कला


कलाकारको ‘मेयर मोह’ : कोही एक्लै प्रचार गर्दै, कोही दलको दैलो चाहर्दै

कलाकारको ‘मेयर मोह’ : कोही एक्लै प्रचार गर्दै, कोही दलको दैलो चाहर्दै

फाइल तस्बिर


राधिका अधिकारी
चैत २४, २०७८ बिहिबार १२:२, काठमाडौँ

अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार बन्ने भएका छन्। 

पत्रकारसमेत रहेका स्वागत नेपालले नेतृत्व गरेको ‘उन्नत लोकतन्त्र पार्टी’ बाट काठमाडौं महानगरको मेयर बन्न तयार भुवन केही समयदेखि राजनीतिक परामर्शमा थिए। 

२०७० सालको संविधानसभा निर्वाचन ताका एमाले प्रवेश गरेका भुवन राजनीतिबाट हार खाएर बसेका थिए। 

दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट टिकट दिने आश्वासनसहित प्रचारमा लगाएर एमालेले अन्तिममा धोका दिएपछि राजनीतिबाट गुमनाम उनले फेरि सक्रियता बढाएका हुन्। 

केही दिन देखि राजनीतिक भेटघाटमा सक्रिय रहेका भुवनले राप्रपा अध्यक्षलाई पनि भेटेका थिए। अन्ततः उनी ‘उन्नत लोकतन्त्र पार्टी’बाट फेरि राजनीतिमा सक्रिय बन्ने भएका छन्। 
‘उन्नत लोकतन्त्र पार्टी’को केन्द्रीय कार्य समितिको बैठकले उनलाई मेयर पदमा उठाउने निर्णय गरेको हो।

अभिनेता केसी मेयरमा उम्मेदवारी दिन तयार एक्ला कलाकार होइनन्। यतिबेला मेयर पदमा गैरराजनीतिक वृत्तबाट उठ्ने मानिसको संख्या बढ्दै गएको छ। 

स्थानीय तह निर्वाचनको घोषणा भएसँगै लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाबाट मेयरका लागि उम्मेदवारी दिने घोषणा गरे। 

उनले यसअघि त्यहाँका उम्मेदवारहरूले नसक्ने काम गर्छु भनेर जनतालाई ढाँटेको बताए। पौडेलले युवाहरुलाई स्थानीय सरकारको नेतृत्वमा आह्वान गर्दै ‘अटेरी अभियान’ नै चलाउँदै आएका छन्।

पूर्व मिस नेवाः सुनिता डंगोलले पनि काठमाडौं महानगरपालिकाकै मेयर बन्ने सपना बुनेकी छन्। 

उनले आउँदो निर्वाचनका लागि काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरिसकेकी छन्। मेयर बन्ने सपनासहित प्रचारमा लागेकी सुनिताले चुनावी घोषणापत्रमा समावेश गर्ने एजेण्डामा सुझाव मागेकी छन्। 

उनले आफू निर्वाचित भए काठमाडौंलाई सुन्दर र व्यवस्थित बनाउने सपना बाँडिरहेकी छिन्। आफूजस्तै युवाहरुलाई आफूलाई सक्रिय साथ दिन अपिल पनि गर्दै आएकी छिन्। 

आफू यहीँ जन्मिएर हुर्किएकाले पनि यहाँको धेरै कुराको बारेमा आफूलाई जानकारी भएको उनको दाबी छ। 

र्‍यापर बालेन शाहले पनि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेको धैरै भैसक्यो। बालेनले उम्मेदवारी दिने घोषणा गरेसँगै कलाकारहरु खुलेर उनको समर्थनमा लागेका छन्। गायक तथा संगीतकार स्वप्निल शर्माले ‘आफू बालेनको झोला बोक्न तयार रहेको’ घोषणा नै गरेका छन्। 

अभिनेता निश्चल बस्नेतले केही गर्छु भनेर युवा जोशसहित राजनीतिमा आउन खोजेका बालेनलाई साथ दिन अपील नै गरेका छन्। 

बालेनले भने आफूले ब्याचलर्स पढ्दादेखि नै काठमाडौंको मेयर बन्ने सपना देखेको बताउँदै आएका छन्। 

उनले ७ सय ५३ स्थानीय तहमा ७० जना मात्रै युवा उठ्ने हो भने पनि देशमा ठूलो क्रान्ति हुने बताएका छन्। 

पेशाले इञ्जिनियर र रुचीले गायक रहेका बालेनले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।

स्थानीय चुनाव आउन केही दिन बाँकी हुँदा देशका मुख्य-मुख्य महानगरपालिकाका लागि मेयर बन्ने आकांक्षी संख्या बढ्दै गएको छ। 

देशका ठूला शहरको मेयर बन्न राजनीतिक तथा गैरराजनीतिक वृत्तबाट उम्मेदवारी दिन चाहनेको होडबाजी देखिएको छ। 

खुलेर मेयरमा आफ्नो दाबी गरिरहेका कलाकारमा मात्रै होइन, खुल्न नसकेका कलाकारमा पनि मेयर मोह राम्रैसँग देखिएको छ।

यो मोह अभिनेता राजेश हमालमा पनि देखिएको छ। हमालले ‘म पनि मेयरमा उठ्दिम कि क्या हो,’ भनेर सबैको ध्यान खिचेका थिए। 

हमालले यत्ति भनिसक्दा उनलाई शुभकामना दिनेको सूची निक्कै लामो बनिसकेको थियो। 

उनले सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेकोमा चिन्ता ब्यक्त गर्दै सहरलाई ब्युटिफाई गर्न आफैँ मेयर बन्नु पर्छ की क्या हो भनेका हमालले साँच्चिकै मेयर उठ्ने चाहना नरहेको प्रस्टिकरण दिइसकेका छन्।

कहिले राजनीति नै नगरेका कलाकार, लेखक, गायक सबैले देशका विभिन्न स्थानबाट उम्मेदवारी दर्ताको तयारी गर्दै गर्दा मेयर मोह छताछुल्ल भएको छ।

मेयरका बन्न लालायित कलाकार स्थानीय तहको महत्वबोध भएर भन्दा पनि आफ्नै पब्लिसिटीका लागि स्टन्ट गरेको चर्चा भइरहेको छ। मेयरका आकांक्षी कलाकारले भने आफ्नो उम्मेदवारी कुनै पब्लिसिटी र स्टन्टका लागि नभएर बताउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .