कलाकार प्रमोद अग्रहरि फिल्म ‘रावायण’मा ‘आलम’को भूमिकामा देखिने भएका छन्।
फिल्ममा उनले मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन्। निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्ममा सुदर्शनसँग प्रमोदको ‘चंखे शंखे पंखे’ पछि दोस्रो सहकार्य हो।
सुरुमा काल्का चरित्रका लागि कुरा गरिएको उनले सुनाए।
‘मसँग सुरुमा सम्झौता हुँदा ‘काल्का’ चरित्रका लागि भएको थियो। त्यो चरित्रका लागि सबै लुक्स बनाएँ, तर पछि उहाँहरूबीच के भयो को नि, मलाई काल्काभन्दा आलमको क्यारेक्टर गर्नुपर्यो भन्नुभयो। सुदर्शनजीले ‘त्यो क्यारेक्टर गर्ने कोही पनि क्यारेक्टर मैले भेटिनँ’ भनेपछि मैले त्यसमा सहमति जनाएँ। सुदर्शन मेरो मिल्ने साथी पनि हो। हाम्रो कमै भेट भए पनि एकअर्का प्रति रेस्पेक्ट छ’, उनले भने।
उनले आफू पछि हट्दा राम्रो चरित्र बन्छ भनेर आफू अर्को क्यारेक्टरमा गएको उनको भनाइ छ। भन्छन्,‘मेरो लागि काल्का, आलम अथवा सबै क्यारेक्टर स्क्रिनमा आउँछन् भने पावरफुल नै लाग्छ। निर्देशकले त्यो क्यारेक्टरलाई कसरी पोट्रे गर्छ, त्यो क्यारेक्टरले के बोल्न खोजिरहेको छ, समाजमा त्यसले के भन्न खोजिरहेको छ भन्ने कुरा देखाउन सकियो भने त्यो पावरफुल मान्छु । चाहे उसको दृश्य एउटा मात्र होस् या फिल्मभरि नै।’
प्रमोद हिमाली अथवा पहाडी चरित्रमा आफूलाई दर्शकमाझ देखाउन चाहन्छन् । तर उनकै भनाइमा यस्तो स्क्रिप्ट अहिलेसम्म उनको हातमा परेको छैन।
‘मैले मधेसी क्यारेक्टरमा धेरै भेरिएसनमा काम गरेको छु। एउटा खलपात्रमा यति धेरै भेरिएसनमा कसैले काम गर्यो होला भन्ने मलाई लाग्दैन। जो मान्छे एउटै क्यारेक्टरमा फरक-फरक काम गर्न सक्छ भने त्यो त झन् मेरा लागि चुनौती र रमाइलो कुरा हो’ प्रमोद भन्छन्, ‘उहाँहरूले मलाई जहिल्यै तराईकै क्यारेक्टरमा दिइरहँदा चित्त बुझेको छैन। मलाई पहाड, हिमालको क्यारेक्टर गर्न मन लाग्छ। आफूलाई प्रयोग गर्न मन लाग्छ। तर मेकरले त्यो रिस्क लिन खोज्नुहुन्छ भन्ने मलाई लाग्दैन।’
पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको यो फिल्म शुक्रबार रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया