प्रकाशन बजारलाई थप चलायमान बनाउने उद्देश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ। यो कामको लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेको छ।
नेपालयले सुरु गर्न लागेको यो कामलाई ‘नेपालय ई–कविता’ भनिने छ। यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहनेछन्। यो प्लेटफर्म मार्फत् कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्ने छन्।
साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेज मार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्युटरमा सिधै उपलब्ध हुनेछन्। हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचनसमेत सुन्न सकिने व्यवस्था हुने छ।
‘ई–कविता’को शुरुवात यही वैशाख १७ गते शनिबारदेखि शुरु हुने भएको छ।
शुरुको महिना पाठक तथा श्रोताले कविताहरू आफ्नो नाम दर्ता गरेर निशुल्क पढ्न र सुन्न पाउने छन्। त्यसपछि निशुल्क पढ्न पाउने कोटा महिनाको एउटा कवितामा सिमित गरिने छ र सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नु पर्नेछ।
सार्वजनिक भएको ई–कवितालाई नेपालयको पेज मार्फत वा यो लिंक मार्फत् भेट्न सकिन्छ।
यो कार्यको प्राविधिक विकास र व्यवस्थापन थुप्रै डट कम ले गरेको छ। ई–बुक एपमार्फत् आफ्नो प्राविधिक दक्षता प्रदर्शन गरि सकेको थुप्रैले ई–कवितालाई आफ्नो ई–बुक एपबाट पनि पढ्न र सुन्न सक्ने गरी व्यवस्थापन गर्ने छ।
‘ई–कविता’मा उपलब्ध हरेक कविता रु १५ मा उपलब्ध हुनेछन्, साथै रु. ५२५ को सहुलियत मूल्यमा यसको वार्षिक ग्राहक हुने व्यवस्था उपलब्ध छ। विदेशमा रहेका पाठक श्रोतालाई भने ५ अमेरिकी डलरमा वार्षिक ग्राहक सुविधा उपलब्ध गराइएको छ।
Shares

प्रतिक्रिया