कला


राजकाजसँगै गीतसंगीतमा पनि सक्रिय यी नेता

राजकाजसँगै गीतसंगीतमा पनि सक्रिय यी नेता

राधिका अधिकारी
असार ३०, २०७९ बिहिबार २०:४१, काठमाडौँ

कोरोना महामारीमा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको नयाँ परिचय बन्यो– गीतकारको। ओलीले लकडाउनको समयमा गीत लेखे। देश लकडाउनमै रहँदा उनका गीत रेकर्ड भए। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाम राखेर एल्बम निकाले। 

एल्बममा ओलीको ‘स्वदेशमै रोजगारी, स्वदेशमै बास, रोजिदैन प्रवास’बोलको गीत पनि समावेश थियो। यो गीतले त्यो समय निकै चर्चा पायो। त्यसो त ओलीले कोरोना कालमा मात्रै गीत लेखेका होइनन्। उनले २०७२ सालको चैतमा पहिलो गीत लेखेका थिए। 

२०७२ चैतमा राष्ट्रिय सेवा दलको कार्यक्रममा जङ्गी अड्डामा पुगेका ओलीलाई त्यहाँ बजेको गीत मन परेन। त्यसपछि उनले ‘म मेरो देश बनाउँछु’     भन्ने भावसहितको गीत लेखेका थिए। उनको उक्त गीतमा २ वर्षपछि राष्ट्रिय सेवा दलको १३ औँ दीक्षान्तमा नाचकला प्रस्तुत गरिएको थियो। ओली गीत लेखनका साथै तबला र बाँसुरी पनि बजाउँछन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता झलनाथ खनालले राजनीतिक वृत्तमा गीत–संगीत पारखीको पहिचान नै बनाएका छन्। २०६५ सालमा ‘परिवर्तनका स्वर भाग १’ नामक एल्बम सार्वजनिक गर्दै खनालले आफ्नो गीतकार छवि बनाए। त्यसको १० वर्षपछि २०७५ सालमा ‘परिवर्तनका स्वर भाग २’ नामक एल्वम सार्वजनिक गर्दै उनले परिवर्तनका लागि नै गीत लेख्ने गरेको बताएका थिए। खनालले २०६५ सालमा सार्वजनिक भएको एल्बममा समावेश ‘मातृभूमि नेपाल हाम्रो’बोलको गीतको म्युजिक भिडिओमा अभिनय समेत गरेका छन्। 

पूर्वउपप्रधानमन्त्री कमल थापा त पुराना गीतकार हुन्। उनले राजेश हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’का लागि गीत लेखेका थिए। उनले लेखेको त्यो गीत हो ‘तीन पाते डाँडा काटेर’। यो गीत त्यो समय निक्कै चर्चित भयो। अहिले पनि यसको लोकप्रियता उस्तै छ। थापाले २०७५ सालमा ‘मेरो प्यारो नेपाल’ नामक एल्बम नै निकालेका छन्। थापाको ‘शुभकामना नयाँ वर्ष, नयाँ जीवनलाई’ बोलको गीत पनि नेपाली सांगीतिक क्षेत्रको चर्चित गीत हो। 

एमाले नेता प्रदीप ज्ञवाली साहित्यमा ‘शीतविन्दु’ नामले परिचित छन्। उनले गीत, कविता, कथा र उपन्यास सबै विधामा कलम चलाएका छन्। ज्ञवालीका ‘अट्टालिका’ र ‘आस्था ओ मेरी प्रिया’, ‘सहरसँग एउटा प्रश्न सोधिरहेछ गाउँ’ बोलका गीत चर्चित भए। 

अर्का एमाले नेता तथा पूर्व–उपप्रधानमन्त्री भीम रावल पनि गीतकार हुन्। उनले लेखेको ‘नौलो साल उदायो’ बोलको गीत एकताका रेडियोमा निकै सुनिन्थ्यो। रावल कविता पनि लेख्छन्। बेलामौकामा रावल सार्वजनिक कार्यक्रममा पनि आफ्ना गीत सुनाउन भ्याउँछन्।  रावललाई गीतकार २०३३ सालको जेल जीवनले बनाएको हो। राजकाज मुद्दामा जेल परेका उनले जेलमै रहेका बेला गीत र कविता लेखे। रावलको जिन्दगीको सपनामध्येको एउटा सपना हो, गीति एल्कम निकाल्ने। रावलले लेखेको ‘पर्खेर बस्दा’बोलको गीत एक समय चर्चित भएको थियो। 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका गीत बेलाबेला सार्वजनिक भइरहन्छन्। शर्माको कोरोनाको सुरुवाती चरणमा ‘आऊ माया गरौँ’ बोलको गीतले निकै चर्चा पायो। गीतमा शर्माले जलवायु परिवर्तनले निम्ताउने समस्यासँग जुध्न प्रेरित गरेका थिए। शर्मा गीत लेखनमा मात्रै होइन गायन र संगीतमा पनि उत्तिकै दख्खल राख्छन्। उनका ‘देश’, ‘स्वीकृति’ लगायतका एल्बम सार्वजनिक भएका छन्। उनले नेपाल संगीत विद्यालयमा संगीत नै सिकेका छन्। राजनीतिक वृत्तमा शर्माको लेखन शैलीको चर्चा भइरहन्छन्। 

राजनीतिमा भन्दा बलियो सक्रियता गीत–संगीतमा भएका नेता हुन् मणि थापा। उनका गीत माओवादी युद्धकालमा निकै चर्चित भए। २०३८ सालमा थापाले लेखेको गीत हो ‘फोकल्यान्डको टापुबाट।’ यो गीत अहिले पनि चर्चित छ। जनयुद्धकालमा त यो गीतले निकै लोकप्रियता पायो। थापाले लेखेको यो जनवादी गीत जीवन शर्माले गाएका छन्। थापाको सबैभन्दा चर्चित गीत ‘अरुण तरेर नाना तमोर तरेर’ हो। थापाले फिल्मका लागि पनि गीत लेखेका छन्। नेपाली फिल्म ‘दशगजा’का लागि थापाले लेखेको ‘जाऔँ साथी स्वदेश’बोलको गीत पनि त्यसताका चर्चित भयो। 

नेता नेत्रविक्रम चन्द (विप्लव) पनि गीत लेख्छन्। २०५४ सालमा ‘रगतै बग्यो नि बर्खेनी भेल सरी’ बोलको गीत लेखेका उनका थुप्रै गीत चर्चित भए। उनले लेखेको ‘तुफानमा जिउने सागरको माझी’, ‘जागै बस साथी’, ‘यो शासन थेग्न कठिन छ साथी’, ‘कसले बनायो दाजै उडी जाने बस’ लगायतका गीत समयको चर्चित भए।  

पूर्वअर्थमन्त्री समेत रहेका शंकर कोइरालाले त आफूलाई गीतकार तथा साहित्यकारका रुपमा स्थापित नै गरेका छन्। साहित्यमा उनी एसपी कोइरालाका रुपमा परिचित छन्। उनले लेखेका गीत देशका थुप्रै गायकगायिकाले गाएका छन्। उनी बेलाबेला राजनीतिक पद भूतपूर्व हुने तर लेखक पूर्व हुनु नपर्ने भएकाले पनि आफू लेखनमा आएको बताइरहन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .