कला


‘दिमाग खराब’ टिमका माग कति जायज?

‘दिमाग खराब’ टिमका माग कति जायज?

फाइल तस्बिर


लक्ष्मी बलायर
कात्तिक ३०, २०८० बिहिबार २०:३५, काठमाडौँ

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ यतिखेर चर्चामा छ। निर्देशक बस्नेतले बुधबार फेसबुक लाइभ गरी हलहरूले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रदर्शन रोक्ने चेतावनी दिएपछि अहिले नेपाली सिने क्षेत्र तरंगित भएको छ।

गत शुक्रबारदेखि प्रदर्शन भएको ‘दिमाग खराब’ले पहिलो दिन उत्साहजनक सो पाएको थियो। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘दिमाग खराब’का लागि ५८ सो उपलब्ध गराउँदा हलिउड फिल्म ‘द मार्बल्स’ ले ४८ सो पाएको थियो। तर, आइतबारदेखि सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ रिलिज भएपछि सो बाँडियो।

शुक्रबार र शनिबार राम्रो अकुपेन्सी नभए तापनि ‘दिमाग खराब’ले आइतबारदेखि राम्रो ‘पिकअप’ लिन थाल्यो। बलियो प्रचार र तिहार बिदाको लाभ पनि उसले पाएको थियो। दर्शकको राम्रो साथ पाए पनि मल्टिप्लेक्स हलहरूले विदेशी फिल्मभन्दा कम सो दिएको भन्दै बस्नेत आक्रोशित बने।

विदेशी चलचित्र बराबरनै सो र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर पाउनुपर्ने ‘दिमाग खराब’ टिमको माग छ। यी दुई सर्त पूरा नभए प्रदर्शन नै रोक्ने बस्नेतको चेतावनी छ। यस फिल्ममा बस्नेतसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा,  विजय बराल, पुस्कर गुरुङलगायतको अभिनय छ। रौनक विक्रम कँडेल निर्माता रहेको फिल्मको कथा आकाश बरालको लेखेका हुन्।

हुन त हल सञ्चालक र नेपाली चलचित्र उद्यमीहरूबीच यस खालको द्वन्द्व नयाँ होइन। बस्नेतको अभिव्यक्तिले मल्टिप्लेक्स हलहरूले गर्ने सो बाँडफाँटको विवाद पुन: ब्युँताएको मात्र हो।

यसअघि थुप्रै नेपाली फिल्महरू विदेशी फिल्मको मारमा परिसकेका छन्। ‘केजीएफ २’ रिलिज हुँदा झरना थापाको ‘ए मेरो हजुर ४’ देखि प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ कोपभाजनमा परेकै हुन्।

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ का हकमा पनि सो बाँडफाँटको विवाद चर्किएको थियो। हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ सेन्सर पास नहुँदा नेपाली हलले सो टाइम खुलाएनन्। जबकि फिल्म रिलिज हुन एक दिन मात्र बाँकी थियो। त्यसपछि निर्देशक सुजित बिडारीले हलले सो नखुलाएको भन्दै आक्रोश पोखेका थिए।

अझ सुवर्ण थापाको ‘द सेक्रेट्स अफ राधा’ र सुरक्षा पन्त अभिनित ‘बुलाकी’ले छिट्टै दम तोडे। ‘राधा’ पाँच दिन चल्दा ‘बुलाकी’ तीन दिनसमेत हलमा टिक्न सकेन। प्रदर्शनको दिनदेखि नै ‘बिहे पास’ र ‘जारी’ को चेपुवामा ‘बुलाकी’ परेको थियो।

निर्देशक सुजित बिडारी ‘दिमाग खराब’ टिमका माग जायज रहेको बताउँछन्। ‘राम्रो अकुपेन्सी हुँदाहुँदै विदेशी फिल्मसरह सो नपाउनु विडम्बना हो। फिल्ममेकर भएका हिसाबले उहाँहरूका मागप्रति पूरा समर्थन छ,’ उनले नेपालखबरसँग भने।

‘दिमाग खराब’ टिमको निर्णयपछि नेपाली सिनेजगतमा सो मात्रै नभई लाभको बाँडफाँट पनि बहसको विषय बनेको छ। नेपालमा हलहरूले पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकले ५०-५० प्रतिशत आय बाँडफाँट गर्छन्। तर, तेस्रो सातादेखि भने निर्मातालाई ३५ प्रतिशत र हल सञ्चालकले ६५ प्रतिशत पाउँछन्।

बस्नेतको अभिव्यक्तिसँगै लाभको बाँडफाँटको सहमति पनि सच्याउनुपर्ने चलचित्रकर्मीहरूको माग छ।

बिडारीझैँ कलाकार दीपकराज गिरी पनि फिल्म ‘दिमाग खराब’ टिमका मागप्रति सहमत छन्। हालै हल सञ्चालकसमेत बन्न पुगेका गिरी भन्छन्, ‘निश्चलजीका मागप्रति मेरो पूर्ण समर्थन छ। मागहरू राख्ने तरिकामा बहस होला। हरेक कुरामा हल्ला र आन्दोलन गरेर हुन्न। किनकि हलबिना निर्माता र निर्माताबिना हलहरू चल्दैनन्। उहाँहरूको मागहरु जायज छन्।’

गिरीसहित दीपाश्री निरौला र निर्मल शर्माको लगानीमा नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाज् सञ्चालनमा छ। आफ्नो हलमा नेपाली फिल्मले सधैँ ५० प्रतिशत लाभ दिने गरेको गिरीको दाबी छ।

‘मेरो हलमा निर्माताहरू सधैँ ५० प्रतिशत सेयर पाइरहनुभएको छ,’ गिरी भन्छन्, ‘हल सञ्चालकअघि म फिल्म निर्माता हुँ। जसकारण मैले निर्माताको पीडा बुझेर ५० प्रतिशत सेयर सधैँ दिने निर्णय लिएको हुँ। यसलाई अरु हलले पनि लागू गर्नुपर्छ भन्ने मेरो पनि माग हो।’

निर्देशक बिडारी पनि गिरीको हलजसरी अन्य हलले पनि निर्मातालाई निरन्तर ५० प्रतिशत दिनुपर्ने तर्क राख्छन्। ‘सेयर बाँडफाँटको कुरा पनि एकदम ठिक हो,’ उनको प्रश्न छ, ‘दीपकजीको हलले ५० प्रतिशत सेयर दिन सक्छ भने अरुले किन दिन सक्दैनन्?’

नेपाल निर्माता संघले ‘दिमाग खराब’ टिमका मागप्रति ऐक्यबद्ता जनाएको छ। संघले विज्ञप्ति नै जारी गरी मागहरू पूरा नभए नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ कुनै पनि भाषाका फिल्म प्रदर्शन गर्न नदिई आन्दोलनमा होमिने चेतावनीसमेत दिएको छ।

सीडीसी सिनेमाजका हल व्यवस्थापक जीवन शाक्य पनि फिल्म ‘दिमाग खराब’ टिमकै पक्षमा खुले। उनले भने, ‘मैले सधैँ नेपाली फिल्मको पक्षमा बोल्दै आएको छु। अरू हलले सो नदिएको बेला ‘हल्कारा’ लगायतका फिल्मलाई प्राइम सो दिएका थियौँ,’ शाक्य भन्छन्, ‘पहिलेदेखि निर्मातालाई ५० प्रतिशत सेयर दिनुपर्छ भन्ने मेरो पनि धारणा हो। नेपाली फिल्मलाई हलले पनि प्रदर्शन हुने वातावरण बनाउनुपर्छ।’

यसै विषयमा बिहीबार ‘दिमाग खराब’ टिम र हल सञ्चालकहरूको संगठन नेपाल चलचित्र संघसँग बैठकसमेत बसेको थियो। दुई पक्षबीच वार्ता सकारात्मक भए तापनि बाँकी कुरा भने टुंगो लाग्न सकेन। संघ र फिल्म टिमबीच मंसिर ५ गते वार्ता बस्ने सहमति भएको छ र प्रदर्शन हाललाई मंगलबारसम्म नरोक्ने भनिएको छ। त्यसपछि भने कसको दिमाग खराब हुन्छ, त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .