भनाइ छ नि! मलाई उहाँ त्यस्तै लाग्यो। म पहिलो भेटमै उहाँबाट ‘इन्स्पायर्ड’ भएँ।

उहाँ मलाई ‘ग्राउन्डेड’ र ‘हम्बल’ लाग्यो। उहाँको ‘पर्सनालिटी’ले उहाँप्रतिको मेरो दृष्टिकोण नै परिवर्तन गरायो। हामीले उहाँसँग फोटो पनि खिच्यौँ।

ममात्र होइन उहाँ त्यहाँ रहँदासम्म सबै जना उत्साहित हुनुहुन्थ्यो। निकै भीड बढेको थियो। उहाँहरुले आफूहरु पूर्वराजपरिवारको सदस्य भएको कुनै घमण्ड राख्नुभएन। नाच्नुभयो, खुल्नुभयो, हाँस्नुभयो र रमाउनुभयो।

सम्बन्धित : 

नाइट क्लबमा नाच्दै पूर्वराजा ज्ञानेन्द्र

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .