कला


एलिना चौहानको बचाउमा उत्रिए गायक बद्री पंगेनी

एलिना चौहानको बचाउमा उत्रिए गायक बद्री पंगेनी

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८० आइतबार १४:४७, काठमाडौँ

गत फागुन २० गते पर्वतको कुश्मामा आयोजित एक महोत्समा गायिका एलिना चौहान र एकजना साउन्ड टेक्निसियनबीचको भनाभनको विवाद अझै साम्य भएको छैन।

उक्त घटनालाई लिएर ५ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणा नै गरे। त्यसपछि एलिनाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घटनालाई लिएर सार्वजनिक रुपमा फेसबुकमार्फत माफी नै मागिन्।

यही घटनालाई लिएर चर्चित लोकदोहोरी गायक बद्री पंगेनीले एलिनालाई मात्रै दोषी देखाउनु गलत हुने बताएका छन्। 

उनले घटनाको कारक एलिना मात्रै नभएर साउन्ड सिस्टम व्यवसायीहरूले पनि यसमा आप्नो कमजोरी स्वीकार्न सक्नुपर्ने मत राखेका छन्। 

पंगेनीले सामाजिक सञ्जालमार्फत एलिनाले कमजोरी स्वीकारिरहँदा साउन्ड सिस्टम व्यवसायीलाई पनि दूध धोएको मान्न नसकिने बताएका छन्। 

‘के घटनाको कारक गायिका एलिना चौहान मात्रै हुन्? हो भने साउण्ड सिस्टम व्यावसायी साथीहरूले प्रष्ट पारिदिनुपर्यो, उहाँले ठूलै गल्ती गरेको हो भने कानुनी उपचार खोज्नुपर्‍यो’, पंगेनीले भनेका छन्, ‘सम्बन्धित निकायसँग छलफल गर्नुपर्‍यो। होइन भने तपाईंहरूको सामूहिक धारणा आइरहँदा, गायिका एलिना चौहानले सामाजिक सञ्जालमा कमजोरी महसुस गरिरहँदा प्राविधिक साथीलाई चाहिँ दूधैले नुहादिनुभएको हो?’

पंगेनी त्यतिमै रोकिँदैनन्। उनले प्राविधिकबाट गल्ती नगर्ने भाष्य साउन्ड सिस्टम व्यवसायीले बनाइरहेको पनि बताएका छन्। 

‘प्राविधिकबाट कहिल्यै गल्ती हुँदैन? गहनरूपमा सोचौँ न साथीहरू, आखिर सबैलाइ सबै चाहिन्छ’, उनले भनेका छन्, ‘कुनै पनि घटनाको कारक दुवै पक्ष हुन्छ। साउन्ड सिस्टम र कलाकार एकअर्काको परिपुरक हुन्, मिलेर अगाडि बढ्नुपर्छ। व्यवसायमा निषेधको संस्कृति गलत हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .