थाहा नगरपालिकाको बज्रबाराहीमा जारी ‘थाहा फिल्म फेस्टिभल’ को दोस्रो संस्करणमा फिल्म समीक्षाबारे अन्तरसंवाद भएको छ। ‘किन चाहिन्छ फिल्म समीक्षा?’शीर्षकमा समीक्षक प्रशन्न माली, प्रभाकर गौतम र श्रीजु सरलबीच अन्तरसंवाद भएको हो।
टेक्स्ट फर्म्याटमा समीक्षा गर्दै आएकी सरल र भिडियोमार्फत् बोलेर फिल्म समीक्षा गर्दै आएका मालीले आ–आफ्ना माध्यममा रहेका चुनौती र अवसरबारे निजी अनुभव साटे। यस्तै, स्वतन्त्र पत्रकार तथा सम्पादकका रुपमा सक्रिय पूर्वकला पत्रकार गौतमले लेखन अनुभवसँगै फिल्म समीक्षाका लागि नेपालमा भइरहेका सार्वजनिक प्रयासबारे आफ्ना धारणा राखे।
स्वतन्त्र रुपमा युट्युबमा फिल्म समीक्षा गर्दै आएका समीक्षक मालीले नेपालमा कोभिडपछिको समयमा इन्फ्लुएन्सल कल्चरले फिल्म समीक्षाको क्षेत्र प्रभावित भइरहेको तर्क गर्दै भने, ‘सेलिब्रिटी तथा सोसिअल मिडिया इन्फ्लुएन्सरको माध्यमबाट फिल्म समीक्षा प्रभावित भइरहेकोले स्वतन्त्र र निर्भिक समीक्षाको खाँचो झन् बढेको छ।’
समीक्षक मालीको मतमा सहमती जनाउँदै अन्य दुई वक्ताहरूले वर्तमान समयमा फिल्म समीक्षामा विश्वसनीयता र इमानदारी कायम राख्न समीक्षकहरू थप सचेत र प्रतिबद्ध हुनुपर्ने साझा मत राखे।
फिल्म समीक्षाको महत्त्व, प्रभावशक्ति, आवश्यकता र अवसरसम्मका विषयलाई छोएको छलफलमा आममानिसले खाने भोजनदेखि लगाउने लुगासम्मको छनोटमा सिनेमाले प्रभाव पार्ने विषयमा चर्चा भयो।
समीक्षक गौतमले भने, ‘सिनेमाले समग्र समाजको मानसिकतालाई आकार दिने सामर्थ्य राख्ने भएकाले सिनेमाको समीक्षा हुनु आवश्यक छ। फिल्म समीक्षा गर्दा पर्दाभित्रका कुरामा मात्र सीमित नभई पपुलर कल्चरका विभिन्न पक्ष र आयामबारे समेत समीक्षकहरुले ध्यान दिनु जरुरी छ।‘
यही विषयमा समीक्षक सरलले फिल्म संविधान हो भने समीक्षा संसद भन्दै अर्को उदाहरण दिइन्, ‘फिल्मले हामीलाई चराको आँखा दिन्छ। जसरी चराले माथिबाट हेर्दा भुइँको व्यापक दृश्य एकसाथ देख्न सक्छ फिल्म हेर्दा हामीले त्यस्तै दृश्य देख्नसक्छौँ। दैनिक जीवनमा आफूले गर्ने गल्ती, लिने निर्णयको असर कहाँ, कसरी परिरहेको छ हामी छुट्याइहाल्न सक्दैनौँ। तर, फिल्मभित्रका हामीजस्तै पात्रहरूलाई हेरेर हामी आत्मसमीक्षा गर्न सक्छौँ र आफूलाई सच्याउन सक्छौँ। फिल्मको महत्त्व हुने भएकैले फिल्म समीक्षाको पनि आवश्यकता हुन्छ।’
चलचित्र समीक्षक समाज नेपाल फिक्सनमा लामो सयम फिल्म प्रदर्शन र समीक्षात्मक छलफल कार्यक्रमको संयोजक रहेको गौतमले समीक्षाका क्षेत्रमा विभिन्न भूमिकामा छरिएर रहेका सबैले सामूहिक हस्तक्षेप गर्न सकेमा मात्रै नेपालमा रिभ्यू कल्चरले सार्थकता पाउने बताए। फिल्मको मात्र नभई समीक्षक र समीक्षाको पनि समीक्षा हुनु पर्ने तर्क गरे।
अनौपचारिक शैलीमा एक अर्कालाई प्रश्न सोध्दै जवाफ दिँदै भएको अन्तरसंवादमा तीन जना वक्ता र तीनै जना सहजकताको भूमिकामा देखिए।
आफ्नै युट्युब च्यानलमार्फत् निरन्तर फिल्म समीक्षा गर्ने प्रशन्न मालीले फिल्मको औपचारिक अध्ययनसमेत गरेका छन् भने उनी फिल्म मेकिङमा पनि संलग्न छन्। अन्तरसंवाद सेसनअघि उनकै फिल्म ‘अन्त वार्ता’ देखाइएको थियो। नेपालखबर डटकम र सेतोपाटी डटकममा काम गरिसकेका प्रभाकर गौतम चलचित्र समीक्षक समाजमा संयोजकको भूमिकामा सक्रिय छन्। उनको सम्पादनमा ‘सिनेमा विशेषाङ्क स्मारिका’ प्रकाशित छ।
नेपालखबरबाट निरन्तर फिल्म समीक्षा लेख्ने श्रीजु सरल युरोपियन युनियनद्वारा आयोजित फिल्म कृटिक्स कम्पिटिशनकी विजेता हुन्। उनी गत डिसेम्बरमा बेल्जियमको ब्रसेल्समा आयोजित नेपाली फिल्म फेस्टिभलमा सहभागिता जनाएकी थिइन्।
गत पुस २८ देखि सुरु भएको फिल्म फेस्टिभल आज मंगलबार समापन हुँदैछ। फेस्टिभलमा शर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शनमा राखिएका थिए। फेस्टिभलको पहिलो दिन ‘नेपाली सिनेमाको विविधता’ विषयमा रंगकर्मी एवं फिल्मकर्मी सुलक्षण भारती र कलाकार नवीन न्यौपानेबीच प्रश्नोत्तर कार्यक्रमसमेत राखिएको थियो।
Shares

प्रतिक्रिया