प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय गठबन्धन वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन्।
काठमाडौं महानगरपालिकाले बुधवार गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले
यस्तो बताएका हुन्।
प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे।
‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ’, उनले भने।
प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए।
प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग र बलिदानबाट संविधान निर्माण भइ परिवर्तन र सामाजिक रुपान्तरणका मुद्दा संस्थागत गरिएको भएपनि संविधानले परिकल्पना गरेअनुरुप संघीय र प्रादेशिक ऐनहरु निर्माण हुने क्रम जारी नै रहेको बताए।
उनले संविधानले व्यवस्था गरेअनुरुप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको सही विन्यास गर्न संघीय कानूनहरु यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूलाई रहेको बताए।
उनले कतिपय संघीय कानूनहरु समेत एकअर्कासँग बाझिएको अवस्था रहेकाले त्यसको समाधानका लागि सरकारले भूमिका खेलिरहेको बताए।
प्रधानमन्त्री दाहालले उल्लेखित ऐनहरुको निर्माण र संशोधनको प्रक्रिया पूरा गरेपछि संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्ने बताए।
प्रतिक्रिया