कला


​गायिका शर्मिला गुरुङसँग तीज वार्ता : दर्शकलाई छाडा गीतको बानी लाग्ने हो कि भन्ने पीर छ

‘तीज गीतमा तीजको रङ हुनुपर्छ, मायाप्रेम जोड्न मिल्दैन’
​गायिका शर्मिला गुरुङसँग तीज वार्ता : दर्शकलाई छाडा गीतको बानी लाग्ने हो कि भन्ने पीर छ

लक्ष्मी बलायर
भदौ ८, २०८१ शनिबार १९:८, काठमाडौँ

नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन्: शर्मिला गुरुङ। पहिलो गीत ‘निलो पछ्यौरी’ नै हिट भएपछि शर्मिलाले कहिल्यै पछाडि हेर्नुपरेन। दोहोरी होस् वा कौडा, हरेक खालका गीतमा शर्मिलाको स्वर मधुर सुनिन्छ।

तीजका गीतमा पनि शर्मिलाको विशेष योगदान छ। २०५६ सालमा स्वर परीक्षा पास गरेपछि शर्मिलाले काठमाडौँलाई कर्मथलो बनाइन्। दोहोरी साँझमा काम गर्देदेखि थुप्रै गीतहरु रेकर्डिङ गराइन्। सोही बेलादेखि आफूले तीजका गीतहरु गाउन थालेको शर्मिलाको भनाइ छ।

शर्मिलाले प्रत्येक वर्ष तीजगीत ल्याउने गरेकी छिन्। जसमध्ये हाम फालेर मँरु कि त्रिशुलीको पानीमा, आज मेरो माइत जाने पालो, स्वर्गझैँ प्यारो माइती देश, मनमा छ पिरालो, सिन्दुर छैन संगिनी हो, सुनिदिनुस् दिदीबहिनी शिरैमा शिरफूल, टाढाको माइती, फूलजस्तो मुहार लगायतका तीज गीतहरू निकै चर्चित छन्।

विशेषत: शर्मिलाका तीज गीतमा मौलिकता भेटिन्छन्। अनि नेपाली चेलीका पीडा र वेदना। २४/२५ वर्षदेखि निरन्तर तीज गीत ल्याइरहेकी तिनै गायिका शर्मिला गुरुङसँग नेपालखबरले गरेको तीजविशेष कुराकानी:

यसवर्ष तपाईंले कति तीज गीत गाउनुभयो?
आधा दर्जन पुगे होलान्। आफूले सिर्जना गरेका दुईवटा तीज गीत आइसकेका छन्। राम्रो घर बोलको तीज गीतमा रेम गुरुङको शब्दमा मेरै लय छ। त्यसैगरी, बाबाको आँगनीमा गीतमा शब्द र संगीत मेरै छ। यी दुवै अफिसियल गीतहरुलाई दर्शकश्रोताले पनि मन पराइदिनुभएको छ। अरुका पनि तीनचारवटा तीजका गीतमा स्वर दिएकी छु।

यसपालि तीज गीतलाई लिएर धेरै नै आलोचना भइरहेका छन्। के साँच्चै आलोचित हुनुपर्ने गीत धेरै आएका हुन्?
मैले तीजका गीतहरु गाउन थालेको २४/२५ वर्ष भइसक्यो। तीज कस्तो हुनुपर्छ भन्ने ठ्याक्कै नजाने पनि यत्तिसम्म हुनुपर्छ थाहा हुन्छ। तीजका गीत भन्नेबित्तिकै माइतीघर, सासूससुरा र नन्दआमाजू र साथीसंगीसँग जोडिएका हुन्थे। पहिले तीजमा गीतमार्फत चेलीहरुले आफ्ना पीडा पोख्थे।

तर, बिस्तारै तीजका गीतहरु बिँग्रिदै आए। अहिले त सस्तो लोकप्रियता र भाइरलको लागि जे गर्दा पनि हुन्छ भन्ने ट्रेन्ड चलेको छ। एकछिन आलोचना भए पनि दर्शकहरुले पचाइहाल्छन् नि भन्ने परेको छ। जुन वर्षेनि बढिरहेको छ। व्यावसायिक हिसाबले गीतसंगीत जति शुद्ध हुनुपर्ने हो, त्यो छैन।

अघिल्लो वर्षको तुलनामा बढी आएका हुन्। यो वर्ष माहोलनै कस्तो कस्तो लागिरहेको छ। अहिलेका तीज गीतले समाजमा के सन्देश दिन खोजिरहेको छ जस्तो लाग्छ। छाडालाई पनि तीजको गीत भनिँदोरहेछ। तीजको गीत भनेपछि नांगै भिडिओ बनाउनुपर्ने रहेछ भन्ने पछिल्लो पिँढीले बुझ्छन् भन्ने चिन्ता लागिरहेको छ।  

मायाप्रेमका गीतहरु तीजका गीतमा पर्दैनन्। पछिल्लो समयमा भाइरल र सस्तो लोकप्रियताको लागि गीतसहित भिडिओ पनि त्यस्तै बन्छ। भिडिओमा खेल्नेलाई पनि चर्चामा आउनु छ। भिडिओ विवादमा आएपछि धेरैले हेर्छन् भनेर हामी त्यत्तिकै भाइरल हुन्छौँ सोच्नुहुन्छ। त्यो खालको सोचले गीतसंगीतमा विकृति बढिरहेको छ।

के कारणले विकृति बढ्दै गएको होला जस्तो लाग्छ?
युट्युबको कारणले होकी जस्तो लाग्छ। किनभने पहिले क्यासेटको जमनामा अडियो बिक्री हुन्थ्यो। तर, युट्युब आएपछि क्यासेटको जमाना रहेन। अहिले युट्युब गीतसंगीत पस्किनेदेखि आर्यआर्जन गर्ने बलियो माध्यम बनेको छ।

अहिले जसलाई पनि भाइरल हुनु र छिटो पैसा कमाउनु छ। यस्तो गीत राम्रो होइन भनेर उहाँलाई पनि थाहा हुन्छ। तर, अहिलेको जमाना त्यस्तै रहेछ। गाली गरे पनि के रहेछ भनेर आलोचित गीत हेर्ने गर्छन्। युट्युबको कारणले गर्दा बढी विकृति आएको हो जस्तो लाग्छ।

विकृतिले राम्रा गीतहरु ओझेलमा परेका हुन्?
हुन त राम्रा गीतलाई दर्शकहरुले मन पराइदिनुभएको छ। मौलिकता बुझेकाले तीजको गीत यस्तो हुनुपर्छ भनेर प्रतिक्रिया दिनुहुन्छ। थोरै व्यक्तिले हेर्दा ओझेल पर्ने हुँदैन।

तर, छाडा गीतहरू आउँदा कतै दर्शकहरूलाई बानी परिसकेको अवस्था हो कि जस्तो पनि लाग्छ। सर्जक मरेर गए पनि सिर्जना सधैँभरि टिक्ने हुनुपर्छ। विकृति ल्याउने गीतहरु एकै सिजनलाई मात्रै हुन्छन्।

चर्चा त अब नाङ्गै भिडिओ खेलेपछि के रहेछ भनेर हेरिहाल्छन् नि। मौलिकतामा त्यस्तो हुँदैन। सारी लगाएर दु:ख वेदना पोखिन्छ। काठमाडौँमै बसे पनि हरेक दिदीबहिनीका आ आफ्नै पीडा हुन्छन्। त्यो पीडालाई व्यक्त गरिएको हुन्छ। 

यहाँले कति सालदेखि तीज गीत गाउन थाल्नुभएको?
मैले २०५६/०५७ सालदेखि तीजका गीत गाउन थालेकी हुँ। त्यो बेलादेखि हरेक वर्ष तीज गीत ल्याउने गरेकी छु। त्यो क्यासेटको जमाना थियो। अडियो मात्रै हुन्थ्यो। रेडियो अनि क्यासेट किनेर सुन्ने चलन थियो। त्योबेला धेरै क्यासेट बिक्री हुन्थ्यो। अडियोमा खर्च धेरै हुँदैन्थ्यो। १/२ लाख क्यासेट बिक्दा ९/१० लाख समेत आम्दानी हुन्थ्यो। हामीले पनि प्रतिक्यासेट बिक्रीवापत ७/८ रुपैयाँ पाउँथ्यौँ।

 

त्यो बेला मौलिकता झल्किने खालका गीत आउँथे। आजभोलि त्यो बेलाको भाका त हामीले पनि बनाउनै सक्दैनौँ। हरिदेवी कोइराला दिदी र नारायण रायमाझी दाइले एकदमै मिठो गीत बनाउनुहुन्थ्यो। त्यतिखेर टिपिकल हुन्थ्यो। अझ गाउँतिर गाउने र सुनिने भाकाहरु ल्याएर गाइन्थ्यो।

समयसँगै तीज गीतका भाका परिवर्तन हुनु ठिक होइन र?
भाका परिवर्तन भएपनि तीजको रङ चाहिँ आउनुपर्छ। तीजको गीत भनेर दसैँ र तिहारको जस्तो बनाएर भएन। कलरसहित शब्द पनि त्यही खालको हुनुपर्छ। धेरैले तीजको बेलाका गीतहरू फाले होलान्। तर, वास्तवमा तीजका गीतमा तीजको रङ आउनुपर्छ।

गाउनुभएका मध्ये सबैभन्दा बढी मन परेका तीज गीत कुन कुन हुन्?
क्यासेटमा एल्बमसहित भागको रुपमा गीत निकालिन्थ्यो। ०५८ सालतिर रेकर्ड गरिएको हाम फालेर मरुँ कि त्रिशुलीको पानीमा तीज गीत निकै मन पर्छ। घर र माइतको पीडालाई समेटिएको यस गीतलाई श्रोताहरुले निकै रुचाउनुभएको थियो। राजकुमार बगर दाइको शब्द रहेको गीतमा मेरो लय छ। त्यस्तै, आज मेरो माइत जाने पालो, शिरमा लाउने शिरफूल, सुनि दिनुस् लगायतका तीज गीतहरु पनि मन पर्छन्।

तीजलाई महिलाको चाड भन्छौँ, तर तीज गीतमा पुरुष कलाकारहरू हाबी हुन थालेको धेरै भइसक्यो? यसलाई कसरी हेर्नुहुन्छ?
तीज भनेको महिलाहरूको पर्व हो। यस चाडमा महिला दिदीबहिनीहरुले व्रत बस्ने, नाचगान गर्ने हो। केटामान्छेले बुवा, श्रीमान् तथा दाइभाइको भूमिकामा गाउन सक्छन्। मैले पनि केही गीतहरु युगलमा गाएकी छु। 

तर, पछिल्लो समय केटा मान्छेले बढी गीत गाउन थाले। कसरी गाए भन्दाखेरि तिम्री राम्री छौ, भेट्न आऊ जस्ता मायाप्रेमका शब्दहरु जोडेर गाए। जुन बिग्रिएकै हो। खास भन्ने हो भने केटामान्छेले तीजको गीत गाउँदैनन्। अहिले केटीभन्दा केटाले बढी तीज गीत गाएको हुन्छ।

विकृति तीज गीतमा मात्रै देखिएको हो कि समग्र लोकदोहोरीमा छ?
विकृति लोकदोहोरीमा पनि छ। केही वर्षयता दुईअर्थी लाग्ने गीतहरु धेरै आइरहेका छन्। रोधीमा गाउने र मौलिकता बोकेका गीतहरु निकै कम छन्। सिर्जना गर्नेले एक किसिमले गर्छन्, बिग्रिने भिडिओमा आएर हो। भिडिओमा अनेक गर्छन्। भोलि यो काम गर्दा यस्तो हुन्छ होला सोच्दैनन्। अहिले जति पनि गीतहरु आएका छन् मैले अर्थ नै बुझेको छैन। के भन्न खोजेको हो र समाजलाई कस्तो सन्देश दिन खोजेको थाहा नै हुन्न।

यसलाई कम गर्न के गर्न सकिन्छ?
यस्तै गर्छु भनेर हिँड्नेसँग त कसैको केही पनि लाग्दैन। लोकसंगीत बुझेको मान्छेले यस्तो काम गर्दैन। पैसा कमाउने त हो भन्ने सोच्नेले छाडा गीत ल्याइरहेका हुन्छन्।  

हुन त दर्शकश्रोताले पनि बुझ्नु भएको छ। अहिलेका विकृत गीतहरुलाई धेरै दर्शकश्रोताले गाली गरिरहेका छन्। बुझेर नै होला। नेपाली गीत संगीतलाई धुमिल्याउने र दुर्गन्धित काम गर्ने कसैलाई पनि अधिकार छैन। सक्दा राम्रो गर्नुपर्छ तर नराम्रो गर्नुभएन।

तीज नजिकिँदा तीज गीतमा रुचाइएका अधिकांश कलाकार विदेश पुगेका छन्। यसवर्ष यहाँको कार्यक्रम कहाँ छन् ?
तीजको बेला पहिल्यैदेखि कार्यक्रमहरु भइरहेका हुन्छन्। तीजमा कहिल्यै पनि घरमा बस्न मिल्दैनथ्यो। अरुवर्ष त म विदेशका कार्यक्रममा व्यस्त हुन्थे। यो वर्ष भने स्वास्थ्यका कारण विदेश गइनँ। तर, अस्तिदेखि उपत्यकाभित्रका तीजका कार्यक्रममा पुग्न थालिसकेकी छु। धेरै टाढा नभए पनि उपत्यका नजिकका जिल्लाका तीज कार्यक्रममा पुग्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad