ad ad

कला


हिजो दुखाउने कथा आज मिठो भएको छ : विमलेश अधिकारी (भिडिओ)


राधिका अधिकारी
बैशाख १६ , काठमाडौँ

एक समय दुःख भनेर दिएको चिनारी समयको अर्को कालखण्डमा पुगेपछि खुशीमा परिणत हुन सक्छ। मोडल तथा अभिनेता विमलेश अधिकारीको जीवनमा यो लाइन ठ्याक्कै लागू हुन्छ। उनले अभिनयको सपना देख्दै गर्दा उनको जीवनको सबैभन्दा ठूलो दुःख नै त्यही थियो। उनलाई सपनाले भन्दा पनि हिँड्ने बाटोमा आएका अवरोधले दुखाउँथ्यो। त्यो अवरोध कालान्तरमा विमेलशका लागि सुनाउने मिठो कथा बनिदियो। 

विमलेश म्युजिक भिडिओको मोडल अथवा फिल्मको हिरो बन्छु भन्ने सपना देखेर हुर्किएका होइनन्। एसएलसी दिनेबेलासम्म उनी निकै मोटा थिए। त्यो समय उनका लागि त्यही शारीरिक बनावट नै टाउँको दुखाइको विषय बन्थ्यो। साथी–भाइ मोटे भन्थे। विमलेशको मन दुख्थ्यो। उनी र्‍याम्पमा हिँड्ने सपना देख्थे र साथीलाई सुनाउँथे। साथीहरु गल्लल हाँस्थे र भन्थे, ‘यस्तो मोटेले मोडलिङ गर्ने।’ साथीको यो हाँसोले उनलाई पीडा हुन्थ्यो। 

एक विन्दुमा पुगेपछि उनलाई लाग्यो, ‘अब मैले मेरो शरीर घटाउनु पर्छ।’ त्यही अनुसारको डाइट प्लान बनाए, मेहनत गरे। छोटो समयमा उनको शारीरिक बनोट परिवर्तन भयो। उनको परिवर्तित शरीर हेरेर पहिला गिल्ला गर्ने उनका साथीले भन्न थाले, ‘तेरो लुक्स हिरोको जस्तो छ, काठमाडौं गएर फिल्म खेल।’

मनको भित्री कुनामा दबेर बसेको एउटा रहर अरुले पनि भनिदिएपछि झन् तीव्र भएर आयो। तर उनलाई म्युजिक भिडियो अथवा फिल्मप्रति कुनै चासो थिएन। विराटनगरमा हुर्किएका उनमा बलिउडको प्रभाव थियो। उनले नेपाली फिल्मका बारेमा बुझेकै थिएनन्। उनलाई मोडल बन्नु थियो। उनले देखेको सपना पनि यही हो। तर यो सपना विराटनगर नै बसेर पुरा हुँदैनथ्यो। काठमाडौं पठाउन बुबा राजी थिएनन्। 

बुबा चाहन्थे, छोराले राम्रोसँग पढोस्। शैक्षिक रुपमा अब्बल होस्। राम्रो जागिर खाओस्। हरेक बुबाआमाले आफ्ना छोराछोरीका लागि देख्ने सपना त्यही नै हो। तर उनले आफैँसँग अठोट गरिसकेका थिए। आमालाई मनाए। आमाले पटुकाको फेरमा गाँठो पारेर राखेको केही रकम हातमा थमाइदिँदै भनिन्, ‘आफ्नो लक्ष्य पूरा गरेस्।’ यसो भन्दै गर्दा आमाको अनुहारको भाव कस्तो थियो, आँखामा आँसु थिए कि खुसी विमलेशले हेर्ने आँट गरेनन्। उनी केही जोर कपडा ब्यागमा हालेर काठामाडौं आए। 

त्यसपछि झण्डै १ वर्ष मोडलिङ गरे। तर यहाँको संघर्ष सोचेको जस्तो सहज थिएन। राम्रो गर्दागर्दै पनि आफूलाई अब्बल साबित गर्न गर्नु पर्ने संघर्ष अर्कै थियो। यो समय विमलेश बुबाले ‘यो क्षेत्र तिम्रो लागि होइन’ भनेको कुरा खुब सम्झना गर्थे। र्‍याम्प मोडलिङमा काम गर्दा गर्दै विमलेश झण्डैझण्डै थाकिसकेका थिए। उनी विराटनगर फर्किने तयारीमा थिए। त्यही समय उनको भेट स्वर्गीय निर्देशक आलोक नेम्वाङसँग भेट भयो। त्यसपछि उनले गायक हेमन्त शर्माको ‘थाप न थाप हातैमा’ गीतको म्युजिक भिडिओमा काम गराए। विमलेशको करिअरले यहीबाट फट्को मार्यो।

यो गीतको म्युजिक भिडिओमा काम गरेपछि विमलेशले पछाडि फर्किएर हेर्नु परेन। भर्खरै बिस्तार हुँदै गएको म्युजिक भिडिओको बजारमा उनी सबैभन्दा व्यस्त मोडल भए। चलेको फेजमा पनि विमलेशलाई कच्चा जस्तो देखिने अनुहारले थुप्रै पटक धोका दिएको छ। तर पक्का अभिनयलाई कच्चा अनुहारले दबाउन सकेन। उनले निरन्तर काम गरे।  

उनी म्युजिक भिडियोमा मात्रै अडिएर बसेनन्। उनले थुप्रै विज्ञापनमा काम गरे। मुटु, तुलसी, जंगबहादुरको कोट, ब्रेकफेललगायतका फिल्ममा काम गरे। म्युजिक भिडिओमा जस्तो विमलेशको जादु फिल्ममा भने चल्न सकेन। तर उनलाई म्युजिक भिडिओको मोडल भन्दा नै आनन्द आउँछ। फिल्मको हिरो भन्ने छवि नबनेकोप्रति खासै गुनासो छैन। जब विमलेश म्युजिक भिडिओमा चिनिए, तब बुबा पनि खुसी भए। विमलेशको पनि दुःख खुसीमा परिणत भयो। 

तर, अहिले उनी म्युजिक भिडिओमा नदेखिएको थुप्रै वर्ष भयो। अभिनयमा स्थापित भएपछिका केही वर्ष उनले अमेरिकामा स्थापित हुन संघर्ष गरे। यो संघर्ष उनको रहर या बाध्यता थिएन। त्यो समय उनका मिल्ने साथी उतै सेटल भएर बसेका थिए। कार्यक्रमको सिलसिलामा अमेरिका जानेआउने क्रममा उतै बस्न सुझाव दिए। उनी पनि यहाँको उत्सर्गको करिअर छोडेर उतै बसे। समयसमयमा नेपाल आएका बेला पनि उनले पारिवारसँगै समय बिताए। तर उनले काम गरेर पाइपलाइनमा रहेका थुप्रै म्युजिक भिडिओ लामो समयसम्म रिलिज भैरहे। दर्शकले उनी इन्ड्रस्टीमा छैनन् भनेर मेसो पाएनन्। केही वर्षदेखि उनका फ्यानले कहिले कमब्याक गर्ने भनेर प्रश्न गर्न थाले। विमलेशलाई दर्शकको यो प्रश्नको सम्बोधन गर्नु पर्छ भन्ने लाग्यो।

अघिल्लो साता मात्रै नेपाल आएका विमलेश यसपटक केही प्रोजेक्टमा काम गर्ने तयारीमा छन्। उनले उनको जीवनमा सबैभन्दा धेरै केकी अधिकारीसँग काम गरे। लामो समयको ग्यापपछि उनी केकीसँगै कमब्याक गर्ने तयारीमा छन्। उनै विमेलशसँग हामीले भिडिओ संवाद गरेका छौँ। 

बैशाख १६, २०८० शनिबार ११:७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .