कला


बालसाहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान

बालसाहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १४:३१, काठमाडौँ

युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई ‘युवावर्ष मोती पुरस्कार’ प्रदान गरिएको छ।

१५९औं मोती जयन्तीको अवसरमा उनलाई ४० हजार रुपैयाँको थैली र सम्मानपत्रले प्रा.डा. माधवप्रसाद पोखरेलले पुरस्कार दिए।  

१० दिन अघि प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार धादिङका श्रेष्ठलाई वि.सं.२०८१ सालको पुरस्कार प्रदान गर्ने निर्णय  गरेको थियो। बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पुर्‍याएवापत दिइएको हो।

पुरस्कार ग्रहणसँगै पुरस्कृत श्रेष्ठले भावना र विचारमिश्रित कुरा व्यक्त गरे। नेपाली बालबालिका र बालसाहित्य पहिलो प्राथमिकतामा रहनुपर्ने औंल्याउँदै परम्परागत सोचलाई परिमार्जन गर्दै ‘सानालाई आदर, ठूलालाई माया’ हुनेपर्ने धारणा राखे। 

रङ्गमञ्चको बारेमा बोल्दै उनले प्रश्न गरे, ‘रंगमञ्चलाई नाटकको मात्र नभई समग्र साहित्यमा दृश्य साहित्यको रुपमा किन हाम्रा मागजहरुमा स्थापित भएका छैनन्। वर्षेनी सयौं साहित्य प्रकाशन भइराख्दा र देशमा आधा दर्जनभन्दा बढी व्यवसायिक नाटकघरहरुले नियमित नाटक मञ्चन गरिरहँदा यी दुईबीचको धागोमा कहाँ गाँठो परिरहेको छ? साहित्यकर्मी र रंगकर्मीले यस विषयमा आफूलाई यसबारे प्रश्नहरुको क्षेप्यास्त्र प्रहार गर्न सकेको दिन सायद हाम्रो विश्वविद्यालयले नाटकलाई गरिखाने पाठ्यपुस्तकको सिमितताभन्दा फराकिलो सोच्छन् कि?’

पुरस्कृत श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक/चलचित्र लेखन, निर्देशनमा सक्रिय छन्। साथै उनी समकालिन कला–साहित्य क्षेत्रमा प्रतिवद्ध युवा रङ्गकर्मी र चलचित्रकर्मीको रुपमा परिचित छन्।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा वि.सं.२०४२ मा स्थापना भएको हो। ४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिदैँ आएको ‘युवावर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

मोती जयन्ती, कुशे औंसीको अवसरमा आयोजित लेखनाथ साहित्य सदनमा भएको समारोहमा यस वर्ष दिवगंत भएका लेखक, साहित्यकारहरुको समेत सम्झना गरिएको थियो । साथै मोतीराम भट्टले थालनी गरेको समस्यापूर्ति कविता लेखनलाई निरन्तरता दिँदै कवि गोष्ठि समेत गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad