चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोसाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिन्छन्। उनी उमेरले ७५ मा हिँड्दै छन्। उनको साहित्यप्रतिको लगाव र हुटहुटी देख्दा लाग्छ - उनी २०–३० वर्षकै उमेरमा छन्।
मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, स्रोताको मन जित्न सफल उनको मनमा भने ३४ वर्षदेखि एउटै पिरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरोलो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने? विसं २०२८ तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बालगीत रेकर्ड भएको जनाइएको छ।
चार सन्तानका पिता उनले वर्षाैं पहिले आफ्नो जेठो सन्तान गुमाए, अनि अहिले आएर उनलाई आफैँले लेखेको म्याउँ-म्याउँ बिरालोलाई पनि आफ्नो जीवनकालमा आफ्नो नाम दिन पाउँदिन कि भन्ने पिरलोले दिनदिनै सताएको छ।
विगतलाई उनी यसरी सम्झिन्छन्, “विसं २०२५ असारको महिना थियो, बाआमा खेतमा जानुभएको थियो, घरमा भाइलाई हेर्दै बसेका बेला बिरालो आएर कराइको दूध खाँदै थियो, त्यहीँ देखेपछि गीत लेखेको हुँ।”
विसं २०२८ ताका लमजुङबाट पाँच दिन पैदलयात्रा गरेर काठमाडौँ गएका बेला पशुपतिमा प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवसँग भेट भएको र उनै श्यामदाससँग डिल्लीबजारसम्म पुगेपछि चिया पिउँदै गर्दा म्याउँम्याउँ बिरालो देखाएपछि रेकर्ड गर्ने सल्लाह पाएको सर्जक सोती सम्झिन्छन्।
उनले श्यामदासबाट सल्लाह मात्रै पाएनन्, उस्ताद भैरवबहादुर थापासँग भेट गराइदिए। भेटपछि भैरवबहादुरकै सङ्गीत र उनै भैरवबहादुरकी १० वर्षीया सानी छोरी सङ्गीता थापाको स्वरमा रत्न रेकर्डिङमा गीत रेकर्ड भएको सोतीलाई सम्झना छ। रत्न रेकर्डिङको प्लेट नं ८१ मा गीत रेकर्ड भएको र गीत रेकर्डपछि रु ८५ पारिश्रमिकसमेत पाएको सर्जक सोतीले जानकारी दिए।
रत्न रेकर्डिङमा रेकर्ड भएपछि म्याउँम्याउँ बिरालो बोलको बालगीत रेडियो नेपालसहित अल इन्डिया रेडियो, श्रीलङ्का र चीनको रेडियोबाट बज्ने नेपाली कार्यक्रममा यो गीत बज्ने गरेको सर्जक सोतीले बताए। गीत रेर्कड भएपछि उनले खासै वास्ता गरेनन्, त्यतिबेला त्यो गीत रेडियो नेपाल, भारत, चीन र श्रीलङ्काको रेडियोबाट पनि बजेको भने उनलाई सम्झना छ।
“सुरु–सुरुमा गीतको चासो त्यति राखिनँ तर विगत ३४–३५ वर्षदेखि गीतको खोजी गरेको छु, तर अत्तोपत्तो छैन”, उनले भने, “पछि त यही गीत मेरो नाम नराखी पाठयपुस्तकमा पनि छापिएर आएछ, थाहा पाउँदा दुःख लाग्यो।”
गीत पाठयपुस्तकमा बिना नाम छापिएर आएपछि कवि सोतीले तत्कालीन शिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पाठयपुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गरेका थिए। विसं २०४६ को जनआन्दोलनका समय भएकाले पुस्तकमा समेत नाम आउन नसकेको उनले दुःखेसो गरे।
आन्दोलनपछि विसं २०५०/५१ ताका आफ्नो नाम नराखी पाठयपुस्तकमा छापेको एकता प्रकाशन पुगेर आफूले आपत्ति जनाएको उनले बताए। यसपछि नाम राखिदिने आश्वासनसमेत उनले पाएका थिए। पारिश्रमिक स्वरुप रु दुई हजार प्रकाशकले दिएको उनले बताए।
“नाम त हालेनन् हालेनन्, झन् सम्पादन गर्दा एक जना वस्ती थर भएकाले गीत नै बिगारिदिएछन्”, उनले दुःखेसो पोख्दै भने, “अहिले त झन् युट्युबमा आएको छ, हेर्न त धेरैले हेरेका रहेछन्, तर मेरो नाम नै छैन, त्यही माथि गीत पनि बिगारेका रहेछन्।”
आफूसँग भएको गीतको क्यासेट विसं २०४३/४४ ताका पोखरामा डेरा सर्ने क्रममा फुटेपछि गीतलाई आफ्नो नाम दिन काठमाडौँमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यालयमा बर्सेनि धाइरहेको उनले सुनाए। उनलाई आफ्नो जीवनकालमै त्यो गीतको रचनाकारका रूपमा आधिकारिक रूपमा फेरि पनि नाम लेखाउन पाउँदिन कि भन्ने पिरले गिजोल्न भने कत्ति छाडेको छैन।
रेडियो नेपालका निर्देशक कार्यक्रम महाशाखा प्रमुख वरिष्ठ साहित्यकार नवराज लम्साल पनि त्यो गीत कवि सोतीकै भएको बताउँछन्।
“विसं २०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेट फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनुपर्छ, हामाीले सबै पुराना क्यासेटहरूलाई रिकभर गर्दैछौँ, भेट्नासाथ उहाँको सम्पत्ति उहाँलाई हस्तान्तरण गर्छौ”, उनले भने।
विसं २०२८ मा गीत रेकर्ड गर्दा आफू स्वयं स्टुडियोमै रहेको जनाउँदै वरिष्ठ सङ्गीतकार दीपकजङ्गम म्याउँ–म्याउँ बिरालो कवि सोतीको रचना भएको बताउँछन्।
“गीत रेकर्ड मेरै अगाडि भएको हो, सङ्गीताले गाएकी हुन्, यसको रचनाकार सोतीजी नै हो”, उनले भने, “गीतको रचनाकार सोती नै भए पनि अहिले पुष्टि गर्न प्रमाण जुटाउन परेको छ, इतिहास बिर्सनु हुँदैन, यो गीत उहाँले नै लेख्नुभएको हो।”
उमेरले ७५ लागेका सोतीलाई भने उक्त गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ।
“उमेरले बूढो भए पनि हिम्मत हारेको छैन, एकपटक फेरि काठमाडौँ जान्छु, आफ्नो सन्तानको माया कसलाई पो हुन्न र”, उनी भन्छन्।
यस्तो छ गीत
म्याउँ–म्याउँ बिरालो यतातिर आउ
मेरो नाना काटी गर्ने मुसा मारी खाउ
कराइको दूध खाइदेऊ भने
म त भोकै हुन्छु, नखाइदेउ भन्छु
बाबा भन्छिन् खाली बुबु चोर्न जाली
आमा भन्छिन् चोर्ली भाडाहरु फोर्ली
बुबु चाेर्याे भने लट्ठीले म हान्छु
नआइज न यता चोर्नै म्याउ भन्छु
विसं २००६ मा लमजुङको कुन्छामा जन्मिएका सर्जक सोती अहिले स्थायी रूपमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १२ मा बसोबास गर्छन्। विसं २०२१ मा ‘नरोक मलाई’ कविता लेखेर दोस्रो स्थान हासिल गरेका उनी अनवरत रूपमा साहित्य सिर्जनामा क्रियाशील छन्।
विसं २०२८ मा लमजुङको कुन्छा साहित्य परिषद्को अध्यक्ष, २०३८ मा मकवानपुर साहित्य परिषद् हटौँडाको संस्थापक उपाध्यक्ष, २०४६ मा युवा साहित्य सदन पोखराको संस्थापक सचिवसमेत भएका कवि सोतीको ‘मेरी मर्स्याङ्दी’ कविता सङ्ग्रह (२०२८), ‘दुई बत्ती निभेर’ कविता सङ्ग्रह (२०३०), ‘जगदम्बा’ काव्य (२०४५), ‘समालोचक’ शोक काव्य (२०४१) , ‘मेरी आमा रुँदी हुन्’ कविता सङ्ग्रह (२०६७), फुल्न नसकेका फूलहरू ९२०७८) र थुप्रै फुटकर कविता प्रकाशित भएका छन्। रासस
Shares

प्रतिक्रिया