कला


स्वामी रामानन्द गिरिको स्मृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

स्वामी रामानन्द गिरिको स्मृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपालखबर
साउन ११, २०७९ बुधबार २३:४१, काठमाडौँ

महेश संस्कृत गुरुकुल देवघाटधामले स्वामी डा. रामानन्द गिरिको स्मृतिमा रामानन्द प्रज्ञा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ। 

प्रतियोगितामा ४६ वक्ताहरूले भाग लिएको आयोजकले जनाएको छ। 

सहभागीमध्ये सरस्वती एकेडेमी, चाबहिलकी छात्रा आयुषा सापकोटा प्रथम, रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारीका छात्र सुतृष्ण पौडे द्वितीय, नेपाल वेदविद्याश्रमका छात्र अन्जन ढुङ्गेल तृतीय अनि टाइमलाइन एकेडेमी,जोरपाटीकी छात्रा प्रसन्ना पुडासैनी र सैनिक आ. महाविद्यालय, भक्तपुरकी छात्रा कुशा पोख्रेलले प्रोत्साहन प्राप्त गर्न सफल भएका छन्। 

विजयी छात्रछात्रालाई प्रमुख अतिथि डा।जगमान गुरुङ्ज्यूको हातबाट प्रमाणपत्र र सभाध्यक्ष रमणानन्द गिरिज्यूको हातबाट नगद पुरस्कार वितरण गरिएको थियो। 

अन्तमा सबै प्रतियोगीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको गुरुकुलले जनाएको छ।  

प्रतियोगितात्मक यस कार्यक्रमको निर्णायक मण्डलमा नेपाली साहित्यकी स्थापित कवयत्री तथा पिके क्याम्पसकी सहप्राध्यापक प्रभा भट्टराई, वाल्मीकि विद्यापीठका सहप्राडा मुकुन्द लामिछाने र नेपाल संस्कृत विश्वविद्यालयका सहप्राडा. लेखप्रसाद निरौलालाई जिम्मेवारी दिइएको थियो ।

उक्त सभामा प्रमुख अतिथि डा. जगमान गुरुङले मन्तव्यका क्रममा गुरुको स्मृतिमा महेश संस्कृत गुरुकुलले यस किसिमको बौद्धिक सभा आयोजना गरी नैतिक शिक्षा एवम् गुरुकुलशिक्षाका उन्नायक ब्रह्मलीन स्वामी डा. रामानन्द गिरिजी महाराजको वास्तविक सम्मान गरेको टिप्पणी गरेका थिए। 

प्रतियोगिताको बीचबीचमा सहभागीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्थापित युवाकविहरू सुदेश सत्याल, सच्चिदानन्द पौडेल, दृवी बराल, शिवराज लामिछाने, नगाधिराज आदिले आफ्ना कविता सुनाएका थिए। 

समग्रमा उपत्यकाका स्थापित सरकारी तथा गैरसरकारी विद्यालयबाट आएका छात्रछात्रा तथा प्रतिनिधि शिक्षक, विभिन्न विश्वविद्यालका प्राध्यापक तथा स्थापित विद्वान्, सन्तमहात्मा र कविजनहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त वक्तृत्वकाला समारोह सभ्य, भव्य, रम्य रहेको  सभामा सहभागी उपप्राध्यापक उमेशप्रसाद घिमिरेले जानकारी दिए।

कार्यक्रम गुरुकुल तथा महेश आश्रम तनहुँका पीठाधीश स्वामी रमणानन्द गिरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गुरुङ, वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकाल, वरिष्ठ समालोचक प्राडा महादेव अवस्थी, सहप्राडा नवराज कट्टेल, सहप्राडा श्रीराम अधिकारी प्राडा नुरापति पोख्रेल, महेश गुरुकुलका प्राचार्य कमल सुवेदी, गुरुकुलकै माथितर्फका प्राचार्य फणीन्द्र पौडेल, महेश छात्रपरिषद्का अध्यक्ष उमेश घिमिरे, डा. वैकुण्ठ घिमिरे, उपप्रा रोहिणीराज तिमल्सिना, कवि निराजन पन्त, उपप्रा. शिवराज लामिछानेलगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad