सन्तोष सेनको निर्देशनमा बन्ने ‘बलिदान’ को छायांकनका लागि तयार भएको छ।
सेनले यो फिल्म गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरंकुश एवं समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित रहेको बताए।
फिल्मलाई महाकथा भन्दै यसको लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको सेनको भनाइ छ।
त्यसैले त उनी महिनौ देखि कहिले छायाङ्कन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर र इटहरी क्षेत्रमा पुगिरहेका छन्। कहिले दक्षिण भारतमा त्यहाँको चलचित्र उद्योगका प्राविधिकहरूसँग छलफलमा डटिरहेका छन्।
सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको बलिदानका लागि दक्षिण भारतका सयौँ करोडका प्रख्यात चलचित्रहरू बनाइसकेका चर्चित द्वन्द्व निर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याएको छ।
द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले यस फिल्ममा काम गर्नेछन्। द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’ लगायतमा काम गरिसकेका छन्।
छायाकार ऋषि गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘बाटोस् रोड टु डेथ’का छायाङ्कार हुन्। उनको छायाङ्कनको खुलेरै तारिफ भइरहेको छ। यसअघि उनले दक्षिण भारतका सुपरस्टार रजनीकान्तको फिल्म ‘पेट्टा’ लगायतको टिममा रहेर काम गरिसकेका छन्।
साथै छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए। ‘हामीले बलिदानलाई उच्चस्तरीय नेपाली चलचित्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ।
यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ। यो एक सामान्य चलचित्र मात्र नभएर नेपाली चलचित्र उद्योगका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् चलचित्रको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ,’ सेनले भने।
बलिदानको छायाङ्कनको लागि इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ। साथै, विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम लगभग अन्तिम चरणमा रहेको छ। करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ।
बलिदानुको मुख्य भूमिकामा एक्सन अभिनेता बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन्। समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए। साथै फिल्ममा सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ।
आसुसेन फिल्मस् प्रा।ली। तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्मको निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट र सह(निर्माता प्रेम पुरी हुन्।
Shares

प्रतिक्रिया