ad ad

कला


हिँड्दै जाँदा बाटो आफैँ बन्दो रहेछ : विजय बराल (भिडिओ)


राधिका अधिकारी
बैशाख ८ , काठमाडौँ

विजय बराललाई थाहा छैन, आफ्नै जीवनको रङ। तर उनी नेपाली सिनेमा र थिएटरका कहिल्यै नमेटिङ रङ भैसकेका छन्। स्कुलमा गरेको सामान्य क्यारिकेचर, थिएटर हुँदै ठूलो पर्दामा जमेका विजय सोचेर वा योजना बनाएर यहाँ आइपुगेका होइनन्। विजयलाई हिजोआज लाग्छ, ‘हिड्दै जाँदा बाटो आफैँ बन्दो रहेछ।’

मनले रोजेको बाटोले विजयलाई रंगमञ्च पुरायो। रंगमञ्चमा चर्चित भए। ‘चरनदास चोर’, ‘सिरुमारानी’, ‘मितज्यू’, ‘रसोमन’, ‘वैतरणी क्याफे’ लगायतका नाटकमा अभिनय गरे। रंगमञ्चमै रमाइरहेका विजयलाई साथी-संगतीले पर्दामा पुर्‍याए। विजय पर्दामा पनि उस्तै जमेका छन्। ‘छड्के’, ‘साँघुरो’, ‘कर्कश’, ‘कबड्डी’ हुँदै ‘जारी’ सम्म आइपुग्दा विजय नेपाली फिल्म उद्योगले मात्रै होइन, दर्शकले पनि फर्किफर्की हेर्ने कलाकार बनेका छन्। उनी सधैँ सहायक भूमिकामा देखिन्छन् तर शीर्ष कलाकारको भन्दा गहिरो छाप छोड्न सफल छन्। 

बाल्यकाल
विजयलाई क्यारिकेचर गर्न मन पथ्र्यो। साथीभाइलाई हँसाउन रमाइलो लाग्थ्यो। उनलाई म कलाकार बन्छु भन्ने थियो। उनलाई सिनेमाका कुरा थाहा थिएन। थिएटर हुन्छ भन्ने सोचेकै थिएनन्। विजयले स्कुल पढ्दै गर्दा नारद खतिवडाका ठट्यौली गीत चर्चित थिए। साथीहरु हँसाउन विजय नारदका गीतमा कम्मर मर्काउँथे। भन्छन्, ‘जुँगा बनाउँथेँ अनि नाँच्थे। साथीहरु भन्थे– केटा तँ कलाकार बन्छस्, काठमाडौं जा, म उक्सिन्थेँ।’

अहिले पनि उनी कुरा गर्दा मजाक गरिरहन्छन्। उनको कलाकारिता बिर्सिएर कुरा मात्रै सुनिबस्ने हो भने उनी उम्दा कमेडियन लाग्छन्। पर्दामा पनि उनले रमाइला पात्रको भूमिका निर्वाह गरेका छन्। उनको यो स्वभाव बाल्यकालदेखिकै हो। 

उमेर बढेसँगै विजयको साथीलाई हसाउँने जिम्मेवारी पनि बढ्दै गयो। उनी क्यारिकेचर गर्ने स्वरहरु खोज्दै गए। नेपालीदेखि बलिउडसम्मका कलाकारको क्यारिकेचर गरे। नेतादेखि गाउँकै सामान्य मानिससम्म उनको क्यारिकेचरका पात्र बने। उनका साथीहरु अघिपछि बसेर उक्साइरहे, ‘तैँले ठ्याक्कै मिलाइस् केटा, तँ कलाकार बन्नु पर्छ।’ 

त्यसपछि उनलाई लाग्यो, ‘काठमाडौं जान्छु, कमेडियन बन्छु।’ 

त्यतिबेला उनलाई उनी जस्तै सपना पछेयाउँदै आउँने कयौँ हुन्छन्, भीडमा म रुमल्लिन सक्छु भन्ने थाहा थिए। 

बुबा र हजुरबुबामा बाँडिएको प्रेम
राजनीतिक हिसाबले विजयको बाल्यकाल दुई भागमा विभाजन भयो। उनका हजुरबुबा–हजुरआमा कांग्रेस, बुबा–आमा एमाले थिए। विजय हजुबुबासँग नजिक। तर विचारका हिसाबले कहिले बुबातिर पनि ढल्किन्थे। सर्लाहीको लालबन्दीमा झण्डै ७ वर्ष विजयले घरमा रातो र हरियो झण्डाको लुकामारी खेलाइरहे। हजुरबुबाको प्रेममा लुट्पुटिँदै विजय घरको छतमा हरियो झण्डा गाडिदिन्थे, बुबाको प्रश्न आउँथ्यो ‘के गरेको तैँले?’ ‘लु रातो पनि’ भन्थे अनि मनाउँथे बुबालाई। अन्ततः यो लुकामारी हजुरबुबाको प्रेमले जित्यो र उनले बनाए आफ्नो बेग्लै धारणा।

विजयलाई अहिले पनि हजुरबुबा भैदिएको भए भन्ने लाग्छ। उनका हजुरबुबा भन्थे, ‘केटा पढ है, पढ्नु पर्छ। तेरो बाउले पढेको थियो र अहिले हामी सबैको जीवन सहज भएको छ।’ हजुरबुबाका कुरा उनी उति बुझ्दैनथे। बुबा चाहिँ सम्झाउँथे ‘पैसो कमाउनु पर्छ है केटा।’ बुबाका कुरा विजय सजिलै बुझ्थे। तर उनलाई सजिलै बुझेएको भन्दा सजिलै बुझ्न नसकिने कुरा महत्वपूर्ण लाग्थ्यो।

विजयले आफ्नो जीवनको सफलता हजुरबुबालाई देखाउन पाएनन्। विजय थिएटरमा छिर्नु र हजुरबुबाको मृत्यु हुनु एकैपटक भैदियो। उनी हजुरबुबालाई सम्झँदै भन्छन्, ‘हजुरबुबा हुलासचन्द्र गोल्छाको पुजारी हुनुहुन्थ्यो। हामी दुई भाइ पनि हजुरबुबासँग जान्थ्यौं। भाइ भाँडा माझ्थ्यो, म पूजा गर्थेँ। मलाई मन्त्री भन्न आउँदैनथ्यो। आएको अभिनय गर्थे। सायद यो नै अभिनयको पहिलो खुड्किलो थियो मेरो। हजुरबुबासँग जीवनमा धेरै कुरा सिक्ने मौका पाएँ।’

विजयका बुबा सरकारी जागिरे। हप्तामा एक पटक घर आउँथे। विजय हजुरबुबासँग झैँ बुबासँग नजिक हुनै पाएनन्। अहिले उनलाई लाग्छ, ‘नजिकै बसेर हुर्कन पाएको भए मेरो बुबा पनि पाठशाला हुन्थे सायद,’ विजय भन्छन्, ‘३ पुस्तामा जहिले पनि बीचको पुस्ता थाहा नपाउने किसिमले कोल्याप्स हुँदो रहेछ। त्यो किन पनि रहेछ भने त्यो बीचको पुस्ताले पहिलो र पछिल्लो पुस्ताको जिम्मेवारी उठाउनु पर्दो रहेछ। त्यही जिम्मेवारीले बुबा टाढा जस्तो हुनु भयो। मेरो जीवनको हरेक कुरामा हजुरबुबाको महत्वपूर्ण स्थान छ। आज पनि हजुरबुबालाई सम्झिन्छु। जिन्दगी भन्नु नै सम्झनु त रहेछ।’ 

काठमाडौंले देखाएको गुरुकुलको बाटो
सपना एकातिर थियो। प्लस टु सकेर काठमाडौं आएका विजय स्नातक पढ्न मिनभवन क्याम्पस भर्ना भए। कजेलमा उनको आफ्नै ग्याङ पनि थियो। त्यसबेला ग्याङमा नेविसंघ भन्दै हुरुरु हिँड्दाको उनको सान बेग्लै। उनी क्यारिकेचर गर्थे र विद्यार्थीलाई मक्ख बनाउँथे। एकताका उनी राजनीतिमा पनि निकै लहसिएका थिए।

विजयले पार्टी मन परेर राजनीति गरेका थिएनन्। हजुरबुबाको प्रेमले विजारोपण गरिदिएको वैचारिक चिन्तनलाई गगन थापाको भाषण गर्ने शैलीले झन् धेरै प्रभावित बनायो। यही प्रभावले उनी गगनलाई भेट्न समेत पुगे। भेटेपछि गगनबाट विजय झन धेरै प्रभावित भएका थिए।

राजनीति, पढाइ चलेकै थियो। एकदिन भारतबाट नाटक निर्देशक एके रैना गुरुकुलमा प्रशिक्षण दिन आउने खबर थाहा पाए। उनी बेलाबेला गुरुकुलमा नाटक हेर्न पुग्थे। उनले नाटक सिक्न पनि जाने निधो गरे। क्यारिकेचर गरेर विजयले प्रशिक्षणको ४५ दिन बिताए। एकदिन उनले सिरियस अभिनय गरे। त्यो प्रशिक्षणको अन्तिम दिन थियो। विजयको क्यारिकेचरबाट दिक्क भएका रैनाले धाप मारे। यही धापले विजयको जीवनको गति मोडिदियो। उनले रैनाकै ‘अन्धोयुग’मा अभिनय गरे। 

रंगमञ्चको चुम्बकले तानेपछि विजयले राजनीति बिर्सिए। रैनाको धापपछि विजयले आफ्नो दिमागबाट राजनीति ‘डिलिट’ गरिदिए र पेस्ट गरे ‘रंगमञ्च।’ 

रंगमञ्चमा प्रवेश गरेपछि विजयको सपना थिए सुनिल पोखरेल। सुनिलबाहेक रंगमञ्चका अन्य कलाकार उनको दिमागमा थिएनन्। सानैबाट फिल्म हेरेको उति साह्रो सम्झना विजयसँग थिएन। त्यसैले पनि पर्दाका कलाकार उनका आदर्श बनिसकेका थिएनन्। सुनिललाई विजय आक्लझुक्कल गुरुकुलमा भेट्थे। परैबाट हेर्थे चित्त बुझाउँथे। गुरुकुल पुगेपछि विजयले राजन खतिवडालाई चिने, दयाहाङ राईलाई भेटे। गुरुकुल भत्कियो। मण्डला थिएटर बन्ने भयो। मण्डलाको जगमा विजयले पसिना सिञ्चिए। 

अर्थिक हिसाबले ठिकठाक चलिरहेको जीवन चटक्क छोडेर विजय रंगमञ्चमा हाम फाले। यहाँ व्यस्तता र अभाव दुवै थियो। उनी मात्रै होइन, त्यो समय दयाहाङ राई, राजन खतिवडा सबै अभावमा थिए। खाने र बस्ने ठेगान थिए। विजयसँग कयौं दिन सडक बालबालिकाले झैँ जीवन बिताएको अनुभव पनि छ। मण्डला थिएटरमा कालो म्याटमाथि पल्टिएर उनले कयौं पटक आफ्नै जीवनको निराश सुस्केर फालेका छन्। 

उनलाई लाग्थ्यो ‘मेरो जीवन के हुँदैछ?’ अभिनय सिक्न गएका विजयले केही समय बालुवा चाल्न, इँटा धुन, मसला बनाउन सिके। यो सिकाइले निराश हुँदै दया र राजनलाई प्रश्न गर्थे, ‘के सिक्न खोज्यौँ हामीले, के सिकिरहेका छौँ?’ जवाफ आउँथ्यो, ‘यही हो संघर्ष भनेको। अहिले सिकेको पछि थाहा हुन्छ।’ विजयलाई लाग्थ्यो, त्यो पछि कहिले आउला?

आफूले पनि श्रम गरेको मण्डला तयार भएको दिन अभिनय गर्न पाइने भयो भनेर विजय निककै खुसी थिए। तर २ वर्षसम्म उनले ‘ब्याकस्टेज’मा काम गरे। थिएटर सेट बनाउने, कलर गर्ने, सफा गर्ने, पानी राख्ने काम गरे। त्यो बेला पनि उनी कयौं पटक निराश भए। उनलाई थाहा थिएन, उनी अभिनयका लागि तयार हुँदै छन् कि छैनन्। सुरुमा स–साना भूमिका पाए। त्यसपछि बल्ल उनको खुसी फर्कियो। जीवन रमाइलो लाग्न थाल्यो। हिजोआज विजयलाई थिएटर जिन्दगीको सबैभन्दा सुन्दर यात्रा लाग्छ। 

सिनेमाको अर्को दुनियाँ
नाटकमा जमेपछि विजयले सिनेमाको यात्रा तय गरे। नाटकमा जस्तै विजय सिनेमामा पनि जमेका छन्। उनलाई थिएटरभन्दा सिनेमाको दुनियाँ स्वार्थी लाग्छ। तर, जीवन सहज बनाएको छ। अहिलेसम्म सहायक भूमिकामा देखिएका विजय दर्शकमा राम्रै छाप छोड्न सफल छन्। पैसा पनि राम्रै कमाइ हुन्छ। तर उनी अफर आएका सबै फिल्ममा काम गदैनन्। अफर आएका केही सिनेमा छोड्नुका पछाडि कहिले सिनेमा क्षेत्रप्रतिको दिक्दारी त कहिले दर्शकको माया प्राथमिक भएर आइदिन्छ। 

सिनेमाको ग्ल्यामरले पनि उनलाई चुम्बकले झैं तानेको छ। विशेषगरी ‘कबड्डी कबड्डी’ हिट भएपछि उनले नाटकबाट नपाएको लोकप्रियता पाए। त्यसपछि नाटक हेर्न आएका दर्शकले पनि उनलाई एककोहोरो हेर्थे। उनको यो यात्राले ‘जारी’सम्म आइपुग्दा थुप्रै उतारचढाव देखेको छ। तर विजयलाई यो यात्रा सुन्दर लाग्छ। 

विजयलाई लिएर उनका बुबाको सपना थियो बैंकको जागिरे भैदियोस्। उनले बुबाको त्यो सपना बुझेका पनि हुन्। तर बुबाको सपना पुरा गर्नतिर लागेनन्। बुबाले गुनासो गर्नै छोडिदिए। उनको मुटुमा बेला–बेला हजुरबुबालाई सम्झिएर गाँठो पर्छ। हजुरबुबाले भन्थे, ‘बाउले जागिर खायो र हामीलाई पाल्यो। तँ यस्तो गर्छस्, कसरी बाउ–आमा पाल्लास्?’ अहिले विजय छोराबाट छोराको बाबु भैसके। उनी हजुरबुबालाई सम्झन्छन्, ‘हजुरबाले भनेको कुरा गरिएन। त्यो कुराले कहिलेकाहीँ रमाइलो हुँदा–हुँदै पनि ठ्याक्कै मुटुमा गाँठो पारिदिन्छ।’

अभिनय बाँच्दाबाँच्दै विजयलाई हिजोआज जिन्दगी नै अभिनय जस्तो लाग्छ। उनी जीवनमा केही सोचेर बाँच्ने मान्छे होइनन्। अभिनयमा जस्तै जीवनमा पनि बाँच्दै जाँदा जे जे भेटिन्छ त्यही भोग्दै जान्छन्। उनलाई फ्रेममा कैद गरेर बाँचेको जिन्दगी उति सुन्दर हुन्छ जस्तो लाग्दैन। 

बैशाख ८, २०८० शुक्रबार १९:४६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .