अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहेपास’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा दयाले विवाहका लागि युवतीको मन जित्न गरेका हर्कतलाई देखाइएको छ।
विवाहअघि भनेका कुरा र विवाहपछि खुलेको यथार्थ अनि त्यसपछि सम्बन्धमा आएको उतारचढाव फिल्मको कथा हो। फिल्ममा दयाहाङले सीआईबी अफिसरको भूमिका निर्वाह गरेका छन्।
प्रेमकथामा आधारित यो फिल्ममा पहिलोपटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका छन्। विवाहपछि पतिसँगै अस्ट्रेलिया लागेकी प्रकृति लामो समयपछि फिल्ममा देखिँदै छिन्। उनको पछिल्लो फिल्म ‘उत्सव’ ९ वर्षअघि रिलिज भएको थियो। प्रकृतिले ‘होस्टल’बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। उनको पहिलो फिल्म नै सफल भएको थियो।
दया पछिल्लो समयका सबैभन्दा व्यस्त कलाकारमा पर्छन्। उनको फिल्म ‘फूलबारी’ हलमा प्रदर्शन भइरहेको छ।
प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहेपास’ आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ। फिल्ममा दया र प्रकृतिका साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायत कलाकारले अभिनय गरेका छन्। रोजन श्रेष्ठले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्।
Shares

प्रतिक्रिया