कला


चलेका संगीतकारले लत्याएको गजल : ‘के लत बस्यो...’

जुन गजलले प्रदीपलाई चिनायो, तिलकको लोकप्रियता ब्युँतायो
चलेका संगीतकारले लत्याएको गजल : ‘के लत बस्यो...’

राधिका अधिकारी
माघ ४, २०७९ बुधबार १८:३७, काठमाडौँ

जीवनको उतार चढाव सजिलै देखिन्छ। तर मनको उतारचढाव देखिँदैन। त्यसलाई पोख्न पनि  सजिलो छैन। मनको त्यही आरोहअवरोह शब्दमा उतार्ने डा. प्रदीपकुमार मैनालीले एक दिन लेखे, ‘के लत बस्यो मलाई।’

साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछ छुट्नै हतार हुन्छ।

कति आफैँले भोगे। कति आफ्नाको देखे। सुखका लागि गरेको लामो संघर्ष र छोटो सुखको अनुभूति, त्यही अनुभूतिले जन्माएको यो शेर अहिले हर मान्छेको मन अभिव्यक्त गर्ने माध्यम बनिदिएको छ। प्रदीप गजल हिट भएकोमा भन्दा मानिसहरुले आफ्नो भावना अभिव्यक्त गर्ने माध्यम आफ्नो गजललाई बनाएकोमा खुसी छन्। 

उनले यो गजल लेखेको केही वर्ष भइसक्यो। लेखेका सबै सिर्जनाले मन हल्लाउँदैनन्। प्रदीपका डायरीमा पनि थुप्रै सिर्जना छन्। यो गजल भने लेखिसक्दा उनलाई लागेको थियो, ‘यो सिर्जना मेरो डायरीमा यसै थन्किएर बस्नु हुँदैन।’ 

देशका नाम चलेका केही संगीतकारको इनबक्समा शब्द खसाले र भने, ‘सर यो गजलमा काम गरौँ।’ 

उनले जवाफ पाए, ‘यो समय यस्ता सिर्जनाको होइन, अलि चल्ने खालका सिर्जनामा काम गरौँ।’ 

उनलाई चर्चाको भोक थिएन। तर सिर्जनाप्रतिको तिरस्कारले भने मन अमिलो बनायो। उनी मौन बसिदिए। 

एकदिन युट्युबमा ‘नेपाली गजल’ सर्च गरेर सुन्दै थिए। एकाएक बज्योः 

माया मात्रै कस्तो अलि अलि चोट देऊ
अलौकिक होइनौ भने अलि अलि खोट देऊ!

स्वरले प्रदीपलाई तान्यो। आँखाबाट आँसु खस्यो। उनले गायकको नाम हेरे। उक्त गजल तिलक सिंह पेलाले गाएका थिए। तिलकको त्यो स्वरले उनलाई केही दिनसम्मै झंक्रित बनाइरह्यो। त्यसपछि उनी तिलकको खोजीमा लागे। प्रदीपले थुप्रै मानिससँग तिलकका बारेमा सोधे। तर कसैले पनि चिनेको बताएनन्। उनी हैरान थिए। तिलकलाई खोज्ने क्रममा एकदिन रवि प्राञ्जललाई भने, ‘यो स्वरले मलाई निकै बिथोलेको छ। म तिलक सिंह पेलाको खोजीमा छु, लौन सहयोग गर्नु पर्यो।’ 

रविले भने, ‘उहाँ ५० को दशकमै लोकप्रिय बन्नु भएको गायक/संगीतकार हो। किन गुमनाम हुनुभयो, कहाँ हुनुहुन्छ मलाई पनि थाहा छैन। म कोसिस गर्छु।’ 

प्रदीप त्यो दिन औधी खुसी थिए।

साधनामै हराउने, प्रचार नचाहिने, नरुचाउने तिलकलाई खोज्न रविलाई पनि त्यति सजिलो भएन। तर उनी भेटिए। भेटेपछि झन् प्रभावित भए। उनलाई अब जसरी पनि आफ्नो गजल गाउन लगाउनु थियो। तिलक भने आफू आगाडि आउनै नचाहने, आफ्ना शिष्यलाई नै अगाडि सार्ने, शिष्यको प्रगतिमा खुसी हुने। उनलाई गायनको प्रस्ताव गर्ने हिम्मत जुटाउनै प्रदीपलाई समय लाग्यो। तिलकसँग पटकपटक भेटघाट गरे। उनलाई भेट्न भुवन निस्तेज, भोजराज घिमिरे लगायतले साथ दिए। प्रदीप हरेक भेटमा भन्थे, ‘गुरु, वास्तविक गजलको फ्लेवर हजुरसँग मात्रै छ।’

प्रदीप तिलकलाई गुरु सम्बोधन गर्छन्। तिलक भने मुसुक्क मुस्कुराउँथे मात्रै। 

गजल हात परेको डेढ महिनामा तिलकले संगीत सिर्जना गरेका थिए। उनी यो गजल आफ्ना चेला कमल विष्टको स्वरमा रेकर्ड गराउन चाहन्थे। कमलले यो गजल तिलककै संगीत निर्देशनमा काठमाडौंमा भएको एक कार्यक्रममा गाएर सबैको मन समेत जितेका थिए। त्यही अनुसार प्रदीपलाई प्रस्ताव गरे। तर, प्रदीपले गुरुको प्रस्ताव अस्वीकार गरे। भने, ‘तपाईं आफैँले गाउनुपर्छ।’ 

यति भनिसक्दा प्रदीपको मन ढक्क फुलेको थियो। तिलकले सुरुमा प्रस्ताव स्वीकार गरिहाल्न सकेनन्। उनको स्वभाव नै त्यस्तै हो, सम्भावना भएको ठाउँमा आफ्ना शिष्यलाई अघि सार्न खोज्छन्।। अन्ततः उनले प्रदीपलाई निराश बनाउन चाहेनन्। त्यसपछि गजल रेकर्ड भयो। 

तिलकले गीत गाउँदै गरेको भिडियो खिचेर युट्युबबाट गजल रिलिज भयो। रिलिज भएको छोटो समयमै सामाजिक सञ्जालका हरेक प्लाटफर्ममा गजल लोकप्रिय भयो। सबैखाले दर्शकले गजल मन पराएका छन्। सामाजिक सञ्जालमा सेयर गरेका छन्। टिकटक बनाएका छन्। प्रतिक्रिया राम्रो आइरहेको छ। कति प्रतिक्रिया हेरेर गजलकार प्रदीप बेलाबेला भावुक हुन्छन् र रुन्छन्। उनी सोच्छन्, ‘यो स्वर बाहिर नआउँदा नेपाली संगीतले कति कालजयी गीत/गजल गुमायो होला।’

प्रदीपको रेकर्डका हिसाबले यो पाँचौँ सिर्जना हो। यसअघिका सिर्जना भने रेकर्ड गराएर पनि आफैँलाई चित्त नबुझेका कारण सार्वजनिक गरेनन्। मान्छेहरु सयौं सिर्जना रेकर्ड गर्दा पनि ओझेलमा छन्। उनी पहिलो सिर्जना सार्वजनिक गरेर चर्चामा आएका छन्। यो चर्चाले उनलाई निक्कै गम्भीर बनाएको छ। 

गजलको चर्चासँगै लाखौं लगानी गरेर म्युजिक भिडिओ बनाउन तयार निर्माता उनको सम्पर्कमा आइरहन्छन्। उनीहरु भन्छन्, ‘गजल हामीलाई दिनुहोस् हामी म्युजिक भिडिओ बनाउँछौँ।’ 

प्रदीपलाई लाग्छ, ‘म्युजिक भिडिओ बनाउनु एउटा कथालाई सम्प्रेषण गर्नु हो। अहिले यो गजल हरेक भाव सहित स्रोताले सुनिरहेका छन्। एउटै कथा मात्रै बहँदा अर्कै भाव बोकेर गजल सुनिरहेका स्रोतामाथि अन्याय भयो भने!’ 

उनी म्युजिक भिडिओ बनाउने हतारोमा छैनन्। 

समयले गीत/गजल सुन्ने नभएर हेर्ने बनाएको छ। हरेक रेकर्ड भएका गीत/गजल चल्नका लागि म्युजिक भिडिओ निर्माण गर्नुपर्छ, चलेका कलाकार राख्नु पर्छ भन्ने चलन बसेको छ। प्रदीप यसको विरुद्धमा छन्। उनलाई लाग्छ, ‘गीत/गजलहरु सुन्नका लागि बन्नु पर्छ।’ गायक तथा संगीतकार तिलकको पनि ठ्याक्कै यही सोचाइ छ। भन्छन्, ‘गीत अडिओमा बलियो हुनुपर्छ। भिडिओ त त्यसपछिको तपसिलको विषय हो।’ 

म्युजिक भिडिओ निर्माण समयको माग हो। तर मानिसहरुले हृदयले सुनिरहेको गजल म्युजिक भिडिओ बनाउँदा कानले सुन्ने र आँखाले हेर्ने मात्रै बन्ने हो कि भन्नेमा प्रदीप सजग छन्। त्यसैले तत्काललाई तिलक र प्रदीप दुवैले गजलको म्युजिक भिडिओ निर्माण सोचेका छैनन्। भन्छन्, ‘बनाउँछौँ जस्तो हामीलाई लागेको छैन। पछिको कुरा थाहा छैन। तर जे भएपनि तिलक सरसँग सल्लाह नगरी, उहाँको रायबिना म केही पनि गर्दिनँ।’ 

गजलको चर्चासँगै प्रदीपको फोन पनि निकै व्यस्त छ। फोनको घण्टी बजिरहन्छ। गजल सुनेर फोन गर्नेहरु भन्छन्, ‘गजल राम्रो बनेको रहेछ।’ कमेन्ट पनि त्यस्तै किसिमका आइरहेका छन्। धेरैले उनलाई भन्ने गरेका छन् ‘हामी दर्शक भएर मरेका थियौँ, बल्ल स्रोता बन्न पाइयो।’ 

उनी सम्झन्छन्, ‘मान्छेहरु एकै प्रकारको स्वादबाट वाक्क भैरहेका रहेछन्।’ उनलाई सबैभन्दा खुसी त यस अर्थमा लागेको छ, गायक/संगीतकार तिलक सिंह पेला सबैको खोजीको विषय बनेका छन्। तिलक हिजोआज सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनमा व्यस्त छन्। उनी आफ्ना सिर्जनाका बारेमा बोलिरहेका छन्। प्रदीपलाई लागेको छ, ‘अब तिलकको स्वर र साधनाको फल नेपाली सांगीतिक क्षेत्रले पाउने छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .