ad ad

कला


उमेरभन्दा अघिअघि दौडिरहेको स्वस्तिमाको करिअर

फिल्म असफल हुँदा पनि चरित्र सफल
उमेरभन्दा अघिअघि दौडिरहेको स्वस्तिमाको करिअर

राधिका अधिकारी
असार २०, २०७९ सोमबार १७:३५, काठमाडौँ

नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का आज आफ्नो जन्मदिन मनाउँदै छिन्। ‘होस्टल रिटर्नस’ मार्फत फिल्म नगरीमा डेब्यु गरेकी स्वस्तिमाले पहिलो फिल्मबाटै सम्भावना देखाइन्। उनको सुन्दरतासँगै अभिनयबाट मोहित भएका निर्माता निर्देशकले नयाँ फिल्मबाट अफर गरे।

२० वर्ष लाग्दै गर्दा फिल्मी करिअरको सुरुवात गरेर सबैको नजरमा परेकी स्वस्तिमाले त्यहि बेला ‘बोल्ड’ निर्णय गरिन्। थुप्रै सम्भावना बोकेका महिला कलाकार विवाह पश्चात आफ्नो क्षेत्रबाट पलायन भैरहेका बेला सम्भावना देखाएकी स्वस्तिमाले निर्देशक निश्चल बस्नेतसँग विवाह गरिन्।

करिअरबाट किनारा लागेपछि विवाह रोज्ने नायिकाहरुको भिडमा स्वस्तिमा फरक देखिइन्। धेरैको आँकलन थियो फिल्म उद्योगमा ठूलो सम्भावना बोकेर आएको एउटा प्रतिभा पलायन हुने भयो। स्वस्तिमाले बिहेको निर्णय गर्दै गर्दा नजिकका आफन्तले उनलाई विवाह नगर्न सुझाएका थिए। उनलाई धेरैले करिअर सकिने भय देखाएका थिए।

तर, माया बसेपछि कसैको केही लाग्दैन रहेछ। स्वस्तिमाले निश्चलसँग विवाह गरिछाडिन्। उनलाई त्यतिबेला आफ्नो अभिनय क्षमता र लगावमा विश्वास थियो। आखिर बिहेले स्वस्तिमाको सफलतालाई छेक्न सकेन। उनले त्यसपछि पनि फिल्मी करिअरलाई निरन्तरता दिइन्। स्वस्तिमाले अभिनय गरेका हरेक फिल्मले सकारात्मक प्रतिकृया पाए। भलै, स्वस्तिमाले तारिफ पाएका सबै फिल्मले लगानी उठाउन सकेनन्।

फिल्म ‘बुलबुल’ले स्वस्तिमाको फिल्मी यात्राको रफ्तार नै परिवर्तन गरिदियो। यो फिल्ममा ‘रणकला’ बनेकी स्वस्तिमाको अभिनय कौशलले सबैलाई मोहित बनायो। उनले यात्रामा सबैभन्दा धेरै सुखानुभूति गरिन्। कोरोना कालपछि महिला कलाकारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको देखिए पनि ‘बुलबुल’मा स्वस्तिमाले अभिनय गर्दासम्म नेपाली फिल्ममा हिरोइनको भूमिका सो–पिसमा सीमित थियो। महिला कलाकार पनि हत्तपत्त चरित्रमा चुनौती मोल्न आँट गर्दैनथे। उनीहरुलाई पर्दामा हिरोका वरिपरि घुमेरै आफ्नो परिचय बनाउनुमा गर्व थियो।

रेखा थापाले आफ्ना फिल्ममा महिलालाई हिरोका रुपमा स्थापित गर्न कोशिस गरे पनि नेपाली फिल्मका निर्माता निर्देशकमा अहिले पनि चरित्रमा महिला प्रभावशाली हुनुपर्छ भन्ने चेतनाको विकास अझै भैसकेको छैन। स्वस्तिमा आफैँ पनि ‘बुलबुल’ अघि हिरोइनको परम्परागत मान्यताभन्दा माथि उठ्न सकेकी थिइनन्।

‘बुलबुल’मा उनले यी सबै मानक तोडिन्। कलिलो उमेरकी स्वस्तिमाले एक टेम्पु चालक बच्चाकी आमाको भूमिका निर्वाह गरिन। उनलाई यो भूमिकाले जबर्जस्ती उद्योगमा स्थापित गरायो।

स्वस्तिमाले अभिनेत्रीका रुपमा आफ्नो नयाँ क्षमताको क्षितिज उघारिन। ‘बुलबुल’ प्रदर्शनताका स्वस्तिमाले भनेकी थिइन ‘बुलबुल मेरा लागि पाठशाला बन्यो। अरुले पैसा दिएर अभिनय सिक्छन्, मैले पैसा लिएर अभिनय सिक्न पाएँ।’

निर्देशक विनोद पौडेलले उनको अभिनयप्रतिको दृष्किोण नै परिवर्तन गरिदिए। विनोदसँग काम गर्नु अघिसम्म निर्देशकले भनेको काम मात्रै गर्ने स्वस्तिमाले चरित्रलाई आफ्नो ढंगले आत्मासाथ गर्न सिकिन्। विनोदले उनलाई त्यो कुरामा निखार दिँदै छुट दिए। त्यसपछि स्वस्तिमा फिल्मको पटकथामा भन्दा धेरै फिल्म मेकर चयनमा ध्यान दिन थालिन्।

सामान्य परिवारमा हुर्किएकी स्वस्तिमाको परिवारका कोही फिल्म लाइनमा थिएन। आर्मी परिवारमा हुर्किएकी स्वस्तिमालाई लिएर उनको परिवारले देख्ने सपना पनि फरक थियो। तर परिवारको फरक सपना  भन्दा फरक थियो उनको सपना। उनी सानैबाट हिरोइन बन्ने सपना देख्थिन्।

मनमा पलाएको हिरोइन बन्ने हुटहुटी कसैलाई भन्न नसक्नुको पीडा कस्तो हुन्छ, त्यो कसैले उनलाई सोधोस्। हिरोइन बन्छु भन्न गाह्रो पनि स्वस्तिमालाई उनकै मनोविज्ञानले पारेको थियो। उनलाई हिरोइन बन्छुभन्दा अरुले खिसी गर्छन् भन्ने डर थियो। तर, फिल्म खेलेर प्रशंसा बटुलिरहेकी स्वस्तिमाले ‘होस्टेल रिटर्नस’ मा काम गर्दा करिअरको यो रफ्तार कल्पना समेत गरेकी थिइनन्। उनी त उद्योगमा आफूले चिनेका कोही छैनन्, अरु फिल्ममा मौका पाउन मुस्किल छ भन्ने चिन्ताले ग्रसित थिइन्। तर, उनले अवसरका लागि संघर्ष नै गर्नु परेन। अभिनयको बलले स्वस्तिमालाई अवसरहरुले पछ्याइरहे।

एसएलसीपछि मिस टिन नेपालको प्रतिस्पर्धी बनिन्। उत्कृष्ट पाँचको यात्रा लय गरिन्। फोटोसुट गरिन्। सामाजिक सञ्जालमा अपलोड गरिन्। म्यूजिक भिडियो खेल्ने प्रस्ताव आए। दुई म्यूजिक भिडियोमा अभिनय गरेपछि निर्माता सुनील रावलको नजरमा परिन्। सुनिलले ‘ होस्टेल रिटर्नस’मा अफर गरे। यो सबै उनको जीवनमा निक्कै छिटो छिटो भैदियो। सुनीलले अफर गर्दा उनमा फिल्ममा अभिनय गर्ने आँट आइसकेको थिएन। सुनिललाई प्याट्ट काम गर्छु भन्न सकिनन्।

‘होस्टेल रिटर्नस’को कार्यशालामा सहभागी भइन्। उनमा आत्मविश्वास बढेर गयो। थिएटर पृष्ठभूमिका नाजिर हुसेन, प्रदीपकुमार चौधरीसँगको कार्यशालाको भेट उनका लागि फलदायी भैदियो। संगत र कार्यशाला दुवैले आत्मविश्वासी बनेर फिल्मी यात्रा सुरु गरेकी स्वस्तिमा पहिलो फिल्मबाटै नोटिस भइन्।

त्यसपछि उनले ‘लभ लभ’, ‘छक्कापञ्जा २’, नाई नभन्नु ल ५’ ‘जय भोले’मा लगातार अभिनय गरिन। ‘लभ लभ’ बाहेक अरु फिल्म बक्स अफिसमा हिट भए। ‘बुलबुल’ले उनलाई नयाँ मोड दियो। स्वस्तिमाले पछिल्लोपटक ‘चिसो मान्छे’मा निर्वाह गरेको चरित्रको चर्चा सेलाएको छैन। भलै यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सकेन। बक्स अफिसमा फिल्म असफल हुँदा पनि स्वस्तिमाको चरित्र भने सफल भएको छ।

हुन त स्वस्तिमाले अभिनय गरेका चार फिल्म बक्स अफिसमा लगातार असफल भए। पछिल्लो पटक स्वस्तिमाले अभिनय गरेका ‘हजार जुनीसम्म’, ‘घामड शेरे’, ‘चपली हाइट ३’ र ‘चिसो मान्छे’लगातार असफल भए।

कतिपय फिल्म असफल हुँदा पनि स्वस्तिमाको करिअर भने दौडिरहेकै छ। स्वस्तिमाको फिल्मी करिअर उनको उमेर भन्दा अघि–अघि दौडिएको भान हुन्छ। स्वस्तिमालाई अहिले पनि मनग्य फिल्मबाट अफर आइरहेका हुन्छन्। तर, उनलाई हतारो छैन। धेरैभन्दा स्तरीय काम गर्नु स्वस्तिमाको लक्ष्य हो। उनलाई आफू बाहेक कसैसँग प्रतिस्पर्धा पनि गर्नु छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .