तपाईँले दक्षिण भारतीय फिल्म पुष्पा–२ हेर्ने विचार गर्नुभएको छ? अथवा टिकट काटिरहनुभएको छ? यदि अनलाइन टिकट लिँदै हुनुहुन्छ भने विचार गर्नुहोला। किनभने, खल्तीलगायत अनलाइन टिकट बिक्री गर्ने वालेट तथा अन्य प्लाटफर्महरूले थ्रीडीको टिकट बिक्रीमा राखेका छन्। तर, हलमा थ्रीडी नभएर टुडीमा मात्र फिल्म प्रदर्शन भइरहेको छ।
थ्रीडीको टिकट बेचेर टुडी मात्र देखाएको भनेर कतिपय दर्शकले ठगी गरेको भनेर समेत सामाजिक सञ्जालमा लेखेका छन्। किन यसो भइरहेको छ त?
हलहरूका अनुसार, आजदेखि प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ थ्रीडीमा रिलिज हुने तयारी थियो। अग्रिम बुकिङ खुलेसँगै थ्रीडी को टिकटसमेत ब्रिक्री गरियो। तर, भारतबाट टुडी फाइल मात्रै आएपछि यो फिल्म थ्रीडीमा रिलिज हुन सकेन। त्यसपछि नेपाली हलले थ्रीडी टिकट काटेका दर्शकलाई टुडीमै देखाउनुपरेको छ।
थ्रीडी रिलिज नहुने भएपछि कतिपय हलले दर्शकसँग थ्रीडीका लागि भनेर उठाएको अतिरिक्त रकम फिर्ता गरिरहेका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले एक सूचना जारी गर्दै यसको लागि माफीसमेत मागेको छ। साथै थ्रीडी रिलिज गर्न नसकेको भन्दै पैसा फिर्ता लिन सिनेमा घरको बक्सअफिस काउन्टरमा आउन उसले भनेको छ।
तर, थ्रीडी रिलिज नहुने भए पनि हलहरूले अनलाइन टिकट काट्ने ठाउँमा थ्रीडीको सो हटाएका छैनन्। जस्तो कि खल्ती एपमा अहिले पनि थ्रीडीकै टिकट राखिएको छ। किन त?
क्यूएफएक्सकी प्रबन्ध निर्देशक तृप्ति गिरी एकचोटि राखेको सोहरू परिवर्तन गर्न नमिल्ने कारण खल्ती लगायतका अनलाइन टिकट बिक्री गर्ने वालेटहरूमा थ्रीडी नै देखाइरहेको बताउँछिन्।
उनी भन्छिन्, ‘अस्ति नै थ्रीडीको सो राखिसकेको भएर अब त्यो सोसहित शुल्क चलाउन मिल्दैन। त्यसैले अहिले पनि अनलाइनमा थ्रीडीकै सो देखिएको हो। थ्रीडीको टिकट काटे पनि हलमा हामी सबैको पैसा फिर्ता गरिरहेका छौँ। जसले दर्शकहरूसहित हामीलाई झन्झट भइरहेको छ।’
आफूहरूले अतिरिक्त शुल्क फिर्ता गरिरहेको जानकारी दिइन्। ‘सुरुमा थ्रीडी आउने कुरा थियो। जसकारण बुकिङ खुलाउँदा नै हामीले थ्रीडीको सो राख्यौँ। तर, हिजो मात्रै भारतबाट थ्रीडी नआउने खबर आयो। त्यसपछि हामीले सूचना निकालेर पैसा फिर्ता गरिरहेका छौँ,’ उनले भनिन्।
क्यूएफएक्सका हलमा बिहानको सोमा थ्रीडीको टिकट ४० रुपैयाँ बढी छ भने पिकटाइमा ८० रुपैयाँको अन्तर रहेको छ।
Shares

प्रतिक्रिया