कला


'सिमसिमे पानीमा' को विवाद, प्रेमराजा महतविरुद्ध रेखा शाहको उजुरी

'सिमसिमे पानीमा' को विवाद, प्रेमराजा महतविरुद्ध रेखा शाहको उजुरी

नेपालखबर
साउन १०, २०७९ मंगलबार ८:५५, काठमाडौँ

‘सिमसिमे पानीमा' गीतले गायिका रेखा शाहलाई सांगीतिक दुनियाँमा चिनायो।

यो गीत गायिका शाह र गायक प्रेमराजा महतको युगल आवाजमा लामो समय रेडियोमा बज्यो।

तर पछिल्लो केही समय यता गीतको मुल स्रष्टा को भन्ने विवाद चलिरहेको छ।

गायिका शाहले यो गीतको प्रतिलिपि अधिकार आफ्नो भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएर गीतको अधिकार प्रेमराजा महतमा नभएको भन्दै मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छिन्। 

गायिका शाहले प्रेमराजाले एकलौटी रुपमा आफ्नो गीतको अतिक्रमण गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल मार्फत गीतका बारेमा प्रष्टाएकी छिन्।

गाउँबाट काठमाडौं आएर रेडियो नेपालमा गाएको पहिलो गीत ‘सिमसिमे पानीमा’ रहेको बताउँदै सोही गीत गाएर प्रतियोगितामा प्रथम भएको उल्लेख गर्दै शाहले आफ्नै लय तथा शब्द संकलन रहेको र प्रतियोगितामा एक्लै गाएको र सुरुमा सिंगल रेकर्ड गराएको उनको दाबी छ।

पछि रेडियो नेपालका जागिरे प्रेमराजाले डुएट गरौं भनेर आग्रह गरेपछि बुवालाई सोधेको बताइन्।

शाहका बुवाले त्यसबेला ‘यो तिम्रो लाइफको अचिभमेन्ट हो। कुनै सिनियरले गाउँ भन्छन् भने त्यो पनि तिम्रो सफलता हो’ भनेपछि उनी प्रेराजासँग युगल गायन गर्न तयार भएको बताउँछिन्।

त्यतिबेला म्युजिक नेपालले मात्रै गीत संगीत उत्पादन तथा बिक्री वितरण गर्थ्यो।  यो गीतमा पनि म्युजिक नेपालले इन्भेस्ट गरिदिएको शाह बताउँछिन्। गीतमा प्रयोग गरिएको भ्वाइलिनमा पाँच हजार रुपैयाँ एक्स्ट्रा खर्च त्यतिबेला प्रेमराजाले गरेको शाहको भनाइ छ। 

त्यसपछि महतले दुई जनाको नाममा क्यासेट गरौं भनेर प्रस्ताव गरेको र उनको लगानी भएकाले नैतिक रुपमा आफूले स्विकार गरेको  बताउँछिन्।

तर क्यासेट बजारमा आउँदा भने प्रेमराजाको नाममा मात्रै बाहिर आयो। शाह भन्छिन् ‘सहमति के रैछ भने, म्युजिक नेपाल र प्रेमराजा महतबीच मात्र कपिराइट रैछ, त्यो थाहा पाएपछि म सक्ड भएँ।’

त्यसबेला प्रेमराजाले उक्त क्यासेट  आफ्ना आमाबुबामाथि समर्पित गरेका थिए। शाहले त्यतिबेलै आफूमाथि अन्याय भएको महसुस भएको बताएकी छन्।

गायिका शाहले गत असार ४ गते लिखित रुपमा म्युजिक नेपालमा निवेदन दर्ता गरेको बताएकी छिन्। 

निवेदनमा उक्त गीतको सबै किसिमको हिस्ट्री मागेको शाहले बताएकी छिन्। उक्त क्यासेटले गरेको कमाइबाट आफूले आजसम्म एक सुका पनि रोयल्टी नपाएको शाहको भनाई छ। 

शाह भन्छिन् ‘सर्जक, स्रष्टा भएको हैसियतले मैले त्यो जान्न जरुरी छ। कपिराइटमा रहने गरी मैले निवेदन दिएकी छु। यो कुरा उहाँहरुले मान्नुपर्छ। २०५९ सालमा प्रतिलिपि अधिकार कानुन बनेपछि मैले यो लडाईं लडेकी हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad