गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा अभिनय गर्ने कलाकारहरु सार्वजनिक गरिएको छ।
यस फिल्मको मुख्य पात्र बाल गायक अशोक दर्जी देखिनेछन। अशोकसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ। अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केही दिनमा नै फाइनल हुने बुढाथोकी बताए।
टंकले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा शीर्षकमा फिल्म बनाउन लागेका हुन्। फिल्मको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।

छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन्। सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन्। गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। दर्जी हाल काठमाडौँमा कक्षा ८ मा अध्ययनरत छन्।
अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकी को संगीत रहनेछ।
Shares

प्रतिक्रिया