हरेक दिन हुने पितासँगको जम्काभेट। भेटहरुमा न्यास्रो मानेर जुध्ने आँखा। बाबा भनेर हृदयले मागेको गुहार। तर, कहिले आवाज बनेर उनको पिताको कानसम्म पुर्याउन नसकेको वाणीको कुण्ठा जीवनको कुन–कुन कालखण्डमा कसरी पोखियो, त्यसलाई यसैगरी भनेर अक्षरमा उतार्ने शब्द छैनन् सुरजसँग। झन् उमेरमै श्रीमानले त्यागेकी उनकी आमाको मनमा कुन आँधी मडारियो होला, सुरजले आजसम्म आमालाई प्रश्न गर्न सकेका छैनन्।
सुरजकी आमा सुस्केरा हाल्थिन्। उनका आफ्नै दुःख थिए। आफ्नै जीवनको भारी गह्रौं भएको हुँदो हो, तर उनलाई आफ्नो जीवनको बोझ कतै पुगेर बिसाउने छुट थिएन। उनको एक्लो काँधमा ३ छोराछोरीको अभिभारा थियो। त्यही अभिभारा पुरा गर्न उनी थाप्लोमा नाम्लो लगाएर बोकिरहन्थिन् दाउराको भारी। दाउरा बेचेर बेसाउँथिन् अन्न र भर्थिन् छोराछोरीको पेट। सायद उनका आँखा झरीझैं बर्सिरहेका हुन्थे। आफ्नी आमाका आँखाबाट बग्ने हरेक आँसुका थोपामा सुरज भविष्यको सपना देख्थे र प्रण गर्थे ‘यी आँसु आमाले हाम्रा लागि बगाएकी हुन्, हामीले नै रोक्नु पर्छ।’
आफू सरहका साथीहरु बुबाको हात समातेर स्कुल जाँदै गरेको दृश्य घाउजस्तै चह¥याउँथे सुरजको छातीमा। उनी कल्पना गर्थे, ‘मैले पनि यसैगरी बाको हात समातेर हिँड्न पाए यी बाटाहरु कति सजिला हुँदा हुन्।’ पिताको साथबिनाको बाटो मात्रै होइन, सम्पूर्ण जीवनको यात्रा नै सहज भएन। बाटो अप्ठ्यारो लागेर हार मान्ने छुट उनलाई पनि थिएन्। चोटहरु भुल्न र घरको अवस्था सुधार्न उनले झन् कडा मेहनत गरे। उनकी आमा पनि त्यसै गर्थिन्।
सुरजका आफ्नै सपना थिए। उनको सपनाको बाटो पनि जीवनको बाटो जस्तै असहज बनिदियो। उनी म्याराथन धावक बनेर देशलाई विश्वमा चिनाउने सपना देख्थे। खेलाडी बन्ने रेसमा केही समय दौडिए पनि, तर त्यो सपना छोडेर हिँड्नु पर्यो।
२०६८ सालमा साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको नेपागन्जमा भएको क्षेत्रीयस्तरको १० हजार मिटर म्याराथन प्रतियोगितामा स्वर्ण पदक जितेसँगै राष्ट्रिय खेलाडी बन्ने सुरजको बाटो सहज बन्दै गएको थियो। तर ढाडमा समस्या देखियो। उनले खेल्न पाएनन्। समयले उनलाई गायक बनायो। गायक बन्ने उनले सपना देखेका थिएनन्।
भौगोलिक हिसाबले विकट जुम्लाको चन्दननाथमा जन्मिएका सुरजले भौतिक अभावभन्दा भावनात्मक अभावमा हुर्किनु पर्यो। त्यही अभावले हुनुपर्छ, उनको मन कोमल भैरहन्थ्यो। उनी गाउँमा आयोजना हुने विभिन्न प्रतियोगिताहरुमा देउडा ठाडी भाका, नारायण गोपालका गीत सुन्थे। त्यतिबेला उनलाई लाग्थ्यो, ‘जिन्दगीमा एक दिन गीत गाउँछु।’
२०६८ सालमा उनले मञ्च पाए। गीत गाए। स्याबासी पाए। त्यसपछि एकदिन गीत गाउँछु भन्ने हुटहुटी झन् बढेर गयो। २०६८ सालमा यही हुटहुटीले सुरज काठमाडौं तानिए।
यो यात्रा उनका लागि सहज थिएन। तर उनले ५० हजार लगानी गरेर ‘जीवन साथी’बोलको गीत रेकर्ड गराए। उनलाई त्यतिबेला लागेको थियो, ‘म यो गीत पनि गाउँदिनँ।’ परिस्थिति सोचेको भन्दा उल्टो भैदियो। गीत चल्यो। गीत चलेपछि उनलाई चिनेजानेका साथीले सोध्न थाले ‘अर्को गीत कहिले?’ यही प्रश्नले सुरजलाई आत्मविश्वास मात्रै दिएन, गीतसंगीतप्रति मोह पनि बढेर गयो। तर त्यसपछि गाएका उनका केही गीत चलेनन्।
भएको पैसा गीतमा लगानी गरे। गीत चलेन। आर्थिक संकट भयो। उनी जुम्ला फर्किए। २०७२ को भूकम्पपछि उनलाई एक जना साथीले काठमाडौंमा टिकाइरहन सडक विभागमा जागिर लगाइदिए। सुरजको जीवनयापन थोरै सहज भयो। बिस्तारै गीत संगीतमा फर्किए। गीत गाउँदै गर्दा सुरजलाई लाग्यो, ‘कर्णालीलाई शब्दमा उतारौं।’
नेपालमा रेल आउने चर्चा उनको कानमा ठोक्किरहन्थ्यो। उनले आफैँसँग प्रश्न गरे, ‘सहरमा रेल आउने भयो, तर कर्णालीमा?’ यही प्रश्नले जन्माएको गीत हो ‘रेलको बाटो।’ गीत लेखराज गिरीले लेखे। यो गीतमा सुरजले संगीत गरे अनि स्वर भरे।
सायद आफैंले बाँचेको कर्णालीको कथा भएर होला सुरज गीतमा फिट सुनिए। यो गीतले उनलाई चर्चा मात्रै दिएन। सपनाको आकार नै बदलिदियो। सुरजको चर्चा चुलिँदै जाँदा उनका आफन्ती पिताको खबर बोकेर आउँथे। बाल्यकालमै छोराछोरी र श्रीमती छोडेर हिँडेका उनका बुबा हिजोआज ‘मेरो छोराले गाएको गीत’ भनेर गाउँकालाई सुनाउँछन्। आफन्त यो खबर सुरजलाई सुनाउँछन्। उनी भन्छन्, ‘बुबालाई पनि सायद मैले भर दिन सकेको भए मेरो केटो आज कहाँ पुग्थ्यो होला भन्ने लागेको हुँदो हो।’
२०७५ साल वैशाखमा सुरजले लोकसेवामा नाम निकाले। उनले आमाको सपनाका लागि पनि जागिर खानै पर्ने थियो। तर जागिरमा सुरजको उति साह्रै सपना छैनन्। जागिरलाई जीवनको आधार बनाएर गीत÷संगीतकै उडान भर्ने उनको सपना छ।
प्रतिक्रिया