दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को तेस्रो गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक गरिएको ‘जाऊँ माया’ बोलको गीतले जातीय विभेदले प्रेममा ल्याएको समस्यालाई प्रस्तुत गरिएको छ।
गीतको भिडिओमा आर्यन सिग्देल र अञ्जना बराइलीबीचको प्रेममा आएको पीडालाई वरिपरि घुमेको छ। प्रदीप खड्का र परीक्षा लिम्बुलाई पनि स्थान दिइएको छ। गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई हेर्न पाइन्छ।
दुःखका भावना व्यक्त गर्ने यस गीतको शब्द बि. पाण्डेले रचना गरेका हुन्। केतन क्षेत्रीको स्वर रहेको गीतमा सुवास भुसालको सङ्गीत भरेका छन्। 'जाऊँ माया' गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात् नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा छ।
यस फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा समेटिएको छ। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्। पहिलोपटक आर्यन, प्रदीप र पल शाह एकसाथ देखिँदै छन्।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ। यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया