ad ad

कला


छोरोका लागि बहिनी देखाउन आएकी युवतीसँग जगदीपले गरे तेस्रो बिहे!

छोरोका लागि बहिनी देखाउन आएकी युवतीसँग जगदीपले गरे तेस्रो बिहे!

नेपालखबर
चैत १५, २०७९ बुधबार १३:५३, काठमाडौँ

‘जगदीप’ नामले चिनिएका कलाकार सैयद इश्तियाक अहमद जाफरी आफ्नो समयमा निकै लोकप्रिय थिए। उनले झण्डै ४ सय फिल्ममा अभिनय गरेका छन्। अभिनयमार्फत संसारसँग खुसी साटेका जगदीपको बाल्यकाल भने निकै कठिन थियो। भारत–पाकिस्तान विभाजनको समयमा दंगामा उनका बुबा मारिएका थिए। आमाले उनलाई अनाथालयमा काम गरेर हुर्काएकी हुन्। 

७/७ वर्षको उमेरमा उनी पैसाका लागि सडकमा बेलुन बेच्ने काम गर्थे। आमालाई आर्थिक सहयोग गर्न उनले चंगा र साबुन कारखानामा पनि काम गरे। त्यही काम गर्ने क्रममा उनले फिल्ममा काम गर्ने अवसर पाए। बाल कलाकारका रुपमा अभिनयमा प्रवेश गरेका जगदीपको कलाबाट पण्डित जवाहरलाल नेहरू निकै प्रभावित भए। नेहरूले आफ्नो लठ्ठी नै उपहार दिए।

बाल कलाकारका रूपमा केही चलचित्रमा मुख्य भूमिका निर्वाह गरेपछि जगदीपले सन् १९६८ मा पहिलोपटक कमेडी भूमिका निर्वाह गरे। त्यसपछि उनका सम्पूर्ण अभिनय कमेडीवरिपरि घुम्यो। उनले ‘शोलेमा सूर’मा निर्वाह गरेको भोपालीको चरित्र अहिले पनि दर्शक सम्झना गर्छन्। 

जगदीपको व्यक्तिगत जीवन पनि सुखमय भएन। उनले जीवनमा ३ पटक विवाह गरे। ६ सन्तानका पिता भए। उनको तेस्रो विवाहको कथा पनि रोचक छ। जगदीपकी जेठी बहिनीले छोराका लागि विवाह गर्न देखाउन ल्याएकी केटीकी दिदीसँग मन साटियो। उनले विवाहको प्रस्ताव राखे। त्यो केटी उनीभन्दा ३५ वर्ष कान्छी थिइन्। जगदीपका जीवनका यस्ता अनगिन्ती कथा छन्। 

उनको जन्म सन् १९३९ मार्च २९ मा मध्यप्रदेशको दतियामा भएको थियो। उनी जन्मँदा उनका बुवाआमा सम्पन्न थिए। जगदीप हुर्कंदै गर्दा उनको परिवारमाथि दुःखको पहाड खस्यो। यो भारत–पाकिस्तान विभाजनको समय थियो। हिन्दू र मुस्लिमबीच दंगा भयो। जगदीपको परिवार विभाजनको भयानक परिणामबाट अछुतो रहेन। सन् १९४७ को यो दंगामा उनका बुबाको मृत्यु भयो, त्यसपछि परिवारले कठिनाइको सामना गर्नुपर्‍यो। जगदीपकी आमाले उनलाई कामको आशमा मुम्बई लिएर गइन्।

उनकी आमाले मुम्बई सरेपछि अनाथालयमा काम गर्न थालिन्। त्यहाँ उनको काम खाना पकाउने थियो, जसका कारण उनले बिहानदेखि बेलुकासम्म खटिनुपर्थ्यो। आमाको व्यस्त दिनचर्या देखेर जगदीप निकै दुःखी हुन्थे। उनले एकदिन अनाथआश्रमको बाहिर आफ्नै उमेरका केटाहरुले बेलुन बेचिरहेको देखे। उनीहरु त्यही बाटो उनकै उमेरका केटाकेटी टिन कारखानामा काम गर्न गइरहेका थिए। त्यसपछि उनी पनि यही काममा लागे। 

छोरालाई पढाउन चाहने उनकी आमा धेरै रिसाइन्। जगदीपले आमालाई धेरै सम्झाए। पछि उनकी आमा सहमत भइन्। जगदीपले टिन कारखानामा काम गर्न थाले। पछि साबुन बेच्नेदेखि चंगा बनाउने काम गरे। त्यही बेला एउटा होटल मालिकले उनलाई र उनका साथीहरूलाई हरियो खुर्सानी सुकेको पावसँगै खान दिन्थे। जगदीप आफ्ना साथीहरूसँग मिलेर त्यो खुर्सानीलाई पिसेर सुकेको पावसँग खान्थे।

५० को दशकको कुरा हो। यतिबेला बीआर चोपडा फिल्म ‘अफसाना’ बनाउने तयारीमा थिए। फिल्मको दृश्यका लागि उनलाई केही बाल कलाकारको आवश्यकता थियो। जब फिल्मको कास्टिङ टोली एक दिन बच्चाहरूको खोजीमा निस्कियो, तब उसले जगदीपलाई देख्यो।

टोलीले जगदीपलाई सोध्यो, ‘फिल्ममा काम गर्ने?’

जगदीपले प्रश्न गरे, ‘यो के हो सर?’ जगदीपले यसअघि फिल्म नदेखेका कारण यो प्रश्न गरेका थिए। उनले त्यसपछि कति पैसा दिने भनेर प्रश्न गरे। जवाफमा ३ रुपैयाँ पाउने भनियो। त्यसपछि जगदीप फिल्ममा काम गर्न राजी भए। 

पहिलो दिनको सुटिङको कथा
जगदीप आफ्नी आमासँग फिल्म स्टुडियो पुगे। उनले अभिनय गर्ने फिल्मको पहिलो दृश्य थियो, बालबालिकाको खेलमा केटाकेटीसँगै बसेर ताली बजाउने। त्यो दृश्यमा एउटा बालकले लामो लाइन उर्दू बोल्नुपर्ने थियो, तर केटा बारम्बार अड्किरहेको थियो। यो देखेर जगदीपले आफ्नो छेउमा बसेको केटालाई सोधे, ‘यदि मैले यसो गरेँ भने यो कामको कति पैसा पाउँछु?’

केटाले धेरै पैसा पाउने बताए। पैसाको खाँचोले गर्दा उनी गएर त्यो लाइन बोले। उर्दू राम्रो थियो, त्यसैले एकै टेकमा पूरै लाइन बोले। उनले यो कामको ६ रुपैयाँ पाए। जगदीपले यही भूमिकाबाट लोकप्रियता पाए, त्यसपछि उनले ‘लैला मजनु, फुटपाथ’ जस्ता फिल्ममा बाल कलाकारको भूमिका निर्वाह गरे। जगदीपले सन् १९६८ मा फिल्म ‘ब्रह्मचारी’मा कमेडी भूमिका निर्वाह गरे। त्यसपछि उनको फिल्मी करिअरले पिकअप लियो। यो पछि जगदीपलाई फिल्मको अफर प्रशस्तै आउन थाले। फिल्मको क्यारेक्टरबाटै उनको नामा जगदीप राखिएको हो। त्यसपछि उनी यही नामले चर्चित भए।

फिल्म ‘फुटपाथ’मा उनले जगदीप नामको चरित्र निर्वाह गरेका थिए। त्यसपछि उनको नाम सैयद इश्तियाक अहमद जाफरीबाट जगदीप भयो। उनको जगदीपको भूमिकालाई दर्शकले निकै रुचाए। जगदीपले फिल्म ‘धोबी डाक्टर’मा किशोर कुमारको बाल्यकालको भूमिका निर्वाह गरे। यो फिल्ममा उनले रोइरहेको सिन गर्नुपरेको थियो। यस दृश्यमा जगदीपको अभिनय यति अचम्मको थियो कि निर्देशक विमल रोय उनको फ्यान बने।

उनले आफ्नो सचिवलाई जगदीपलाई भेट्न बोलाउन आग्रह गरे। यी दुईको भेट भयो। त्यसपछि विमल रोयले उनलाई फिल्म ‘दो बिघा जमीं’मा प्रस्ताव गरे। त्यसपछि दुवैले सँगै केही फिल्ममा काम गरे।

पण्डित जवाहरलाल नेहरूले आफ्नो लठ्ठी उपहार दिए
बाल कलाकारका रूपमा ‘मुन्ना, अब दिल्ली दूर नहीं है, हम पंछी एक डाल के’जस्ता चलचित्रमा उनले काम गरे। जसलाई दर्शकहरूले मन पराए। यी सबै फिल्महरू तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले पनि हेरे र फिल्ममा काम गरेका सबै बाल कलाकारलाई बिहानको खाजामा बोलाए।

पण्डित नेहरूले नास्तासँगै बच्चाहरूलाई गुलदस्ता पनि दिए, तर जब जगदीपको पालो आयो, तब गुलदस्ता सकियो। त्यसमा प्रधानमन्त्रीले उनलाई भने, ‘जगदीप फिल्ममा तिम्रो अभिनय उत्कृष्ट थियो, मलाई धेरै मन पर्‍यो। यस क्षणमा गुलदस्ता सकियो, तर म चाहन्छु- तिमीले  मेरो लठ्ठीलाई सम्मानको चिह्नका रूपमा राख।’ जगदीपले प्रधानमन्त्रीले दिएको लठ्ठीलाई जीवनभर सुरक्षित राखे।

एकपटक निर्देशक के आसिफले जगदीपलाई फिल्म अफर गरे। यो खबर पाएपछि कतिपयले उनलाई के आसिफ एकदमै दयालु मानिस भएको भन्दै धेरै शुल्क माग्न सुझाव दिए। जगदीपले पनि निर्देशकलाई भेटे । उनले फिल्ममा काम गरेबापत कति पारिश्रमिक लिने भनेर सोधे। जगदीपले २५ सय रुपैयाँ भन्ने जवाफ दिए। त्यसमा आसिफले भने, ‘तिमीलाई आफ्नो वास्तविक मूल्य थाहा छैन। म तपाईंलाई यो भूमिकाको लागि ३५०० रुपैयाँ दिनेछु।’ तत्काल ५ सय दिएर पठाए। बाँकी पैसा काम सकिएपछि दिने बताएका निर्देशकले उनलाई भने, ‘बाँकी पैसाको पनि आवश्यकता पर्‍यो भने जतिबेला पनि माग्न सक्छौ।’

फिल्मको सुटिङ चलिरहेकै बेला जगदीप निर्देशकलाई भेटिरहन्थे। आवश्यक परेको पैसा माग्थे। आसिफ मागेको पैसा दिन्थे। यो क्रम देखिरहेका आसिफका नोकर रिसाए। एक दिन उनले जगदीपलाई रोकेर भने, ‘तिमी किन बारम्बार पैसा माग्न आउँछौ?’ जगदीपलाई यो सुनेर निकै नराम्रो लाग्यो। त्यसपछि पैसा माग्न छाडे। आसिफले उनलाई सहयोग गरिरहे। त्यसपछि जगदीपले कहिल्यै पैसा नमाग्ने बताए। तर, एक दिन उनलाई केही पैसाको खाँचो पर्‍यो। अन्ततः उनी बाध्य भए उनी आसिफकहाँ आउनुपर्‍यो, किनभने उसलाई थाहा थियो कि यो समस्याको घडीमा उसलाई मद्दत गर्न उनी त्यहाँ हुनेछन्।

उनलाई त्यतिबेला आसिफले ५० रुपैयाँ दिए। त्यसपटक पनि नोकरले जगदीपलाई रोकेर भने, ‘तिमी फेरि आयौ! आसिफ र उहाँकी श्रीमतीसँग यो ५० रुपैयाँ मात्र थियो। जुन उहाँहरूले तिमीलाई दिए।’ यो घटनाले जगदीप जीवनभर पछुताए। यो घटना सम्झेर उनी बारम्बार भन्ने गर्थे, ‘आसिफजस्ता महान् र दयालु निर्देशकले मात्र ‘मुगल ए आजम’ जस्तो फिल्म बनाउन सक्थे।’

३ विवाह, ६ सन्तान
जगदीपको व्यक्तिगत जीवन पनि कुनै फिल्मी कहानीभन्दा कम छैन।  उनले ३ विवाह गरेका थिए, जसबाट ६ सन्तान जन्मिए। पहिलो पत्नी नसिम बेगम, दोस्रो सुग्रा बेगम र तेस्रो नाजिमा थिइन्।

तेस्रो विवाहको कथा अलि फरक छ। रिपोर्टका अनुसार जगदीपका छोराका लागि केटी लिएर केटीकी दिदी आएकी थिइन्। उनका छोरा नावेदले ती केटीसँग विवाह गर्न अस्वीकार गरे। 

तर ती केटीकी दिदी जगदीपलाई पहिलो नजरमै मनपर्‍यो। उनले युवतीलाई विवाहको प्रस्ताव राखे। उनले पनि स्वीकार गरिन् र विवाह गरिन्। यस विवाहबाट उनको एउटी छोरी मुस्कान जाफरी जन्मिइन्।

जगदीप ८१ वर्षको उमेरमा रोगसँग लडिरहेका थिए। कोरोना लकडाउनमा उनी निकै कमजोर भएका थिए। अन्ततः, जुलाई ८ सन् २०२० मा उनको मृत्यु भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .