कला


गायक-गायिकालाई मेला-महोत्सवको चटारो, कति हुन्छ कमाइ?

गायक-गायिकालाई मेला-महोत्सवको चटारो, कति हुन्छ कमाइ?

लक्ष्मी बलायर
मंसिर २५, २०८० सोमबार ७:४९, काठमाडौँ

मंसिर लागेपछि गायिका रचना रिमालको व्यस्तता बढेको छ। काठमाडौंमा गीत रेकर्डिङ र उपत्यकाबाहिर कार्यक्रममा पुग्न चटारो छ उनलाई। देशभरिका मेला-महोत्सवले आफू निकै व्यस्त भएको उनको भनाइ छ।

‘कहिले त रेकर्डिङ र कार्यक्रम एकै दिन पर्छन्। त्यस्तो बेला स्डुडियो जाँदा लगेज पनि साथमै बोकेकी हुन्छु,' व्यस्त दैनिकीबारे उनी भन्छिन्।

रिमालको स्वरमा पुनः रेकर्ड गराइएको गीत ‘उनको पहिले हो कि मेरो प्रीति पहिले, जान्दिनँ म एकैचोटि के भो कुन्नि कहिले’ निकै लोकप्रिय छ।

पछिल्लोपल्ट चितवन नारायणी महोत्सवमा झण्डै ४५ हजार दर्शकसामु प्रस्तुति दिएको बताउने रचना यो साता पनि लगातार विभिन्न महोत्सवमा पुग्ने कार्यक्रम छ।

‘यो महिना चार–पाँच महोत्सवमा पुगिसकेँ,’ रचना भन्छिन्, ‘मकवानपुर, गुल्मी, कपिलवस्तु, मोरङ, पोखरा, धनगढी लगायतका महोत्सवमा मंसिरभित्रै जाँदै छु। पुसमा पनि थुप्रै कार्यक्रमका अफर आएका छन्। अब दुई/तीन महिना यस्तै व्यस्त भइन्छ।’

मंसिर लागेपछि देशभर मेला-महोत्सवहरू आयोजना हुन्छन्, जहाँ दर्शक तान्न कलाकारलाई महोत्सवको मुख्य आकर्षणको रूपमा राखिएको हुन्छ। कलाकारहरूलाई भ्याईनभ्याई हुन्छ।

कलाकारको आयआर्जनको बलियो स्रोत पनि सांगीतिक प्रस्तुति हुन्।

महोत्सवमा अधिक माग हुनेमध्ये लोक दोहोरी गायक खुमन अधिकारी एक हुन्। दसैं–तिहारदेखि नै व्यस्त खुमन मंसिर लागेसँगै मेला महोत्सवको लागि देश दौडाहमा छन्।

शनिबार उनी पोखराको महोत्सवमा गुञ्जिए। 'पोखरा सकिनेबित्तिकै सुनवल, कपिलवस्तु, लेखनाथ, वालिङ, धनगढी महोत्सवमा जानु छ,' थप तालिकाबारे खुमनले खुलाए।

अधिकारी महोत्सवलाई कलाकारहरूको गरिखाने अवसरका रूपमा व्याख्या गर्छन्। महोत्सवबाट राम्रो कमाइ हुने भएकाले आफूलाई सहज भएको सुनाए उनले।

'­हुन त म दसैं–तिहारदेखि नै देश–विदेशका कार्यक्रममा व्यस्त छु। महोत्सवले झनै व्यस्तता बढाएको छ,' उनी भन्छन्, 'बुवाको वार्षिकीको तयारी हुँदा तीनवटा महोत्सव रद्द गरेँ। तैपनि तिहार सकिएपछि ७ वटा महोत्सव भ्याइसकेँ।'

उनका ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘सिलाइदिउँला भोटो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’ लगायतका गीतहरू चर्चित छन्।

लोकदोहोरी गायिका राधिका हमाल पनि मेला-महोत्सवजस्ता कार्यक्रममा उच्च माग भएकी कलाकार हुन्।

उनी नयाँ पुस्तासँग मञ्चमा प्रस्तुत हुन पाउँदा बढी खुसी लाग्ने बताउँछिन्। भन्छिन्, 'अफर त प्रायः सबैतिरबाट अफर आइरहेको हुन्छ। तर नयाँ कलाकारसँग जान पाउँदा रमाइलो हुन्छ।’

यसै महिना रोल्पादेखि सैनामैना, तिलोत्तमा, थाहा महोत्सवमा पुगिसकेको उनी सुनाउँछिन्। अझै धेरै जिल्लाको महोत्सवमा जाने तालिका बनिसकेको छ उनको।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी उपाध्यक्षसमेत रहेकी हमालका अनुसार मेला–महोत्सवमा प्रस्तुति दिने कलाकारहरूको पारिश्रमिक १५ हजारदेखि १ लाखसम्म हुन्छ।

आर्थिक मन्दीले सबै क्षेत्र प्रभावित भएका बेला मेला–महोत्सवले कलाकारहरूलाई आर्थिक रूपमा पनि राहत मिलेको उनको बुझाइ छ। 'महोत्सवमा जिल्लाका कलाकारको पनि प्रस्तुति हुन्छ। जसले उहाँहरूलाई पनि राहत मिल्छ,’ राधिका भन्छिन्।

आफूले प्रति कार्यक्रम ७० हजार रूपैयाँसम्म लिने गरेको र पाएको रकम कहिलेकाहीँ सामाजिक सेवामा समेत लगाएको उनी बताउँछिन्।

गायक हेमन्त शर्माले पनि मेला-महोत्सवले आफ्नो व्यस्तता बढेको सुनाए। ‘यसपटक मंसिरको सुरुदेखि नै धेरै महोत्सव भइरहेका छन्, ' उनले भने, ‘पाँचवटा महोत्सवमा प्रस्तुति दिइसकेकी छु। केही दिनपछि हङकङको सांस्कृतिक कार्यक्रममा जाँदै छु। जसकारण केही महोत्सव छुट्दै छन्।'

शर्माले दुई महिनाअघि 'निरजाले' बोलको गीत ल्याएका थिए। युट्युबमा करोड भ्युज पाएको गीतको मञ्चहरूमा पनि उच्च माग छ।

यो गीत हिट भएपछि देश–विदेशका कार्यक्रममा माग पनि बढेको उनको अनुभव छ।

गायिका समीक्षा अधिकारी पनि मेला–महोत्सवसहित विदेशका कार्यक्रममा दौडधूप गरिरहेकी छिन्। रुपन्देहीका भैरहवा र मणिग्राम, नवलपुर, रुकुम, पाल्पामा प्रस्तुति दिइसकेकी उनी मंसिर १५ गते हुने कार्यक्रमका लागि कतार जाँदै छिन्।

त्यसैगरी, एलिना चौहान पनि आयोजकका नजरमा पर्ने गायिका हुन्। उनले गाएको 'धोकेबाज हौ तिमी' गीत गत वर्ष निकै चलेको थियो। मेला/महोत्सवमा एलिनाले यस गीतमा प्रस्तुति दिँदा दर्शकदीर्घाबाट रुँदै र कराउँदै गरेका भिडियोहरू भाइरल नै भए। यसले पनि विभिन्न कार्यक्रममा एलिनाको माग झन् बढेको छ।

यस वर्ष पनि एलिना मेला महोत्सवमा धाइरहेकी छिन्। मंसिर १५/१६ गते धरान म्युजिक फेस्टमा लाइभ प्रस्तुति दिएकी उनी केही दिनअघि लुम्बिनी प्रादेशिक महोत्सवमा पुगेकी थिइन्। बेलबारी र मकवानपुरको थाहा महोत्सवमा उनी प्रस्तुत भइसकेकी छन्।

त्यसैगरी, गायिकाद्वय मेलिना राई र शान्ति श्री परिवार पनि सांगीतिक कार्यक्रममा व्यस्त रहने कलाकारमा पर्छिन्। केही दिनअघि मेलिनाले नेपालसहित भारतको आसाममा प्रस्तुति दिएकी थिइन्। थाहा महोत्सव पुगिसकेकी शान्ति पनि केही दिनपछि विदेशबाहिर हुने बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .