कला


माघ १७ गतेबाट ‘कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’

माघ १७ गतेबाट ‘कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’

नेपालखबर
माघ ९, २०८१ बुधबार ८:२५, काठमाडौँ

‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौँमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ। महोत्सवमा नेपाल सहित ४७ देशका ९८ वटा चलचित्रहरू देखाइने छन्।

यस पटक ६० देशका ४ सय वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चलचित्रहरू चयन गरिएको छ।

महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्रहरू पनि प्रतिस्पर्धामा समावेश गरिएको महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए।

विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको महोत्सवको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ। 

जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन्।

नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के। खनाल, अभिनेता प्रदिप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन्।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ। चलचित्रको उद्घाटन समारोह काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा राईजिङ मल आयोजना गरिनेछ। 

उद्घाटन पछि सोही चलचित्र हलमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथै चलचित्रका विविध विषयमा छलफल एवम् अन्तरक्रिया गरिनेछ। त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ।

महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार लगायत उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ। विभिन्न फरक फरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रहरूलाई पुरस्कृत गरिनेछ। साथै चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad