बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’कार्यक्रमपछि विश्वको सर्वोच्च शिखर सगरमाथा हेरेर फर्किने बताएका छन्।
सोहेलका दाजु बलिउडस्टार सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’बारे जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन्।
‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ। १०-१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइनँ। अहिले ४० वर्षपछि फर्केर आएको छु। यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु।’
‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने पनि उनले बताएका छन्। उनले शो हेर्न आउन निम्ता पनि गरेका छन्।
‘दबङ रिलोडेड टुर’ मा सलमानसहित कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज पनि आउँदैछन्।
पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो।
जेठ १४ गते विहान ११ बजेदेखि दरशथ रंगशालाको गेट खुला गरिने छ।
सुरुमा नेपाली कलाकारको प्रस्तुति राखिएको छ। सलमानको कार्यक्रम साँझ साढे ७ बजेबाट सुरु हुने भएको छ। साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुति बताइएको छ।
Shares

प्रतिक्रिया