गायिका ज्योति मगर स्टेजमा नाच्दानाच्दै लडेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
त्यसप्रति नकारात्मक टिप्पणी बढ्न थालेपछि अर्की गायिका एलिना चौहानले कसैको पीडालाई हाँसोको विषय नबनाउन आग्रह गरेकी छन्।
यही पुस १७ देखि २० गतेसम्म इलामको माई नगरपालिका–१, बिहीबारेमा आयोजित १३ कुने सिमसार महोत्सवमा गायिका मगर गीत गाउँदै नाच्ने क्रममा अचानक स्टेज भ्वाङ पर्दा पछारिएकी थिइन्।
यसप्रति दुःख व्यक्त गर्दै गायिका चौहानले सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छन्, ‘उक्त भिडिओलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाएँ, त्यो धेरै गलत हो। कृपया त्यसो नगरिदिनुहोला। सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदी नै पनि मन नपर्नसक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो।’
यस्तो छ एलिनाको पूरा स्टाटस
सन्दर्भ ज्योति दिदी!
आफ्नै व्यस्तताको कारणले थोरै ढिलो भएँ तर पनि...
म एक कलाकार भएको हिसाबले कार्यक्रममा आफूअघिका दर्शकलाई रुझाउन अनि उहाँहरूको ध्यान आफूप्रति खिच्न कति कठिन छ, त्यो मैले मजले महसुस गर्न सक्छु।
उक्त भिडिओलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाएँ, त्यो धेरै गलत हो। कृपया! त्यसो नगरिदिनुहोला।
सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदी नै पनि मन नपर्न सक्छ, तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो।
सबैले मलाई पनि मन पराउनुहुन्न। हो, सबैको आआफ्नो संगीत र अभिनयको स्वाद फरक हुन सक्छ। त्यसो भन्दैमा ज्योति दिदीलाई मन नपराउने दर्शक/स्रोताको पनि कमी छैन। यस्ता दुर्घटना नहोस् भनी सम्पूर्ण कार्यक्रम आयोजकहरूलाई यी कुराहरूमा अत्यन्तै गम्भीर भई ध्यान पुराउनुहुन म विनम्र अनुरोध गर्दछु।
Shares

प्रतिक्रिया