NepalKhabar NepalKhabar

कला


राजेश हमालको थकथकी: आमालाई डिप्रेसन भएको थाहा नपाउँदा टुहुरा भयौँ

राजेश हमालको थकथकी: आमालाई डिप्रेसन भएको थाहा नपाउँदा टुहुरा भयौँ

राधिका अधिकारी
बैशाख १७ , काठमाडौँ

आमा कतै निस्कने चाल पाएपछि उनी घरबाहिरै कुरेर बस्थे। आमा निस्कनासाथ पछि लाग्थे। किनभने आमाले छाडेर कतै हिँडेको उनी सहन सक्दैनथे।

एक दिनको कुरा हो उनले आमा कतै घुम्न निस्किने तयारीमा रहेको चाल पाए। बिहानैबाट उनी लुगा लगाएर तयार भएर बसेका थिए। तर, आमा उनको आँखा छलेर अर्कोपट्टिबाट निस्किछन्। 

आफूलाई आमाले छाडेको थाहा पाएपछि उनले घरमा सानोतिनो महाभारत नै मच्चाइदिए। आमाको दराजको सिसा फुटाइदिए।

अभिनेता राजेश हमालले हातको खत देखाउँदै भने, ‘त्यही बेला आमाको दराजको सिसा फुटाउँदा लागेको चोट हो यो।’

आज उनका आमाबुबा साथमा छैनन्। उनी याे खतजस्तै स्मृतिचिह्न हेरेर आमाबुबाको न्यास्रो मेटिरहेका हुन्छन्। 

राजेशका बुबाआमाका पाँच सन्तान। सबै बुबासँग नजिक थिए। राजेश भने आमाको प्यारो, आमाले छोड्नु हुँदैनथ्यो उनलाई। बुबाले छाडेर हिँडेपनि फरक पर्दैनथ्यो। तर, आमाले दाजुदिदीलाई लिएर उनलाई छाड्नु हुन्थेन। हुन त उनका बुबा आफ्ना छोराछोरीलाई पालैपालो घुमाउन लैजान्थे। छोराछोरी धेरै भएकाले एकै पटक लिएर जाने सम्भावना हुँदैनथ्यो। राजेशलाई सबैको पालोमा आफैँ जानु पथ्र्यो। कहिलेकाहीँ बुबा उनलाई ठूलो बोली गर्थे। उनी आमाको काखमा घुस्रिन पुग्थे। आमा फकाउँथिन्। 

राजेशका बुबा चाहन्थे– छोरो स्थापित पेसामा लागोस्। सेना, पाइलट, डाक्टर, वकिल जे हुँदा पनि उनका बुबालाई समस्या थिएन। समस्या थियो कलाकारितामा। तर, छोराले त्यही क्षेत्र रोज्दा बाबुछोराको सम्बन्धमै दरार पैदा भयो। त्यसपछि राजेश आमासँग झन् नजिक भए। उनी बुबालाई आफ्ना कुरा भन्न पनि आमाको सहारा लिन थाले। बुबाले मन नपराएपछि छोराले फिल्म लाइन छाडोस् भनेर आमा पनि कहिलेकाहीँ कठोर बन्न खोजिन्। तर, बुबाजसरी कठोर बन्न सकिनन्।

बुबाआमाले मन नपराए पनि राजेशले इच्छा छाड्न सकेनन्। बुबाको मन बुझाउन पनि सकेनन्। आफ्नो सपनाका लागि राजेशले बाबुसँगको सम्बन्धलाई दाउमा राखे। भविष्य कस्तो होला भनेर उदाहरण दिने कोही नभएको क्षेत्रमा लागे। उनलाई त्यसबेला लाग्यो, ‘म भोलिको पुस्ताका लागि उदाहरण बन्न सक्छु। तर, आफूलाई मन लाग्ने केही नगरे जीवनको एउटा विन्दुमा गएर पछुताउनु पर्छ। त्यो पश्चाताप गर्ने ठाउँ राख्नु हुँदैन।’

बुबा दरिलो अभिभावक। जिन्दगीकै सबैभन्दा बलियो भर लाग्थ्यो उनलाई बुबाको हातको। चाहन्थे बुबाले मार्गनिर्देशक भएर साथ दिऊन्। तर, बुबालाई उनको फिल्मी करिअरप्रति कुनै वास्ता थिएन। उनी कुन फिल्ममा काम गर्दैछन्, कहाँकहाँ पुग्दैछन्, गाह्रोसजिलो के छ, कहिल्यै सोधेनन्। बुबाको जीवनकालमा उनका तीन वटा फिल्म रिलिज भइसकेका थिए। तर, बुबाको साथ र हौसला पाएनन्। 

राजेशलाई लागेको थियो, ‘मेरो भावना राम्रो छ। बुबाप्रतिको सम्मान उस्तै छ। बुबाले पनि आफूले चाहेको जस्तो नहुँदा चित्त दुखाएर नबोलेका हुन्। एक दिन म सफल हुने छु। बुबाले न्यानो अँगालोमा बाँधेर भन्नेछन्–स्याबास छोरा!’ तर उनको जीवनमा त्यो दिन नआइकनै बुबाको आयु सकियो। ५६ वर्षको उमेरमा पाकिस्तानमा उनका बुबाको मृत्यु भयो। बुबाको मृत्युको खबर आउँदा उनी चौथो फिल्म छायांकनका क्रममा थिए।

बुबाको मृत्युपछि आमाको जिन्दगी कष्टपूर्ण बन्यो। आमा विक्षिप्त बन्दै गइन्। डिप्रेसनको सिकार भइन्, खाना नखाने, कसैसँग नबोल्ने र टोलाइरहने गर्न थालिन्। उनकी आमाले चुरोट खान थालिन्। उनलाई हरेक क्षण चुरोटको सर्को चाहिन्थ्यो। आमाको हातमा चुरोट देख्दा राजेशलाई ठूलो पीडा हुन्थ्यो। डिप्रेसन र अधिक चुरोट सेवनका कारण राजेशकी आमाले अकाल मृत्युवरण गरिन्। 

हमाल भन्छन्, ‘आमाको निधन दसैँको दिन भयो, हामी छोरा–छोरी टुहुरो बन्यौँ।’ आमाको सम्झनामा हमाल अहिले पनि दसैँमा टीका लगाउँदैनन्।

आमा डिप्रेसनमा परेको कुरा उनलाई त्यो बेला राम्रोसँग थाहा भएन। 

‘मैले राम्रोसँग बुझेको थिइनँ। किन खाना समयमा खानुहुन्न? किन धेरै चुरोट पिउन थाल्नुभयो? केही सहयोग चाहिन्छ भने भन्नुस्। बुबा नभए पनि म छु। किन सुतिरहनुहुन्छ? भनेर सोधिरहन्थेँ,’ राजेश भन्छन्, ‘तर, डिप्रेसनमा पुग्नु भएको थाहा भएन। डिप्रेसनका बारेमा थाहा थिएन। अहिलेजस्तो थाहा भएको भए उपचार गराएर आमालाई निको पार्न सकिन्थ्यो होला।’

हमालले आफ्नो जिन्दगीको सपना बुबालाई मात्रै होइन, आमालाई पनि देखाउन पाएनन्। आमाबुबालाई अकालमै गुमाउनु पर्दाको पीडाले उनलाई अहिले पनि सताइरहन्छ। सबैभन्दा धेरै सताउँछ, आमाको रोगका बारेमा बुझ्न सकिनँ भन्ने कुराले। 

भन्छन्, ‘मैले धेरै बुझ्न खोजेँ। तर, आमाको समस्यालाई कहिल्यै बुझन् सकिनँ।’

श्रीमानको निधनपछि मुस्कुराउन छाडेकी उनकी आमा नमुस्कुराएरै बितिन्। छोराछोरी अगाडि पर्दा मुस्कुराएजस्तो गरे पनि आमाको आमाको हाँसो मनदेखि आएको छैन भनेर उनले राम्रोसँग बुझेका थिए। 

यो कुराले उनलाई बारम्बार चोट दिइरह्यो। तर उनले आफ्नो दुःख कसैलाई देखाउन सकेनन्। बुबाले नराम्रो मान्दा आमालाई सुनाउँथे। आमा पनि नभएपछि उनलाई कसैलाई आफ्नो जिन्दगी सुनाउने हिम्मत आएन। 

‘जति घाइते भएपनि हिँड्न छाड्नु हुन्न। हिँड्न सकिएन भने एउटा यात्रा छोटो बन्छ,’ बुबाआमालाई सम्झिँदै राजेश भन्छन् ‘बुबाआमाको निधनपछि हामी सन्तानलाई त्योभन्दा गाह्रो क्षण कहिल्यै आएन। वास्तवमा हामीले जिन्दगीमा कहिलेकाहीँ विभिन्न किसिमका चोट पाउन सक्छौँ। तर संयमित भएर अगाडि बढ्नुपर्दोरहेछ। यो भन्दा उत्तम अर्को बाटो र विकल्प हुँदैन मानिससँग।’

बैशाख १७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.