कला


नेपालयबाट दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

नेपालयबाट दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

नेपालखबर
फागुन १, २०७६ बिहिबार १३:४६,

पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ। संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित हुन लागेका चारवटै शीर्षकहरू महिला लेखकहरूले सृजना गरेका छन्। नेपालयले आफ्नो यो शृखला, नेपाली साहित्यमा महिला लेखकको प्रतिनिधित्वलाई समर्पित गरेको छ। २०२० मा प्रकाशित हुने कृतिमा सृजनशील युवा लेखकले सृजना गरेका कथा, उपन्यासका साथै संस्मरण विधा र एक स्थापित लेखकको ओजपूर्ण पुनरागमन पनि समावेश छ।

 २०२० को लागि तयार पारिएको यस शृङ्खलाको पहिलो पुस्तक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ रहेको छ। ‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको संग्रह हो।

 कार्की लेखनका अनेकौं पुरस्कार प्राप्त गरेकी लोकप्रिय स्तम्भकार पनि हुन्। दुर्गा कार्कीको पढाई कानून हो, रुची लेखन। साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन्। ‘कुमारी प्रश्नहरू’ उनको प्रथम पुस्तक कृति हो।

 ‘दुर्गा कार्कीको पुस्तकबाट २०२० को आफ्नो प्रकाशन शुरु गर्न पाएकोमा हामी एकदम हर्षित छौं। आफ्नो लेखन मार्फत उनी सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत हुन्छिन्। लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्छिन।’ नेपालयकी भूषिता वशिष्ठले भनिन्, ‘चातुर्यपूर्ण गद्य शैली र आकर्षक कथा बुनावट कार्की को विशेषता हो। उनको यही शैलीले उनलाई अखबार लेखनमा ख्याति र लोकप्रियता दिलाएको छ।’

 ‘किताबको पहिलो प्रति पाउँदा समेत मलाई मेरा कथाहरू साँच्चिकै किताबको रूपमा आए भनेर विश्वास नै लागेन, यिनमा काम गरेर साँच्चै सकियो र भन्ने लागिरह्यो’, आफ्नो पुस्तकको पहिलो प्रति हातमा लिंदै कार्कीले भनिन्, ‘यी प्रत्ये‍क कथालाई मैले कम्तीमा पनि बीस पटक पढेकी छु, हरेक पटक केही न केही थपघट गरेकी छु र कतिलाई त महिनौँ सोचाइको गर्भमा बोकेर हिँडेकी छु। मलाई आशा छ, पाठकहरू यी कथाबाट पटक्कै निराश हुनु पर्दैन।’

 नेपाली प्रकाशनको बजार मन्द रहेको गुनासो र चर्चा भैरहका बेला नेपालयले २०२० को तालिका अगाडि ल्याएको हो।

 ‘दुर्गा आफ्नो कथा लेखनमार्फत ताजापन बोकेर आएकी छिन् । मलाई आशा छ यो किताबले बजारलाई उत्साही बनाउने छ र पुनर्जीवन दिनेछ’ पब्लिकेसन नेपालयकी सीईओ सैजन मास्के भन्छिन्। ‘यो शृङ्खलाका चारवटै पुस्तकले भिन्दै शैली र कथानक बोकेर आएका छन्स त्यसैले यिनले नेपाली समकालिन साहित्य र प्रकाशन उद्योगलाइ सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छु’ सैजनले भनिन्।

 आउँदो फाल्गुन ९ गते सार्वजनिक हुने दुर्गा कार्कीको पुस्तक ‘कुमारी प्रश्नहरू’ को मूल्य ४२५ रुपैँया निर्धारण गरिएको छ। उल्लेखित मिति देखि नेपालका सबै प्रतिनिधि बिक्रेता र तिनका बिक्री कक्षमा सो पुस्तक उपलब्ध हुनेछ। साथै, एमाजन डट कममार्फत् संसारभर उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad