ad ad

कला


डिग्री माइला : मरिचजस्तै चाउरिएको कथा

डिग्री माइला : मरिचजस्तै चाउरिएको कथा

श्रीजु सरल
बैशाख ३, २०८१ सोमबार १३:३, काठमाडौँ

यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा रामबाबु गुरुङ निर्देशित फिल्म 'डिग्री माइला: एमए थर्ड क्लास' प्रदर्शनरत छ।

'किन चाउरियो मरिच, आफ्नै रागले', फिल्मको प्रवर्द्धन नारा हो यही उखान। फिल्मको नाम छ 'डिग्री माइला'!  नारा र नामलाई जोडा मिलाएर हेर्ने हो भने फिल्मको कथा बुझ्न अरू केही गरिरहनै पर्दैन। खैर, सधैँ सिधासिधा धर्सो तानेर मात्रै जोडा मिल्ने पनि त होइन। यो फिल्मले न बाङ्गो धर्सो पो तान्छ कि? आखिर नाम र नाराको जोडा कसरी मिल्छ?

दशकअघि 'सायद अशोक' लिखित र दयाहाङ राई निर्देशित सोही नामको नाटकको चलचित्र रूपान्तरण हो यस सिनेमा। नाटकबाट सिनेमासम्म आइपुग्दाको यो एक दशक लामो अन्तरालमा डिग्री माइला कुन चेतना, कस्तो वैचारिकी, लिएर घुमिरहेको छ त? घुमिफिरी रुम्जाटार पुगिरहने माइलाको कथा कति डिग्री समय-सान्दर्भिक छ?

आउनुस्, डिग्री माइलाको 'अपरेसन' गरौँ।

१. कथा
डिल्लीराम भुजेल उर्फ डिग्री माइला। एउटा आदर्शवादी चरित्र। गाउँभरिमा डिग्री गर्ने एक्लो युवा! उसमा पढाइको दम्भ छ। आफ्नो डिग्रीप्रति आवश्यकताभन्दा बढी नै पो गौरव छ कि उसलाई? यसो भनौँ, ऊ आफूबाहेक सबैलाई मूर्ख सम्झिन्छ। सानोतिनो सपना ऊ देख्दैन। उसलाई लाग्छ, सानोतिनो इलम गर्दा उसको डिग्रीको इज्जत रहँदैन।

तर, समय-परिस्थिति एक दिन यस्तो आउँछ कि त्यही इलम सित्तैमा गर्छु न त भन्दा पनि उसले गर्न पाउँदैन।

२. कथावाचन
नन-लिनियर शैलीमा, ब्याक एन्ड फोर्थ गर्दै कथा भन्ने यस फिल्ममा क्यामराको काम सन्तोषजनक नै लाग्छ। तर, कथावाचनमा कलमको पाटो पनि त्यति नै खुलेर आउन सकेको भए क्यामराको प्रयोग भरपूर मात्रामा हुन सक्थ्यो भन्ने आभास हुन्छ।

यसलाई सरल भाषामा यसरी भनूँ, पात्रको चरित्र निर्माण फितलो भयो भने कुशल अभिनेताले पनि शतप्रतिशत अभिनय क्षमता अभिव्यक्त गर्न ठाउँ पाउँदैन। उस्तै, प्रभाव लेखन र दृश्यको प्रस्तुतीकरणमा पनि रहन्छ नै।

जस्तो कि 'माइला' र उसकी प्रेमिका 'कविता'को प्रणय सम्बन्ध स्थापित गर्न एउटा गीतमा उनीहरूलाई नचाइन्छ। एउटै गीतमा पात्रहरूलाई थरी-थरीका वस्त्र पहिरिएर हिँड्ने, कुद्ने, नाच्ने गराइएको भए तापनि गीत चलुन्जेलमा क्यामराको फ्रेममा दृश्यहरू भने बडो मुस्किलले चलेका हुन् कि जस्तो महसुस भइदिन्छ। अथवा भनूँ, दोहोरिइरहेको हो कि जस्तो लागिदिन्छ। किन त? किनभने, आजको दर्शक प्रेममा पनि विश्वास खोज्छन्, प्रेमकथामा पनि विश्वसनीयता खोज्छन्। थरी-थरी वस्त्र, थरी-थरी सेटिङको परिकल्पना गर्नुको सट्टा उनीहरूको प्रेमको कथा/इतिहास भन्न कलमले थोरै मेहनत गरेको भए गीत सँगसँगै क्यामराको फ्रेमभित्र दृश्य पनि चलायमान लाग्थे कि?

साथै, यसले यी पात्रबीचको प्रेमलाई समेत बलियो गरी स्थापित गर्न मद्दत पुर्‍याउने नै थियो। र पटकथालाई पनि पक्कै नै कसिलो बनाउने थियो।

३. पटकथा
पटकथाको कुरा त गर्नु नै थियो। कसिलो बनाउने कुरा निस्किँदै गर्दा, अर्को एउटा पनि थपिहालूँ। फिल्मको क्लाइमेक्समा आइपुगेर फिल्मको थिमलाई स्थापित गर्न एक पात्रलाई एउटा भारी डायलग बोल्न लगाइन्छ। फिल्मको थिम नै स्थापना गर्नका लागि फिल्म अवधिभर नै हत्तपत्त नबोल्ने पात्रलाई क्लाइमेक्समा भारी डायलग बोल्न लगाउनुले फिल्मको दृश्य-भाषा कमजोर बुनिएको बुझिन्छ। अघि पनि भनिहालियो, फिल्मको दृश्यभाषा कमजोर हुनुको एउटा कारण लेखनमा मेहनत नगर्नु पनि हो।

फिल्मको लेखन कहाँनेर चुक्यो त?

नाटक र सिनेमा दुवैले भन्ने कथा नै भए पनि यी दुई पृथक माध्यम हुन्। विविध सेटिङमा लामो समय लगानी गरी, अनेक टेक लिई र तयार भइसकेपछि समेत पोस्ट-प्रोडक्सनमा छाँटकाँट गरिने अभिव्यक्तिको सुविधासम्पन्न माध्यम फिल्मबाट दर्शकले तुलनात्मक रूपमा एउटा मञ्चको सीमित परिधिभित्र बाँधिएर दर्शककै अघिल्तिर प्रत्यक्ष प्रस्तुत गरिनुपर्ने नाटकबाट भन्दा केही बढी नै अपेक्षा गरेका हुन्छन्।

एक जमानामा निकै राम्रो दर्शक-प्रतिक्रिया कमाएको नाटक 'डिग्री माइला'को चलचित्र रूपान्तरणले हुनसक्छ पटकथा लेखनको क्रममा पाउनुपर्ने 'सिनेम्याटिक एसेन्स' पाउन सकेन। या त चलचित्रकै लागि भनेर पटकथा लेखिँदै लेखिएन। लेखिएको हो भने मेहनत गर्नका अलिकति ठाउँ बाँकी रहेकै देखिन्छ।

हुनसक्छ, त्योबेला सीमित सेट र प्रप्सको सहायतामा दर्शकसमक्ष एउटा पात्रको कथा भन्न 'डिग्री माइला' नाटकले ह्युमरलाई भर्‍याङ बनाएथ्यो। तर, चेतनास्तर वृद्धिको हिसाबले पनि आजको प्रगतिशील समयसम्म आइपुग्दा 'डिग्री माइला' फिल्मले पात्रहरूको मनोविज्ञान, उनीहरूको बौद्धिक क्षमताको पारदर्शिताको माग पूर्ति गर्न सक्नुपर्थ्यो कि?

हो, फिल्मको कथा एउटा पात्र (मुख्य पात्र)को वरिपरि घुम्न सक्छ। तर, पटकथाले एउटा मात्र पात्रको वरिपरि घुम्न पाउँदैन। पटकथाको धर्म समग्रमै कथालाई न्याय गर्नु हो। पटकथा लेखनका क्रममा अन्य पात्रको चरित्र चित्रण, पात्र विकासमा पर्याप्त ध्यान दिन नसकिएको खण्डमा मुख्य पात्र जति नै फूले-फक्रिए पनि कथा भने मरिचझैँ चाउरिएर नै जान्छ।

४. पात्र
सुरुमा मुख्य पात्रकै कुरा गरौँ। दयाहाङ राई अभिनित पात्र 'डिग्री माइला'लाई आदर्शवादी चरित्रका रूपमा देखाइएको छ। यो किसिमको आदर्शवादी, स्वाभिमानी पात्र नेपाली सिनेमामा आउनु एउटा उपलब्धि हो। तर, पात्रले सार्थकता कति पाएको छ त्यो हेरौँ।

माइला बेलाबेला झनक्क त गर्छ तर, जुन हदसम्म उसलाई स्वाभिमानी चित्रण गर्न खोजिएको छ त्यति नै हदले ऊ 'ईखबिनाको मान्छे' जस्तो पनि देखिन्छ। कसैले

आफूलाई 'आफैले थुकेको थुक चाट्न आइछस् त' भनेर होच्याइरहँदा पनि ऊ त्यसलाई सजिलै पचाइदिन्छ र मर्नुपरे पनि थुक त चाटेरै छोड्छु भन्ने अडान लिन्छ। तर, आफू मरिचझैं 'पिरो' छु भन्ने उसलाई लाग्न छोड्दैन र त्यसमा ऊ गर्वले छाती चौडा गरेर हिँड्न समेत छोड्दैन।

यसो भनौँ, फिल्मको पहिलो हाफसम्म माइलाको मनोविज्ञान र व्यक्तित्वले एउटा स्पष्टता पाएको छ तर, दोस्रो हाफमा उही पात्रको चित्रण यसरी गरिएको छ कि पहिलो हाफमा चित्रित उसको व्यक्तित्व र मनोविज्ञानसमेत धमिलिएर अस्पष्ट भइदिएको छ।

आँचल शर्माको पात्र कवितालाई पनि फिल्मले स्पष्टता दिन सकेको छैन। हरेकपटक भेट्दा विचारको भेदले झगडा पर्ने र मलाई तँभन्दा मेरो अहम् प्यारो छ भन्नेलाई, अझ भनूँ, तँभन्दा राम्रा केटीहरू यसै पट्याइदिन्छु भनेर दुई-दुई वर्ष खबरबिनै हराउने (प्रेमी?)लाई पर्खिबस्ने पात्र यथार्थपरक लाग्न अलि गाह्रै हुन्छ। पाहुनाजस्तै दुई दिन आउने र अनिश्चितकालका लागि हराइदिने माइलालाई सँगै बसेर रक्सी पिउने साथी/भाइ घैँटे र उसका साथीहरूले नै विश्वास गर्न सकिरहेका हुँदैनन्। कविताले गरी भने के आधारमा गरी?

विजय बरालको पात्र बखतेको चरित्र चित्रण र यस चरित्रले कथाको बहावसँगै माग गर्ने पात्र विकासमा भने एउटा सन्तुलन देखिन्छ।

अनिल सुब्बाको पात्र घैँटे पनि चरित्रमा सुरुदेखि अन्त्यसम्म कायम रहन सकेको पात्र हो। यस पात्रको विकास पनि कथाको मागअनुसार नै सँगै तीव्र हुँदै गएको छ। यद्यपि, कलाप्रतिको उसको रुचि कसरी रहन गयो भन्ने रहस्यको मसिनो त्यान्द्रो पनि फिल्मले केलाउन सकेको भए अन्य पात्रहरूको दाँजोमा पृथक देखिने घैँटे कसरी पृथक भयो भन्ने अझै खुलेर आउने थियो कि?

योबाहेक, आमालाई हेरेर घैँटे दुख्दै गर्दा दर्शकहरू ऊ सँगसँगै दुखिदिन सक्दैनन्। सुरुदेखि नै आमासँगको उसको सम्बन्धलाई पनि थोरै स्थान फिल्मले दिन सकेको भए उभित्रको पीडा र उसको तीव्र हुँदै गएको विद्रोही स्वभावसँग दर्शकहरू अझै गहिरिएर एकाकार हुन सक्ने थिए।

खैर, नेपाली सिनेमाले पाएको एउटा उल्लेखनीय बौद्धिक पात्र हो- घैँटे।

यस्तै, डिल्लीराम भुजेलको 'बाबु' पात्र सुरुदेखि अन्त्यसम्मै बाँसको चोयाबाट डोको बुनिरहन्छ। काम नआउने शिक्षाभन्दा हातमा सीप हुनु ठूलो हो भन्ने यो बाबु पात्र बेरोजगार छोरोको एटीएम मेसिनजस्तै गरी चित्रित छ। यस कोणबाट मात्र नभएर माओत्से गुरुङ अभिनित यो बाबु पात्र भुजेल संस्कृतिको हकमा पनि अर्थपूर्ण लाग्छ। बाँस र निगालोका दैनिक उपभोग्य सामग्री बुन्ने भुजेल समुदायको पुर्ख्यौली पेसालाई पात्रले अपनाउँदा कथाले सान्दर्भिकता पाएको छ भने पात्रको जातीय पहिचानमाथि विश्वसनीयता थपिएको छ।

अब प्रकाश घिमिरेको पात्र रुद्रप्रसादको कुरा गरौँ। मुख्य पात्र माइलाको कथामा द्वन्द्व निम्त्याउने पात्र हो रुद्रप्रसाद। वर्गीय एवं जातीय विभेदलाई खुलेआम समर्थन गर्ने यस पात्र सामाजिक यथार्थमाथिको एउटा व्यङ्ग्य पनि हो। चरित्र चित्रणका हिसाबले कथाको तालसँगै रुद्रप्रसादको पात्र बगेकै देखिन्छ।

यद्यपि, जात र वर्गकै आधारमा विभेदकारी सोच-विचार राख्ने यस प्रकारको पात्रलाई चित्रण गर्दैगर्दा उसको प्रतिवादमा कुनै न कुनै पात्रले एकै लाइन डायलग मात्र भए पनि बोलिदिएको भए? वा पात्र स्वयंले भए पनि आत्मसमीक्षा गरेको भए फिल्मले कमसेकम एउटा हातमै सही आजको युगको चेतनालाई भने बोकेरै हिँडेको महसुस हुने थियो।

५. अभिनय
अभिनयको कुरा गर्नुपर्दा पात्रको चरित्रअनुसार शारीरिक हाउभाउ, अनुहारको भावभंगी र लवजमा दयाहाङ राईको मेहनत प्रस्फुटित देखिन्छ।

चरित्र लेखनमा सबैभन्दा उपेक्षित पात्र कविता नै भएको बुझिन्छ। उनको हरेक उपस्थितिमा पृष्ठभूमिमा रोमाञ्चक धुन बज्दै गर्दा र उनलाई हरेक फ्रेममा मुस्कुराउन लगाइँदै गर्दा उनको पात्र कवितालाई माइला पात्रको प्रेमको विषयभन्दा बढी सोचेको देखिँदैन। घैँटे, बखते लगायतका पात्रहरूलाई जत्तिकै मेहनत गरेर लेखिएको हुन्थ्यो भने कविताको एउटा स्पष्ट छवि बन्नसक्थ्यो र त्यसले आँचलको अभिनय क्षमतालाई अझै खुलाउन सक्थ्यो। यद्यपि, कविताको भूमिकामा आँचल शर्माको काम सन्तोषजनक नै देखिन्छ।

घैँटेको भूमिकामा अनिल सुब्बा, बखतेको भूमिकामा विजय बराल र सपनाको भूमिकामा पशुपति राईको काम उल्लेखनीय लाग्छ।

बुद्धि तामाङको कुरा गर्नुपर्दा नेपाली सिनेजगतमा उनलाई 'हैट'ले जसरी स्थापित गर्‍यो, नेपाली दर्शकको जिब्रोमा उनले 'ऊ'लाई उसैगरी स्थापित गर्ने पक्का छ। चरित्रमा डुब्नु त 'ऊ' जसरी .. मतलब 'बुद्धि' जसरी!

६. जनरा
आफ्नो प्रवर्द्धन गर्दैगर्दा फिल्मले आफूलाई सोसल कमेडी ड्रामा भनेर सम्बोधित गरेको छ। र कथाले उठाएको विषयवस्तु र छोएका मुद्दाहरू पनि समाजसँग प्रत्यक्ष सरोकार राख्ने र गम्भीर विषयहरू हुन्- शैक्षिक सुधार, वर्गीय एवं जातीय समानता।

यद्यपि, फिल्मको अन्त्यमा अल्पसंख्यक भुजेल जातिको एउटा युवक नै सम्पूर्ण समस्या एवं दुर्घटनाको 'एक्लो दोषी' ठहरिन्छ। फिल्मको उद्देश्य मुख्य पात्रलाई मूर्ख साबित गर्नु मात्रै थियो भने त फिल्म त फस्ट हाफमै सकिनुपर्ने होइन र? ती छोइएका, उठाइएका गम्भीर सामाजिक मुद्दाहरू के भए?

आफ्नो जिद नछोड्नु नै मरिचजस्तै चाउरिनु हो भने रुद्रप्रसादलाई छोडेर माइला मात्रै किन एक्लै चाउरियो? हेर्ने नै हो भने, माइला त समयले पेलिएर, गालिएर, जिद छोडेर लचिलो भएर आइसकेको हो। राग नछोड्ने मरिच अर्थात् जिद नछोड्ने मूर्ख त शिक्षक समितिको अध्यक्ष होइन र? र जिद नछोड्नुको वास्तविक कारण त अन्तर्वर्गीय प्रेम र विवाहप्रतिको वितृष्णा होइन र?

माइलाले एक ठाउँमा बोल्ने 'बाहुन, डिग्री र आचार्य' सम्बन्धित वजनदार डायलग माइलाजस्तै बेकम्मा भएर जान्छ। भलै, मास अडियन्सलाई मनोरञ्जनको कमी नहोला तर, फिल्म कमेडी ड्रामा मात्रै थिएन र सोसल कमेडी ड्रामा समेत थियो भने सम्बोधन हुनैपर्ने सामाजिक मुद्दालाई उठाएर, चलाएर, गिजोलेर तर, अलपत्र पारेर छोडिएको छ जसले गर्दा सचेत दर्शकलाई भने कतै केही अपर्याप्त पक्कै महसुस हुने नै छ। 

यसरी मात्र एउटा पात्र र खाली मनोरञ्जनको पछाडि भाग्दै गर्दा 'डिग्री माइला'को कथा स्वयं चाउरिएको मरिचजस्तै भएको छ। तर, कथा त टिम्मुरझैँ खुलेकै जाती। जिब्रोमा राखिसक्दा पर्पर्‍याओस् र पछिसम्म स्वादले लखेटिरहोस्!

जाँदाजाँदै, थोरैथोरै मफलर र कोटका पनि त कुरा गरौँ। त्यो रातो मफलर माइलाको घाँटीबाट हराएर अर्कैको गलामा लपेटिनु उल्लेख गर्न छुटाउनै नहुने गरी मीठो बिम्ब हो। खैर, सिङ्गो गाउँले घेरा हालेर जाइलागेको माइलाको कोटमा रत्ति पनि दाग नलाग्नु भने पात्र र कथामाथि निर्देशक हावी भएको तितो संकेत हो। या फेरि निर्देशक रामबाबु गुरुङले माइलाको डिग्रीसँग पनि 'कबड्डी' (सिक्वेल) खेल्ने त सोचेनन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .