कला


इमरान–बलिउड कनेक्सन : शाहरुखलाई गाली गरे, रेखालाई प्रेम

इमरान–बलिउड कनेक्सन : शाहरुखलाई गाली गरे, रेखालाई प्रेम

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १३:२८, काठमाडौँ

पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा स्थिति नियन्त्रणबाहिर छ। पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानको बलिउडसँग गहिरो सम्बन्ध छ। बलिउड अभिनेता शाहरुख खान इमरानका फ्यान हुन्। इमरानको नाम रेखा र जिनत अमानजस्ता अभिनेत्रीसँग पनि जोडिएको थियो।  रेखासँगको उनको सम्बन्ध विवाहसम्म पुगेको खबर मिडियामा सार्वजनिक भएका थिए। इमरान क्रिकेट खेलाडी हुँदा देव आनन्द उनलाई आफ्नो फिल्ममा नायकका रूपमा साइन गराउने इङ्गल्यान्ड पुगेको खबर सार्वजनिक भएको थियो। 

यस्ता छन् इमरान-बलिउड कनेक्सनका केही कथा
शाहरुख बाल्यकालमा इमरानका फ्यान थिए। एकपट उनी इमरानको अटोग्राफ लिनसमेत गएका थिए। तर त्यो समय उनले इमरानको गाली खाएका थिए। शाहरुखले हमिद मिरसँगको क्यापिटल टकमा यो किस्सा सुनाएका हुन्। यो कथा त्यतिबेलाको हो, जतिबेला इमरान पाकिस्तानी क्रिकेटर मात्र थिए। शाहरुख पनि हिरो बन्ने दौडमा थिए।

त्यो समय शाहरुख इमरानका बिग फ्यान थिए। शाहरुखले त्यो क्षण सम्झिँदै भनेका छन्, ‘इमरान एक खेल खेल्न भारत आएका थिए। पाकिस्तानको खेल दिल्लीको फिरोज शाह कोटला स्टेडियममा भएको थियो, जहाँ पाकिस्तानी टोली हारको संघारमा थियो। टोलीलाई इमरानबाट धेरै आशा थियो तर उनी मात्र ३० रन बनाएर आउट भए।’

जब इमरान स्टेडियमबाट निस्कन थाले, शाहरुख अटोग्राफ लिन उनको नजिक पुगे। आउट भएपछि निराश इमरानले आफ्नो सम्पूर्ण रिस शाहरुखमाथि खन्याए र उनलाई गाली गर्दै बाटोबाट हट्न भने। त्यसबेला आफू निकै पीडित भएको शाहरुखले बताएका छन्।

शाहरुखले आफू स्टार बनेपछि इमरानलाइ भेट्ने मौका पाए। भेटमा आफूले गुनासो गर्दै उक्त घटना सुनाएको र त्यो समय इमरान मज्जाले हाँसेको शाहरुखले उल्लेख गरेका छन्। 

अमिताभदेखि आमिरसम्मको सहयोग


९० को दशकमा क्रिकेटर हुँदा इमरान खानले पाकिस्तानमा क्यान्सर अस्पताल बनाएका थिए, जसका लागि धेरै भारतीय स्टारले उदारतापूर्वक चन्दा दिएका थिए। यस पहलमा इमरान खानलाई सहयोग गर्नेहरूमध्ये अमिताभ बच्चन, विनोद खन्ना, आमिर खान अग्रपंक्तिमा आउँछन्।

रेखासँग अफेयर र विवाहको हल्ला
इमरान खान आफ्नो प्रेम जीवनका साथै उत्कृष्ट क्रिकेटरका कारण चर्चामा रहे। कुनै समय उनको नाम चर्चित अभिनेत्री रेखासँग जोडिएको थियो। सन् १९८५ मा रेखाले इमरानसँग विवाह गर्न चाहेको खबरसमेत सार्वजनिक भयो। स्टार रिपोर्ट नामक पत्रिकाले दुवैको विवाहबारे लामो लेख छापेको थियो। लेखका अनुसार, अप्रिल १९८५ मा इमरान मुम्बईमा बस्थे। त्यही समय उनको रेखासँग प्रेम बसेको थियो।

दुवै नाइट क्लबमा सँगै देखिएका थिए। रेखाकी आमाले एक अन्तर्वार्तामा आफ्नी छोरीको पार्टनरका रुपमा इमरान खानभन्दा राम्रो अरु कसैलाई नभेट्ने बताएकी थिइन्। भनिन्छ- रेखा इमरानसँगको सम्बन्धबारे जिज्ञासा लिएर दिल्लीमा एक ज्योतिषीसँग गएकी थिइन्। तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन।

इमरानले भने कुनै पनि अभिनेत्रीसँग बिहे नगर्ने बताएका थिए। उनले एक अन्तर्वार्तामा अभिनेत्रीहरूसँग समय बिताउनु केही समयका लागि मात्रै राम्रो हुने बताएका थिए। उनले भनेका थिए, ‘म केही समय उनको संगतको आनन्द लिन्छु र त्यसपछि अगाडि बढ्छु। म कुनै पनि चलचित्र अभिनेत्रीसँग बिहे गर्दिनँ।’

देव आनन्दको अफर
इमरानले एक पुरानो अन्तर्वार्तामा हिन्दी सिनेमाका दिग्गज अभिनेता देव आनन्दले आफूलाई फिल्ममा काम गर्ने अफर गरेको बताएका छन्। तर त्यो अफर आफूले अस्वीकार गरेको दाबी गरेका छन्। इमरानले भनेका छन्, ‘भारतका एक महान् अभिनेताले मलाई फिल्ममा काम गर्ने अफर गरेको भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ। तर मलाई मनाउन उनी इङ्गल्यान्ड पनि पुगे।’

दबाब दिएपछि इमरानले अभिनेताको नाम उल्लेख गरेका थिए।  देव आनन्दले आफ्नो आत्मकथा रोमान्सिङ विथ लाइफमा पनि यो घटना उल्लेख गरेका छन्।

इमरानले भनेका थिए, ‘यो मेरा लागि धेरै अनौठो थियो। म एक राम्रो क्रिकेटर हुँ, यसको मतलब म राम्रो अभिनेता बन्न सक्छु भन्ने होइन। यसले मलाई कुनै अर्थ राख्दैन।’

देव आनन्दबाहेक इस्माइल मर्चेन्टले पनि इमरानलाई अफर गरेका थिए तर उनले स्कुलको नाटकमा पनि अभिनय गर्न नसक्ने भन्दै फिल्ममा कसरी अभिनय गर्ने भनेर अस्वीकार गरेका थिए।

प्रधानमन्त्री इमरानको मेल अभिनेता इमरानलाई पुग्यो
सन् २०१८ मा ‘जाने तु या जाने ना’ फिल्मका अभिनेता इमरान खानलाई एउटा अनौठो मेल आयो। वास्तवमा त्यो मेल अभिनेता इमरान खानका लागि नभई पाकिस्तानका प्रधानमन्त्री इमरान खानका लागि लेखिएको थियो। मेलमा लेखिएको थियो, ‘प्रधानमन्त्रीज्यू, सफल नेताले सही समयमा सही निर्णय लिन्छ। उसले आफ्ना असल र साँचो साथीहरूलाई चिन्छ र तिनीहरूलाई आफ्नो टोलीको हिस्सा बनाउँछ। तपाईंको सरकारले १० वर्ष पूरा गरेको छ र म तपाईंसँग जोडिन चाहन्छु।’

इमरान खानकी पूर्वपत्नी रेहम खानले केही वर्षअघि एउटा पुस्तक सार्वजनिक गरिन्, जसमा उनले केही भारतीय निर्माताले इमरान खानको जीवनमा फिल्म बनाउन चाहेको बताएकी छन्। इमरान पनि बलिउड फिल्म बनाउन उत्साहित थिए तर इमरान यो फिल्म आफ्नो पहिलो विवाहमा टुंगियोस् भन्ने चाहन्थे। तर, बीचमा के समस्या आयो, फिल्म बन्न सकेन।

रेहम खानले आफ्नो पुस्तकमा ७० को दशककी चर्चित बलिउड अभिनेत्रीसँग आफ्नो अफेयर रहेको कुरा इमरान आफैँले मौखिक रूपमा पुष्टि गरेको पनि दाबी गरेकी छन्। इमरानले रेहमलाई अभिनेत्रीले इङ्ल्यान्डसम्म पछ्याएको बताएकी थिइन्। उनले यो पछि उल्लेख गरेकी थिइन्, बुझ्दै जाँदा इमरानलाई नभएर ती अभिनेत्रीलाई इमरानले पछ्याएको तथ्य फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad