ad ad

कला


थिएटर बाहिर बदाम बेच्दा बेच्दै स्टार बनेका ज्याकी श्राफ

थिएटर बाहिर बदाम बेच्दा बेच्दै स्टार बनेका ज्याकी श्राफ

नेपालखबर
माघ १८, २०७९ बुधबार १५:५४, काठमाडौँ

बलिउड फिल्म उद्योगमा जग्गु दादा उपनामले चिनिन्छन् ज्याकी श्राफ। उनले मुम्बईको एउटा सानो कोठाबाट आफ्नो जीवनको प्रारम्भ गरेका थिए।

अहिले ज्याकी २१२ करोड सम्पत्तिको मालिक भएका छन्। यो सफलतापछि पनि उनले आफ्नो जीवनका सुरुवाती दिन बिर्सिएका छैनन्। उनको त्यो एउटा कोठाको घर अझै छ। त्यहाँ उनी बेला बेला गएर बस्ने गर्छन्।

केही समयअघिको एक अन्तवार्ताका क्रममा ज्याकीले भनेका थिए, ‘म अहिले पनि चहलको एउटै कोठामा शान्त सुत्छु।’

ज्याकीले आफ्नो जीवननै फिल्मी तरिकाले बिताएका छन्। उनका बुबा गुजराती थिए, आमा कजाकिस्तानी। उनको जीवनको ३१ वर्ष त्यहि एक कोठे घरमा बित्यो। जब उनी फिलम ‘हिरो’ मार्फत सुपरस्टार बने। त्यसपछिको केहि वर्ष पनि उनले त्यहि घरमा बिताए।

उनको जग्गु दादादेखि मोडल र मोडलदेखि नायकसम्म यात्रा निकै रोचक छ।

ज्याकी एक समय थिएटर बाहिर बदाम बेच्थे। कहिलेकाहीँ फिल्मको पोस्टर टाँस्ने गर्थे। यहि क्रममा एकदिन बस स्ट्यान्डमा एकजना मानिसले उनलाई प्रश्न गरे, ‘मोडलिङ गर्छौ?’ ज्याकीले भने, ‘पैसा दिने हो?’ यहि सवाल जवाफले नै उनलाई बलिउडको स्टार बनायो।

 

कथा आमाबुवाको भावनात्मक कथाबाट सुरु हुन्छ,

ज्याकी श्राफको जन्म १ फेव्रुअरी १९५७ मा मुम्बईको चहलमा भएको थियो। उनकी आमा रीता काजाकस्तानमा भएको ‘कु’पछि ज्यान बचाएर लाहोर भागेकी थिइन्। सन् १९३६ मा काजाकिस्तानमा युद्धको माहोल थियो। त्यो समय रीता १० वर्षकी थिइन्।

काजाकिस्तानमा भएको त्यो युद्धमा मानिसहरू ठूलो संख्यामा मारिए। ज्याकीकी आमा रीताका सात दिदीबहिनी थिए। उनीहरु चिसोबाट बच्न शरीरमा लसुनको पेस्ट लगाएर हिँड्थे।

लसुनको पेस्टले उनीहरुको शरीरमा ठूला ठूला पिम्पल आएका थिए। उनीहरुलाई मार्न भनेर आएका सिपाही कुष्ठरोग लागेको र छोए सर्ने भन्दै फर्किए। यहि घटनाले उनीहरुको ज्यान जोगियो।

त्यसपछि रिता आमासँग भागेर लाहोर आइन्। त्यहाँबाट उनीहरु मुम्बई बस्न आए। यहाँ रिताको भेट काकुबाई श्राफसँग भयो। काकुभाई ज्योतिषी थिए।

वास्तवमा काकुभाई धेरै धनी परिवारका थिए। तर एकपटक उनले सबै पैसा गुमाए र उनको परिवार बाटोमा आयो। १७ वर्षको उमेरमा काकुभाईले जीविकोपार्जनका लागि घर छोडे।

मुम्बईको चहलमा रहँदा उनको रीतासँग भेट भयो र दुवैले विवाह गरे। चहलमा बस्दै गर्दा रीताले दुई सन्तानलाई जन्म दिइन्। ज्याकी उनीहरुका कान्छो छोरा हुन्। 

ज्याकीको बाल्यकाल र युवावस्था चहलको त्यहि सानो कोठामा बित्यो। चहलमा ७ वटा कोठा थिए, जसमा करिब ३० जना मानिस बस्ने गर्दथे।  

त्यसमा ३ वटा बाथरुम थिए। बाथरुम जान दिनहुँ लाइनमा उभिनु पर्थ्यो। हरेक वर्ष दीपावलीको अवसरमा चहलमा खुब पटका पडेकिन्थे। ज्याकी पटकाको आवाजसँग डराउँथे। उनी पटका पड्किन थालेपछि खाटमुनी लुक्न जान्थे।

छोरा डराएको देखेर उनकी आमा छिमेकीका केटाकेटालाई गाली गर्थिन्। यो कोठासँग ज्याकीको गहिरो सम्बन्ध छ। आज पनि उनी समय निकालेर त्यहाँ गैरहन्छन्। 

बदाम बेचेर आम्दानी गर्थे
ज्याकी चहलमा बस्दा फिल्मका पोस्टर टाँसेर आम्दानी गर्थे। उनी हरेक समय नयाँ फिल्म रिलिजको पर्खाइमा हुन्थे। नयाँ फिल्म रिलिज ताका उनले पोस्टर टाँस्ने काम पाउँथे। त्यो बाहेक उनी थिएटर बाहिर बदाम बेच्ने काम गर्थे। 

एक दिन ज्याकीले चहलमा कोही समुद्रमा डुबेको सुने। भीड हटाउँदै ज्याकी समुद्रमा डुबेर मरेको लाश नजिकै पुगे। त्यो लाश उनका दाजुको थियो। सन् १९६७ मा १० वर्षका ज्याकीले दाजुलाई गुमाए।

उनका दाजु त्यतिबेला १७ वर्षका थिए। समुद्रमा डुबेको अर्को मानिसलाई बचाउन जाँदा उनका दाइको मृत्यु भएको थियो। मृत्युको सात दिनअघि मात्रै ज्याकीका दाजुले जागीर सुरु गरेका थिए। 

दाजुको मृत्युपछि ज्याकी नराम्रोसँग टुटे। उनका दाजु चहलका हरेक मानिसलाई सहयोग गर्थे। दाजुको मृत्युपछि ज्याकीले दाइको स्थान लिने निर्णय गरे। त्यसपछि ज्याकीले चहलका मानिसलाई सहयोग गर्न थाले। 

आमाले सारी र भाँडाकुँडा बेचेर पढाइन्
घरमा आर्थिक अभाव थियो। उनका बुबासँग उनलाई पढाउने खर्च थिएन। १० कक्षापछि परिवारका सदस्यहरूसँग पैसा बाँकी नहुँदा ज्याकीकी आमाले आफ्नो साडी र घरका भाँडाकुँडाहरू बेचेकी थिइन्। त्यहि पैसाले ज्याकीले त्योपछिको पढाइ अगाडि बढाए।

११ कक्षा पास गरेपछि ज्याकीले आफ्नो अध्ययन नगर्ने निधो गरे। किनकी उनले परिवारको आर्थिक अवस्था कस्तो छ भनेर राम्रोसँग बुझेका थिए। 

बस स्टपमा मोडलिङ अफर 
त्यसपछि ज्याकीले घरको खर्च जुटाउनको लागि रामपाट रोडमा ‘ट्रेड विंग्स’ नामक ट्राभल एजेन्सीमा काम गर्न थाले। एक दिन एक व्यक्तिले ज्याकीलाई बस स्टपमा उभिरहेको देखे। के गर्छौ भनेर सोधे। ज्याकीले आफू ट्राभल एजेन्सीमा काम गरिरहेको बताए।

ती प्रश्नकर्ता विज्ञापन एजेन्सीका मानिस थिए। उनले ज्याकीलाई मोडलिङको अफर गरे। त्यसवापत पैसा दिने बताएपछि ज्याकी खुशी भए। 

कुरा भएको भोलिपल्ट उनलाई राष्ट्रिय विज्ञापन एजेन्सीमा बोलाइयो। उनको कपडाको नाप लिएर एजेन्सीका मानिसले भने, ‘हामी तिमीलाई मोडल बनाइरहेका छौँ।’

पहिलो पटक ज्याकीले ७ हजार रुपैयाँ पारीश्रमिक पाए। उनले त्यो पैसा आफ्नी आमालाई दिए र भने, ‘आमा म मेरो जागीर छोडेर यो काम गर्न चाहान्छु। जहाँ मैले तस्बिर खिचाए वापत पैसा पाउँछु।’

उनकी आमाले सहमती जनाइन्। त्यसपछि उनले ट्राभल एजेन्सीको काम छोडे। ज्याकीले राष्ट्रिय विज्ञापन एजेन्सीसँग धेरै प्रोजेक्टमा काम गरे। 

चलचित्रमा संलग्न
मोडलिङका क्रममा ज्याकीको देव आनन्दका छोरा सुनिल आनन्दसँग मित्रता भयो। ज्याकीले एकदिन सुनिललाई देवसँग भेटाइदिन भने। देवसँग भेट्ने अवसर पनि पाए। उनी देवका निकै ठूला फ्यान थिए। सुनिलले आफ्ना पितालाई ज्याकीको तस्बिर देखाएका थिए।

भेटमा देवले भने, ‘बिहान तिम्रो तस्बिर हेरेको थिएँ, अहिले तिमी मेरो अगाडि छौ। म तिमीलाई फिल्ममा अवसर दिन्छु।’

त्यसको १५ दिनपछि ज्याकीको फिल्मी करिअर सुरु भयो। देव आनन्दले ज्याकीलाई आफ्नो फिल्ममा खेलाए। पहिलो पटक ज्याकीले शक्ति कपूरको चेलाको भूमिका पाएका थिए। सुरुवाती दिनमा अभिनय गर्न नजानेर निक्कै गाली खाए।

उनको पहिलो फिल्म सन् १९८२ मा रिलिज भएको ‘स्वामी दादा’ हो। यसपछि उनले सुभाष घईको ‘हिरो’ फिल्ममा काम गरे। फिल्म हिट भयो। त्यसपछि उनी लगातार हिट भए। 

ज्याकीले सन् १९८७ मा आयशा श्राफसँग विवाह गरेका थिए। उनीहरुका दुई सन्तान टाइगर श्राफ र कृष्णा श्राफ छन्। 

सन् २००३ मा उनकी श्रीमतीले ‘बूम’ निर्माण गरिन्। यो फिल्ममा ज्याकीले आफ्नो जीवनभरको कमाई लगानी गरिदिए। यहि फिल्म मार्फत कट्रिना कैफले अभिनय यात्रा प्रारम्भ गरिन्।

फिल्ममा अमिताभ बच्चन, गुलशन ग्रोवर, जीनत अमान जस्ता ठूला स्टारलाई खेलाइयो। अन्तिम समयमा ज्याकीलाई वितरकले धोका दिए। उनले ठूलो नोक्सान बेहोर्नु पर्यो। 

फिल्म बक्स अफिसमा फ्लप भयो। फिल्ममा गरेको सबै लगानी ज्याकीले गुमाए। त्यसपछि उनले घरका फर्निचर, कलाकृति र पुरै घर बेचेर गुजारा चलाए। त्यसबेला उनले आफ्नी आमालाई घर फिर्ता गर्ने वाचा गरेका थिए। त्यो वाचा उनले पुरा गरे। 

स्टार बनेपछि ज्याकीले गरिबको हितमा धेरै काम गरे। धेरै बालबालिकालाई विद्यालयमा भर्ना गराए।

अप्ठ्यारोमा परेकाहरुको उपचार गराए। ज्याकीले पुरानो घरको सट्टा तीन बत्तीदेखि पालीहिल घरसम्मको बीचमा बस्ने धेरै भिखारीहरूलाई आफ्नो व्यक्तिगत मोबाइल नम्बर दिएका छन्। धेरै भिखारीहरूले उनलाई आज पनि मद्दतको लागि बोलाउँछन् र ज्याकी तुरुन्तै उनीहरूलाई मद्दत गर्छन्।

५ मार्च २०२१ मा ज्याकीले लोनाभलाको पशु आश्रयमा एम्बुलेन्स दान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .